कोरोना संक्रमणको दुई सातामा मैले जे भोगेँ

कोरोना भाइरसको महामारीले विश्वव्यापी रुपमा ल्याउने असर, परिवर्तन, विश्व व्यवस्थामा आउने नयाँ चक्रबारे समेत आफ्ना धारणाहरु छोटकरीमा राख्दै संक्रमणको शुरुवाती अवस्थामा मैले देशसञ्चारमा केही विचार अभिव्यक्त गरेको थिएँ।
त्यति बेला मैले यो सोचेको थिइन कि म र समग्र परिवार यसको चपेटामा पर्नेछौँ भनेर। नियति त भोग्नै पर्छ। सजगताको कमी नभए पनि कताकताबाट छिरिहाल्ने रहेछ यो भाइरस। मैले आफू र घरमा भएको संक्रमणबारे केही अनुभव र भोगाइ देश सञ्चारसँगको कुराकानीमा यसअघि पनि अभिव्यक्त गरेको थिएँ।
तथापि अहिले आफू स्वस्थ हुँदै गएको अवस्थामा पुग्दा ती बितेका दिनका दु:खपूर्ण अवस्था र त्यसबाट पार पाउन गरिएका प्रयत्न, आफन्त र शुभचिन्तकहरुबाट प्राप्त सहयोग, शुभेच्छा र सद्भावलाई पुन: नमन गर्दै विपतका घडीमा सानो सहयोग र सद्भावको पनि अमूल्य अर्थ र महत्व हुन्छ भन्ने कुरा प्रत्यक्ष अनुभूति भएको जानकारी गराउन चाहन्छु।
घरमा २४ घण्टाको अन्तरालमा सबैलाई कोरोना संक्रमण हुनु, लक्षण बढ्दै जानु, टेस्टमा पोजेटिभ रिजल्ट आएपछि अरु इष्टमित्र, छरछिमेकीको प्रवेश बन्द हुँदा घरभित्रको वातावरण कोलाहलपूर्ण र दुखान्त हुने नै भयो। तर, इष्टमित्र र छरछिमेकले फोनमार्फत सोध्ने, सामान किनेर गेटमा राखिदिने सहयोग चाहिँ अतुलनीय रह्यो। यो रोग पापी हो, किनकि संक्रमित घरमा अरुको प्रवेश समेत निषेध गराउँछ।
कोरोना भाइरसबारे शुरुदेखि नै धेरैथरि बुझाइ, टिप्पणी, चर्चा र विश्लेषणहरु आए। यो महामारी हो र जुन देशबाट यो उत्पत्ति भयो त्यो देशले पूर्ण सजगताका साथ हवाई आवागमन बन्द गरी विश्व जगतलाई राम्ररी बुझाइदिएको भए शायद यति विकराल हुने थिएन र यहाँ चुक भएको छ। आजको धन कमाउने, शक्ति आर्जन गर्ने दुष्ट र वैश्य प्रभुत्वको युगमा जता पनि नाफा, व्यापार र शक्ति आर्जनको होड रहेपछि मावन जातिको विनाश त हुन्छ नै। कोभिडले यही देखाएको छ। कोभिड अस्तित्वको, प्रकृतिको निर्माण हो, प्रकृतिमा भएका अतिक्रमणको होडमा चेतनशील अस्तित्व बोल्दैन, तर सुक्ष्म रुपमा क्रिया गर्छ। अहिले त्यही भइरहेछ।
संसारभरिमा वैज्ञानिक, डाक्टर र विशेषज्ञहरु एकलव्य दृष्टिबाट भएको निदानमा लाग्दा पनि पार पाउन सकेका छैनन्। प्रकृति तथा अस्तित्वसँगको टकराव सजिलो छैन । मानव इतिहासमा ठूल्ठूला आपत, प्रलय, दुर्घटना विगतमा पनि घटेमा छन्, तर मानिसको स्वार्थीपनाले त्यसलाई बिर्सँदै जान्छ र फेरि दुर्घटना निम्त्याउँछ। भनिन्छ – तीन हजार वर्षको मानव इतिहासमा ४ हजार भन्दा बढी युद्ध लडिए र युद्ध नलडिएको अवधिमा युद्धको तयारी भयो। युद्ध देशदेश बीच, मानवमानव मात्र होइन, मानव र प्रकृतिबीच, मानव र समस्त अस्तित्वबीच पनि भैरहेछ, कतै देखिएर, कतै गुप्त र अदृश्य रुपमा ।
हामीले देखेका छौँ, सुनेका छौँ कि अहिलेको कोरोना त्राससँगै समानान्तर रुपमा भारत–चीन, चीन–अमेरिका, चीन–ताइवान आदि बीच युद्धका काला बादल मडारिइरहेका छन्। कोरोनासँग मानवताले संयुक्त रुपमा युद्ध लड्नु पर्ने बेला आ–आफ्ना ताक हरेर शक्ति आर्जन, प्रतिस्पर्धा र सेखी झार्ने प्रयत्नहरु भैरहेका छन्। अहिले शायद मानव सिर्जना गर्ने अस्तित्व, प्रकृति भनौँ वा भगवान–ईश्वर भनौँ उसलाई केही पछुतो पनि भैरहेको हुनु पर्छ- यो मानव के बनाएँ भनेर !
