नेकपामा विरोध हुँदाहुँदै खतिवडासहित प्रस्तावित राजदूतको सुनुवाइ अघि बढ्यो

काठमाडौँ – संसदीय सुनुवाइ समितिले सरकारद्वारा सिफारिस तीन राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ।

बुधबार बसेको समितिको बैठकले दश दिनभित्र अमेरिकाका लागि सिफारिस युवराज खतिवडा, बेलायतका लागि सिफारिस लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकासहित १२ देशका लागि राजदूत सिफारिस डा. निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो।

सत्तारुढ नेकपाभित्र राजदूत सिफारिसप्रति विरोध भइरहेका बेला सरकारले सिफारिस समितिमा पठाएसँगै सुनुवाइको प्रक्रिया अघि बढाइएको हो।

पूर्वअर्थमन्त्री समेत रहेका खतिवडा र निवर्तमान मुख्य सचिव रेग्मीको सिफारिसप्रति नेकपाभित्र विरोध भइरहेको छ। मंगलबार बसेको सचिवालय बैठकमा पनि प्रधानन्त्री ओलीले एक पक्षीय रुपमा सिफारिस गरेको भन्दै नेताहरुले आपत्ति जनाएका थिए।

सुनुवाई समितिले अनुमोदन गरेमा उनीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले राजदूतमा नियुक्त गर्ने छिन्।

तर त्यसअघि सम्बन्धित देशले एग्रिमो पठाउनुपर्नेछ। समितिले कात्तिक ३ गतेसम्म उजुरी दिन सकिने र उजुरी कर्ताको नाम गोप्य राखिने जनाएको छ।

असोज २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्