मस्ती-मा पुरका धुर्तराष्ट्रहरु

मस्ती-मा पुर !!

पर्वतको मस्तक, सागरको श्रोत अनि चारै दिशाको सिमा, संस्कारको डोरीले प्रदीप्त छ। वास्तवमै, यो देशको महिमाको कथा श्रोतव्य छ।

पाण्डवका पाँच औंला पुर्वान्चल, मध्यमाञ्चल, पश्चिमान्चल , मध्य- पश्चिमाञ्चल र सुदुर – पश्चिमाञ्चल मिलेर एक मुठ्ठी कस्सिएको  छ। तीन करोड द्रोपदीहरु आफ्नो कर्ममा लगनशील, कर्तव्यनिष्ठ छन्।

हिमाल, श्वेत बस्त्र धारण गरी भिस्म पितामहको प्रतिज्ञा लिएर ठडिएको छ। पहाड, पूर्वदेखि पश्चिम अजय गुरु द्रोणाचार्यको ढालले रोकिएको छ। तराई, कुलगुरु कृपाचार्यको नीतिको रंगभूमिले सजिएको छ। परन्तु , नीतिको रंगभूमिलाइ अ- नीतिको रणभूमिमा परिणत गर्ने प्रयास नहुने वा नभएका भने होइनन्।

भौगोलिक बनोटको कुरा गर्दा, मस्ती-मा पुर पूर्व, पश्चिम र दक्षिण तीन दिशावाट गद्दार देशले घेरिएको छ। गद्दार देशका प्रमुख शकुनी ( नाताले मामा पनि ) कपटको हात- खुट्टा फिजाएर ढुक्कैसँग बसेका छन्। इमान्दारीले असह्य हुदै , एकपटक गद्दार देश फर्किनु पनि भनेकी हुन्। कहिले पश्चिमदेश बाट सिसुपाल ल्याऊछन्, कहिले मद्र देशलाई छलले आफ्नो पक्षमा हिँड्न बाध्य पार्छन्।

उत्तर दिशामा सम्धि देश छ। सम्धि देशका प्रमुख जयद्रत बोलाउँदा भेट्न आउँछन्। कदाचित युद्ध हुने स्थिति आयो भने सम्धि देशलाई पनि पाण्डव बिरुद्ध मोर्चा कस्न लाउने षडयन्त्रको गाइँगुइँ हल्ला छ।बहिनी दुशाला (घरमा बोलाउने नाम भृकुटी ) त बिहे भएर सम्धि देश गएदेखि माइत आएकी छैनन्।

बिक्रम संम्बतको २१ औं शताप्दीको सुरु तिर इमान्दारीले आफ्नो पहिलो सन्तानलाइ जन्म दिइन्। राजनीतिक दल परिवारको लागि पहिलो शुभ संकेत भएपनि भविष्य त अझै गर्वमै थियो। समय बित्दै गयो, प्रजातन्त्र गयो, पंचायत गयो, बहुदल गयो, निरङ्कुश गयो। अहिले संघीय गणतन्त्रको देखासिकी चलिरहेको छ। यो समय आइपुग्दा सम्म इमान्दारीले राजनीतिक दल परिवारलाई सयौँ सन्तान दिइसकिन्। मार्क्सवाद, लेनिनवाद, माओवाद, समाजवाद, राष्ट्रवाद, विकासवाद, राजावाद, नातावाद, कृपावाद, परिवारवाद, दलाल – पुँजिवाद, जातिवाद, क्षेत्रवाद , धर्मवाद आदि।

म सुन्दै छु, सुर्यपुत्र कर्णलाइ मधेश राज्यको लालसा दिएर आफ्नै भाइहरु ( पाण्डव ) बिरुद्ध लडाउने खेलहरु भइरहेका छन् रे। दुर्भाग्य, कर्णलाई पनि अहिले सम्म कसैले तिमी नै पाण्डवहरुको जेष्ठ दाजु हौ भनेको छैन। गुरु द्रोणाचार्यले पहाडमा शिक्षा दिन इन्कार गरेको क्रोधमा उसको विवेक निस्पट्ट छ तर स्वयम् चाहिं निष्कपट छन्।

अधिक कालपछि आज दिन धुम्म छ, कतै वियोगको झरी पर्ने संकेत त हैन ?

सधैजसो म चक्रपथमा डुल्दै थिएँ, द्वारिका अस्पताल आगाडि, बीच सडकमा एकजाना नेत्रहिन व्यक्तिको अशक्तता देखे। सहयोगको भावले नजिकै गएँ।

ग्रिष्म ऋतुमा पनि त्रासले पुरै शरीर काँपिरहेको र निधारबाट ग्लानिको पसिना तपतप झरिरहेको थियो। उनले अनुहारमा सरमको मुखौटो लगाएकाले मान्छे चिन्न गाह्रो पर्‍यो। मैले तलदेखि माथिसम्मै हेरेँ। खुट्टामा अन्यायको खराउ, कम्मरमा मोहको पेटी, गलामा आत्मघाती माला, आँखामा उच्च महत्वकांक्षाको चस्मा, शिरमा अपराधको राजमुकुट अनि सम्पूर्ण शरीर अहंकारको बर्कोले ओढिएको थियो।

यो त कुनै राजा- महाराजा वा राष्ट्र प्रमुखको पहिरन जस्तो छ। म चकित हुँदै नजिक गएँ। हात समाएर सडकपेटीमा लगेँ र सोधेँ, तपाईँ को हो ? अनि कसरी एक्लै यो बीच सडकमा आइपुग्नु भयो?

