हिंसा र आतंकको थलो बन्दै छ त्रिवि

त्रिभुवन विश्वविद्यालयका मानविकी संकायअन्तर्गत समाजशास्त्र संकायका सहप्राध्यापक प्रेम चलाउने त्यहीँका विद्यार्थीहरुको सांघातिक आक्रमणमा परेका छन् र अहिले उपचारार्थ अस्पतालमा भर्ती छन्। विश्वविद्यालयका विद्यार्थीहरु समस्याको समाधान तर्क, विवाद र छलफलबाट खोज्दैनन् भने त्यसले एउटा गम्भीर समस्याको संकेत गर्छ।

अर्थात विश्वविद्यालयले खालि जाँचमा पास हुने शिक्षा दिन्छ या आचरण, संस्कार र जीवन पद्धति? यो विषय उठाउन अझ बढी जरुरी छ। घाइते शिक्षक स्वयम्‌ले  नेपाल विद्यार्थी संघसँग आवद्ध छात्रहरु यो अपराधमा सामेल भएको आरोप लगाएका छन्। नेपाली कांग्रेस आफूलाई प्रजातन्त्रको बाहक मान्छ भने फरक मतमा कुनै शिक्षकसँग असहमति रहेकै कारण ऊ हिंसात्मक आक्रमणको शिकार बन्नु उसको नियति हुनु हुँदैन भन्ने कुरामा दृढ रहनु आवश्यक छ। त्यस्ता विद्यार्थीहरुको गतिविधिबारे नेपाली कांग्रेस मौन रहन पाउँदैन।

हो, २०६२–६३ को राजनीतिक आन्दोलनमा नेपाली कांग्रेसले बन्दुकलाई राजनीतिक परिवर्तनको माध्यम मान्ने शक्ति र विदेशी हस्तक्षेप समक्ष समर्पण गरेको छ। तर, आफ्ना भावी पुस्तालाई हिंसाको बाहक बनाउन चाहन्छ भने नेपाली कांग्रेसको अस्तित्व आफ्नो अन्तिम घडीमा भएको संकेत हो यो।

हुन त त्रिविमा हिंसाको यो एक्लो या पहिलो बहाना हैन। सत्ताधारी पार्टीसँग आवद्ध एक शिक्षण संस्था सञ्चालक र खेलकुद परिषदमा उच्च ओहोदाधारी एक व्यक्तिले आफ्ना परिवारको एक सदस्यको नम्बर कम आएको भन्दै त्रिविको मानविकी संकायको द्वन्द्व व्यवस्थापन विभागकै सम्बन्धित पदाधिकारीलाई ज्यान मार्ने धम्की दिएको समाचारले सार्वजनिक स्वरुप लिएको छैन। तर, शैक्षिक वातावरण र आतंकलाई फौलाउने काम त्यहाँ भइरहको प्रमाण हो यो।

विश्वविद्यालय शिक्षा, सिकाइ, ज्ञान, बहश र उच्च संस्कार तथा जिम्मेवार नागरिक पैदा गर्ने थलो हो, अपराध र हिंसाका लागि त्यहाँ स्थान हुनु हुँदैन।

असोज २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्