अपाङ्गता भएकाहरु उपेक्षामा

१० कक्षासम्म अध्ययन गर्न सात स्कुल बदलेका दृष्टिविहीन दीपक

सुर्खेत- अपाङ्गता भएकाले पनि अनिवार्य शिक्षा पाउनुपर्ने अधिकार संविधानले ‘ग्यारेन्टी’ गरेको छ। त्यसैका आधारमा समावेशी शिक्षा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिलाई पुर्याउने उद्देश्य सरकारको छ।

तर समावेशी शिक्षा लिन अहिले पनि प्रायः सबै प्रकारका अपाङ्गता भएकाहरुले अपत्यारिलो संघर्ष गरिरहेका छन्। शिक्षकलाई पर्याप्त तालिम दिन र अपाङ्गतांमैत्री विद्यालय निर्माण गर्न सरकारले सकेको छैन।

भौगोलिक विकटता, भौतिक पूर्वाधार र जनचेतनाको दृष्टिकोणमा पछि परेको कर्णाली प्रदेशको राजधानी सुर्खेतमै समावेशी शिक्षाका लागि संघर्षमा होमिएकाहरु थुप्रै भेटिन्छन्।

०००

चौकुने गाउँपालिका १ का २१ वर्षीय दृष्टिविहीन दीपक गौतमले आफ्नै गाउँको श्री राष्ट्रिय प्राथमिक विद्यालमा अरुले पढेको सुनेर पाँचकक्षा पास गरे। त्योभन्दा अघि कैलालीको एक विद्यालयमा उनको अध्ययनको प्रयास बिफल भयो।

त्यसपछि ब्रेल लिपीबाट अध्ययन गर्न उनले घर छोडे। सुर्खेत भेरीगंगा नगरपालिकाको श्री शिखर उच्चमाध्यमिक विद्यालयमा पुगे। ब्रेललिपीबारे जानकारी दिन उनी आफ्नो गाउँ पटकपटक पुगे।

तर उक्त विद्यालयमा छात्राबास बन्द हुँदा कक्षा आठ पास गर्न उनले सकेनन्। आफ्नै खोजीमा अध्ययनका लागि उनी कैलाली, बौनियाको श्री रघुनाथ आर्दश विद्यालय पुगे। त्यहाँ पनि उनलाई अध्ययनका लागि वातावरण बनेन।

चौधरी भाषा बोल्न नजान्दा दीपकलाई अध्ययन गर्न कठिन भयो। नजिकैको श्री भृकुटी माध्यमिक विद्यालयमा फेरि आठ कक्षामै भर्ना भए। तर केही महिनामै उनको त्यस विद्यालयको यात्रा पनि टुंगियो।

अपांगता भएकालाई पढाउन त्यहाँका शिक्षकले झन्झट व्यहोर्न चाहेनन्। दीपकले भने्, ‘शिक्षकले पढाएको मैले बुझ्थें। तर उहाँहरुले सकिन्न भन्नुभयो।’ फेरि आफ्नै गाउँको श्री नेपाल राष्ट्रिय माध्यमिकविद्यालयको सरणमा पुगे उनी। तर त्यहाँ पनि उनलाई पन्छाइयो। अन्ततः फेरि सिम्तातर्फ मोडियो उनको अध्ययन यात्रा।

नयाँ विद्यालयमा अरुलाई पढाउने र आफूले पढ्ने मौका पाए उनले। एसइई पास गरेपछि दिपकको यात्रा फेरि गाउँतर्फ सोझियो।

०००

अब  गाउँकै स्कूलमा ११ र १२ अध्ययन गर्ने सोच बनाएका दीपकले गाउँमा अपाङ्गता भएकालाई हेर्ने सामाजिक दृष्टिकोण मात्रै बद्लेका छैनन्।

‘उनीहरुको अधिकारका लागि पनि निरन्तर आवाज उठाएका छन्। उनले भने, ‘आफूजस्तै अपाङ्गता भएका व्यक्ति अध्ययनबाट बञ्चित नहुन् भन्ने चाहन्छु।’

वास्तवमा उनको गाउँमा अहिले पनि अध्ययनका लागि अपाङ्गता भएका व्यक्तिले कष्टपूर्ण यात्रागर्नुपर्ने बाध्यता छ।

०००

राम्ररी हिड्न नसक्ने २६ वर्षीया जयन्ती बैयकले पनि दीपकको जस्तै संघर्ष रोजिन अध्ययनका लागि। अध्ययनलाई निरन्तरता दिँदा तीन विद्यालय बदल्नुपर्यो उनले। हाल आफ्नो गाउँभन्दा दुई घण्टा पैदलयात्रा गरेपछि आउने विद्यापुरमा बिबिएस चौथो समेष्टरमा अध्ययनरत छन् उनी।

उमेश बिक।

एक्लै भाडामा कोठा लिएर अध्ययन गर्दा थुप्रै चुनौतीको सामना गर्नु परेको छ उनले। उनले भनिन, ‘आफ्नै गाउँमा अध्ययन गर्न पाए सहज हुनेथियो तर सम्भव छैन।’ चौकुनेकै १४ वर्षीय उमेश बिकको एउटा खुट्टा छैन।

काठ जोडेर बनाएको बैसाखी टेकेर करिब आधा घण्टा हिडेँपछि मात्रै उनको विद्यालय आउँछ। उनले भने, ‘विद्यालयजाँदा बाटोमा ठूलो खोला तर्नुपर्छ। वर्षायाममा त्यो यात्रा पनि सम्भव छैन। बाटो पनि उस्तै अफ्ठ्यारो छ। कयौँ पटक लडेँ, सहयोग गर्ने कोही हुन्न।’ दीपकको अध्ययन खर्च उनको अभिभावकले सहजै जुटाए।’