म अब पुनः कोरोना संकटतर्फ फर्किएर केही अनुभव शेयर गर्न चाहन्छु। कोरोना संक्रमण भएका सबै मानिसमा एकै खालको लक्षण नदेखिने रहेछ। समान्यतया: हेर्दा ८५–९० प्रतिशत मानिसमा लक्षणै नदेखिने वा न्यूनतम लक्षण छोटो समयका लागि देखिने गरेको पाइन्छ। बाँकी १० प्रतिशतका हकमा लक्षणहरु मिल्दाजुल्दा, केही फरक र ५ प्रतिशतलाई बढी लक्षण देखा परी उग्र रुपमा सताउने गरेको पाइन्छ।
यो भाइरसलाई मजाकमा र ख्याल ठट्टामा नलिउँ। अहिले कथित विश्लेषक र जान्ने हुँ भन्नेहरुले यो केही होइन, अफवाह हो, मनोविज्ञान बिगारेको हो भन्ने भ्रमपूर्ण कुरा र टिप्पणी गरिरहेका छन्।
मलाई टाउको दुख्ने, जीउ दुख्ने, ज्वरो आउने, खोकी लाग्ने र गन्ध तथा स्वाद हराउने मात्र नभई वाकवाकी लाग्ने लक्षण देखा पर्यो। एउटा विन्दुमा शरीरमा अक्सिजनको मात्रा घट्ने महशुस पनि भयो। मेरो निकै लामो समयको सात्विक जीवन, योग–ध्यान–प्रणायामबारे थाहा पाउने मित्रहरु मलाई निकै च्यापेको देख्दा अचम्ममा परे। प्रश्न पनि गरे। मैले पनि विचार गरेँ, मेरो चेतनालाई संवेदनशील बनाएँ। मेरो बुझाइ के छ भने शाकाहारीमा भन्दा मांसाहारीमा रोग प्रतिरोधात्मक क्षमता बलियो हुने रहेछ।
किनकि प्रोटिन लगायत, मरमसला आदिको प्रयोग तथा उपभोग उनीहरुमा बढी हुन्छ। म सात्विक मान्छे, दुई तीन दिन खान मन नलागी वाकवाकी भएपछि मेरो शरीरको क्षमता घट्ने नै भयो र भाइरसले पेल्यो। तीन चार दिन त जति बल गर्दा पनि सामान्य खाने कुरा पनि खान सकिन, दुई तिन चोटी वान्ता नै भयो, सामान्य सुप पनि खान नसक्ने अवस्था भयो, गन्ध नै मन नपर्ने। एउटा अचम्म र पृथक अनुभव के छ भने मैले निदाएको अवस्थामा, ज्वरो आउँदा र पसिना आउँदा एउटा विचित्रको गन्ध जुन सम्झँदै वान्ता आउन खोज्छ, त्यस्तो महसुस गरेँ चार पाँच दिनसम्म।
ज्वरो छुट्दा राति दुई पटक वृहत पसिना आयो र त्यसलाई मैले एण्टीबडी डेभलप भएको रुपमा मानेको छु। मेरो सात्विक जीवन आध्यात्मिक अभ्यासका लागि हो र कुनै रहर तथा लहडको विषय होइन। त्यसैले मैले हाल सम्म जस्तै परिस्थितिमा पनि त्यसको विकल्पमा वा पुरानो अवस्थामा फर्कने सोच बनाएको छैन।
तर कोरोना संक्रमणमा प्रोटिन, भिटामिन, मिनरल र इम्युन सिस्टम बढाउने चिज ग्रहण गर्न म सल्लाह दिन्छु। म र मेरो परिवारले चैतदेखि नै नियमित रुपमा नै गुर्जो, अदुवा, ज्वानो, बेसार, दालचिनी, मरिच र तुल्सी पत्तीको पानी पकाएर सेवन गर्ने गरेको हो र त्यसले पनि कोरोना संक्रमण रोक्न सकेन।
त्यसैले यो भाइरसलाई मजाकमा र ख्याल ठट्टामा नलिउँ। अहिले कथित विश्लेषक र जान्ने हुँ भन्नेहरुले यो केही होइन, अफवाह हो, मनोविज्ञान बिगारेको हो भन्ने भ्रमपूर्ण कुरा र टिप्पणी गरिरहेका छन्।
विश्वभरका वैज्ञानिक, डाक्टर र विज्ञहरु चिन्तित र किंकर्तव्यबिमूढ भइरहेको अवस्थामा विषय नबुझेका व्यक्तिहरु बर्बराउनु गलत कुरा छ। विश्व नै एकपटक भ्रममा पर्न सक्दैन, विश्वमा सम्पूर्ण वैज्ञानिक र रोग विशेषज्ञ एकै पटक दिग्म्रमित हुँदैनन्। कोरोना महाव्याधि हो र यसलाई कसरी निर्मूल गर्न सकिन्छ, कस्तो जीवनशैली? कस्तो अनुशासन र नियमको पालना भन्ने कुरा विज्ञको रायलाई मान्नुपर्छ, स्वीकार्नु पर्छ कि कुनै तर्कशास्त्रीका विचार र कुरा।