ट्रम्पले महामारीबाट प्रभावित भएकाहरुलाई राहत दिने विधेयक सम्बन्धी वार्ता तोडे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीका कारण प्रभावित भएकाहरुलाई थप राहत दिनका लागि तयार पारिएको विधेयकमाथिको वार्ता अन्त्य गरेका छन् ।

आउँदो नोभेम्बरमा हुने चुनावपछि मात्रै राहत प्याकेजको व्यवस्था गरिएको विधेयकमाथि छलफल पुनः थाल्ने ट्रम्पले बताएका छन् ।

उनले ट्वीट गरेका छन्, ‘मैले जिते लगत्तै, हामीले परिश्रमी अमेरिकी लक्षित मुख्य सहायता प्याकेजसहितको विधेयक पारित गर्ने छौँ ।’

अमेरिकी तल्लो सदनकी सभामुख (डेमोक्र्याट) न्यान्सी पेलोसी र वित्त मन्त्री स्टीभन मनुचनबिच बजेट सम्बन्धी वार्ता जारी छ ।

मोक्र्याटहरुले कोरोना भाइरसको महामारीका कारण दैनिक जीविका तथा व्यापार व्यवसायमा गम्भीर प्रभाव भोगका मध्यम वर्गीयहरुलाई लक्षित गरेर सहायता प्याकेज ल्याउन पहल गरिरहेका छन् । तर ट्रम्पले तत्कालका लागि त्यसलाई रोकेका हुन् ।

आउँदो नोभेम्बर ३ मा अमेरिकामा राष्ट्रपति चुनाव हुँदैछ । डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिक सामु ‘ढाड फर्काएको’ बताएका छन् ।

बाइडेनले भनेका छन्, ‘उनले कामकाजी हरेक अमेरिकी जसले गुमेको जागिर पाइसकेका छैन, उनीहरुलाई ढाड फर्काए । भाडा तिर्न नसकिरहेका, खानाको जोहो गर्न नसकेका तथा सन्तानको ख्याल गर्न नसकेका अमेरिकी परिवारलाई उनले ढाड फर्काए ।’

ट्रम्पले सहायता सम्बन्ध वार्ता तत्कालका लागि अन्त्य गरेको घोषणासँगै अमेरिकी शेयर बजारमा गिरावट आएको छ ।

अमेरिकाका विभिन्न राज्यमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । पेन्टागनका शीर्ष सैन्य अधिकारी तथा ह्वाइट हाउसका कर्मचारी एवम् रिपब्लिकन सिनेटरहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भइरहेका बेला ट्रम्पले वार्ता अन्त्य गरेका हुन् । ट्रम्प आफै पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनी अस्पतालबाट ह्वाइट हाउस पुगे पनि उपचार भने जारी छ ।

असोज २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्