यद्यपी सिम्ताको विद्यालयमा उनलाई छात्रवृत्तिबाट नै छात्रबासमा पढ्ने अवसर मिल्यो। तर उमेशको परिवारको आर्थिक अवस्था कमजोर छ। दीपकलाई जस्तो विद्यालय बदल्ने सुविधा छैन उनलाई।

०००

आफ्ना गाउँका आफूजस्तै अवस्थाका भाइबहिनीको दुःखले दीपकको मन पोल्छ। उनले भने, ‘मैले आफूले भेटेका आफूजस्तै सबैलाई ब्रेल लिपि सिकाउँदै आएको छु।’

व्यक्तिगत भिन्नता वा आवश्यकताका आधारमा हरेक विद्यालयले शिक्षा दिनुपर्ने देखिन्छ। ज्बकि दृष्टिविहीनलाई बे्रललिपि, बहिरालाई सांकेतिक, बौद्धिक अपाङ्गता, मानसिक अपाङ्गता, ‘अटिज्म’, मस्तिष्क पक्षघातजस्ता अपाङ्गता भएकालाई सिकाइका लागि पाठ्याक्रम,पाठ्यापुस्तक र शिक्षण सिकाई लगायतमा उपयुक्त माध्यमको व्यवस्था गर्नुपर्ने सरकारको दायित्व हो।

सुर्खेतलाई २०७२ मा साक्षर जिल्ला घोषणा गरिए पनि हालसम्म यस्ता अपाङ्गता भएकालाई विद्यालय प्रवेशको वातावरण मिलेको छैन।

चौकुने ७, ८ का १८ बर्षीय मिनबहादुर बोगटी, १२ वर्षीय भिषण कँडेल १५ वर्षीय विरेन्द्र चलाउने, ७ वर्षीया करिश्मा बिक, ११ वर्षीय खगेन्द्र धमलाले यो उमेरभइसक्दा पनि विद्यालय टेकेका छैनन् ।

दीपकले भने, ‘विद्यार्थीले आफ्नो नजिकको विद्यालयमा सहजै शिक्षा आर्जन गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्छ।’ यस्तै अपाङ्गता भएका सबै विद्यार्थीले सरकारबाट पाउने छात्रवृत्ति पनि पाउन सकिरहेका छैनन्।

अपाङ्गता भएका व्यक्तिहरुलाई समयमै उचित शिक्षाको पहुँचमा पुर्याउनुपर्छ । तर सरकारले आफ्नो दायित्व बिर्सिए पनि दीपकलगायत यस गाउँपालिकाको कल्याणकारी अपागंता समूहको सक्रियतामा अपाङ्गता बालबालिकाहरुको निम्ति विद्यालयमा छात्राबासको स्थापनाभएको छ।

करिब आठसय अपाङ्गता भएका व्यक्ति भएको यो गाउँपालिकामा अपाङ्गता भएकालाई दिइने परिचयपत्र वितरण समेत ठप्प छ। परिचयपत्र समयमै वितरण हुनुपर्छ भन्ने आवाज उठाइरहेका दीपकलाई अपाङ्गता भएका चौकुनेकै भीमराज सापकोटाको परिवारले साथदिएका छन्।

दिपक, गौतम, उमेश बिक, भीम सापकोटालगायत अपांगता भएका व्यक्तिहरु।

स्थानीय सरकार गठन भएलगत्तै परिचयपत्र वितरणको कार्यक्रम सुरु गर्ने भनिएपनि हालसम्म यस पालिकामा पाँचजनाले मात्र त्यस्तो परिचयपत्र पाएका छन् । दीपकले हाल उपन्यास र कथामार्फत पनि आपांगता भएका व्यक्तिको समस्या बाहिर ल्याउने काम गर्दै आएका छन्।

दीपकले भने, ‘सकेसम्म आफै कामगर्नुपर्छ । अरुको मात्रै आस गर्नुहुन्न।’ उनकैै सक्रियतामा चौकुने अपाङ्गता सचेतना केन्द्रको स्थापना गरिएको हो । केन्द्रका सचिव सापकोटाले दीपकलाई निःशुल्क कोठा दिएका छन्।

सापकोटाले भने, ‘हामीले सानो सहयोग पाएमा आफैले केही राम्रो काम गरेर खान सक्छौँ। अरुको भर पर्न पर्दैन।’ पोलियोका कारण ३५ वर्षसम्म चार हात खुट्टा टेकेर हिड्न बाध्य सापकोटालाई बैसाखीको सहाराले हिँड्नसक्ने बनाउने काम भने इन्टरनेशनल नेपाल फेलोसिप (आई.एन.एफ) सुर्खेतले गर्यो। उनले सोही संस्थाबाट सिलाई–कटाई तालिम पाए।

अन्ततः सिलाई–कटाईकै व्यवसाय रोजेर आफ्नो परिवारलाई मात्रै होइन अपाङ्गता भएका दीपकजस्ता युवालाई सहयोग गर्दै आएका छन् उनले।

आफ्नो सिलाईकटाई पसलमा भीम सापकोटा र उनकी श्रीमती उर्मिला।

स्थानीय सरकार गठन अपाङ्गता सशक्तीकरण केन्द्र सुर्खेतका अध्यक्ष विष्णुप्रसाद भट्टराईले भने, ‘अपाङ्गता भएका व्यक्तिहरुको भिन्नतालाई ध्यान दिँदै शिक्षालाई अगाडि वढाउनुपर्छ। र उनीहरु आत्मसम्मानका साथबाँच्न पाउनुपर्छ।’

असोज २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्