‘विधवा भत्ता लिन अर्को बिहे नभएको प्रमाण पेश गर्नुपर्ने प्रावधानले आत्मसम्मानमा चोट पुग्यो’

नेपालगञ्ज– सामाजिक सुरक्षा भत्ताका लागि एकल महिलालाई अर्को विवाह नभएको प्रमाणित प्रतिलिपि पेश गर्न भनिएकोप्रति द्वन्द्व पीडित तथा एकल महिला सञ्जाल, बाँकेले असन्तुष्टि जनाएको छ।

सञ्जालका संस्थापक अध्यक्ष शोभा विसी, जिल्ला अध्यक्ष जयन्ती खत्रीसहितको टोलीले बिहीबार नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवलशमशेर राणालाई भेटेर सामाजिक सुरक्षा ऐन एकल महिलामैत्री बनाउन आग्रह गरे।

‘पछिल्लो समयमा नेपालगञ्जको वडा नं १ ले सामाजिक सुरक्षा भत्ताअन्तर्गत विधवा भत्ताका लागि आवेदन दिनुभएका र दिनुहुने सम्पूर्ण एकल महिलाहरुले अर्को विवाह नगरेको प्रमाणित प्रतिलिपि पेश गर्न भनेको छ, यसले हामीलाई मर्माहत बनाएको मात्रै छैन, आत्मसम्मानमा चोट पुगेको छ’, सञ्जालकी बाँके अध्यक्ष खत्रीले मेयर राणालाई ज्ञापनपत्र बुझाउँदै भनिन्, ‘उपमहानगरपालिकाले सामाजिक सुरक्षा ऐन एकल महिलामैत्री बनाइदिनु पर्‍यो।’

सामाजिक सुरक्षा भत्ताको सम्बन्धमा पछिल्लो समयमा सामाजिक सुरक्षा ऐन २०७५ संसोधनको प्रकृयामा रहेको छ।

वि.सं. २०५९ सालमा समूहबाट शुरु भएर २०६३ सालमा दर्ता भएको द्वन्द्व पीडित तथा एकल महिला सञ्जाजले एकल महिलाको हक अधिकारका लागि आवाज उठाउँदै आएको छ।

असोज २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्