पेस्तोल बोक्ने, चित्तल मार्ने र अपहरण गर्ने पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले बुधबार तीनवटा घटना सार्वजनिक गरेको छ।

कार्यालयमै पत्रकार सम्मेलन गरेर एसपी ओमबहादुर रानाले पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका, मारेको चित्तल र दुई महिनादेखि अपहरण काण्डबारे जानकारी दिएका हुन्।

एसपी रानाका अनुसार, नरैनापुर गाउँपालिका वडा नं. ५, सर्वराजपुरुवास्थित हुलाकी सडक खण्डमा शंकास्पद दुई व्यक्तिलाई पिछा गर्दा दुई वटा कटुवा पेस्तोल र ५ राउण्ड गोली बरामद भएको छ।

प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २०, मनिकापुर बस्ने ६२ वर्षका सलिम नाउ र वडा नं. १९, बसुदेवपुर बस्ने ३३ वर्षको इब्राहिम बेहनालाई पेस्तोलसहित पक्राउ गरेको छ।

प्लाष्टिकको बोरामा पेस्तोल राखेर ल्याइरहेका उनीहरुले प्रहरीलाई देखेपछि बोरा फालेका थिए।

शंकास्पद मानेर प्रहरीले बोरा खोल्दा पेस्तोल भेटिएको थियो । गोली भने सलिमले लगाएको स्टकोटको बाया खल्तीबाट बरामद भएको एसपी रानाले बताए।

हतियार काण्डमा मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १३२ बमोजिम ५ वर्षसम्म कैद र ५० हजार जरिवानासम्म हुन सक्ने व्यवस्था रहेको छ।

बाँके प्रहरीले दुई महिनादेखि अपहरणमा परेकी १७ वर्षकी किशोरीको उद्धार गरेको छ । प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ। एकजना भने फरार रहेको जनाएको छ ।

प्रहरीले बर्दिया बढैयातालका मुकेश यादव र हरिराम अहिरलाई नियन्त्रणमा लिएको छ। अगलेश यादव भने फरार रहेका छन् । उनीहरुले किशोरी ललाई फकाई नियन्त्रणमा लिएर भारतको उत्तर प्रदेशको बादलपुरमा बन्धक बनाएर राखेका थिए।

बाँके प्रहरीले जंगली जनावर चित्तल मारेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। राप्तीसोनारीका २३ वर्षीय सामेल रोका र नेपालगञ्जका २८ वर्षीय अन्जन हमाललाई मारेको चितुवासहित प्रहरीले पक्राउ गरेको हो।

असोज २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्