म मस्ती-मा पुरको राष्ट्रप्रमुख धूर्तराष्ट्र। ‘मधुरो तर आडम्बर मिसिएको बाणी मेरो कानमा ठोक्कियो।’

संजयले अस्पतालको द्वार भनेर बीच सडकमा छोडेर छोरालाई लिन स्कुल गएको छ।

अनि तिमीचाहिँ को हौ बाबु ? तिम्रो स्वरले त पहिला कहिले भेटेजस्तो लागेन। तिम्रो अनविज्ञताले पनि तिमी यो मस्ती-मा पुरको वासी हो जस्तो लाग्दैन।

म वर्तमान हुँ, सम्माननीयज्यू। मेरो पूरा नाम वर्तमान अनि थर समय हो। म विश्वब्यापी वासिन्दा हुँ। मसँग सर्वत्र राहदानी भएकाले प्रवेश-आज्ञाको जरुरत पर्दैन।

पर्चामा लेखेको ओखतीको नाम घाँटी तन्काएर हेरेँ, लेखिएको थियो-  ‘शान्ति, एकता र सद्भाव।’

ए….ए । ‘बुझेजस्तै गरेर टाउको हल्लाउँदै ‘, अनि पिताको नाम के हो? जहान-परिवार?

मेरो पिताको नाम अतीत अनि थर समय हो। पुत्री भविष्य आमाको कोखमै छे।

‘यत्तिकैमा धूर्तराष्ट्र केही खोजेजस्तो गरेर यता- उता हेर्न थाले। अनि एक्लै फलाक्न थाले,’ सञ्जयलाई मैले कति भनिसकेँ, आफू जता गएपनि मेरो कुर्सी चाहिँ मेरो साथैमा छोड्नु भनेर, अटेरी। पाण्डवहरु दाउ हेरेर बसेका हुन्छन्। फेरि कुर्सीमा बस्ने लत लागेपछि उठ्न मनै नलाग्ने।’

नजिकै चिया पसल रहेछ, मैले त्यही गएर एकछिन बस्ने प्रस्ताव गरेँ र डोहोर्‍याउँदै लगेर यथार्थको पिर्कामा बसाए। त्यहाँ बास्ना साथै धूर्तराष्ट्रका आखाँबाट वेदनाका आँसु बर्बरी खस्न थाले। मैले खासै मतलव गरिन। किन मतलब गर्नु ? फेरि मेरा लागि यो नौलो पनि त हैन। यी आँखाले पलपल जनता -जनार्दनले रगतको आँशु झारेको देखेको छु ।

बरु दुई प्याला दूध हालेको अमृत- चिया माग्दै थिए, उताबाट कर्कश अनुरोध आयो, ए! म खान्न अमृत-चिया, मैले भर्खरै दरबारमा कालो बिष पिएको हुँ। बरु जन-साहुजी ७२ करोडको रिचार्ज दिनु न, म सञ्जयलाई छिटो आइज भन्छु अनि सल्लाहकारहरुको राय पनि लिन्छु।’

जन- साहुजीले आफूसँग त्यत्रो रिचार्ज नभएको बरु चाहिएमा चाकरीवाजको पसलमा जान अनुरोध गरे।

धूर्तराष्ट्रले त्यो चाकरीवाजको पसलमा लगिदिन अनुरोध गर्नुपूर्व, बरु एकछिन सञ्जय नआउन्जेल भलाकुसारी गर्छु भनेर नजिकै गए।

अनि कुराकानी सुरु गरे, द्वारिकामा कुन डाक्टरलाई भेट्न आउनु भयो?

अरु को हुनु नि, यो युगकै रक्षक, विशेषज्ञ डाक्टर श्री कृष्ण यादवलाई बल्लबल्ल समय मागेर भेट्न आएको हुँ। यिनलाई भेट्न त अरुले मलाई भेट्न भन्दा गाह्रो रहेछ।

व्यथा के हो नि?

‘बगलीबाट डाक्टरी पर्चा देखाउँदै भने, ‘निस्पक्षताको दृष्टि अलि धमिलो धमिलो थियो, राज-वैद्यले जाँच गरेर उच्च महत्वकांक्षाको चस्मा लगाउन सुझाव दिए। यो चस्मा लाएदेखि झन् म त् सत्ता बाहेक केही नदेख्ने भएको छु। यद्यपि सत्ता मात्र देख्दा मन आनन्दित नै थियो । तर पुन: जाँच गराउदा अधर्मको मोतियाबिन्दु भइसक्यो, छिटै श्री कृष्णलाई देखाउनु भनेर यहाँ पठाउनु भयो।

‘म डाक्टरी पर्चाको पाना पल्टाउदै हेर्न थालेँ। सुरुमा नीति, सिद्दान्त र निपक्षताको ओखती (ट्याब्लेट) बिहान – बेलुका खालि पेटमा  ३ महिना खान भनिएको रहेछ। अनि त्यसपश्चात अज्ञान-अविवेकको जीवाणु मार्ने (एन्टी बायोटिक) चलाएको रहेछ। त्यसले पनि बिसेक नभएपछि सत्यको सुई पनि दिइएको रहेछ। तर आसेपासेले दिने कालो बिष मात्र पिउने बानीले अन्धकार झनै गाढा भएपछि उच्च चिकित्सकीय परामर्श लिन अनिवार्य भयो।’

मैले सोधिहालेँ, यी कुनै ओखतिले काम गरेनन्?

धूर्तराष्ट्र ब्याख्या गर्न थाले, सुरुवात देखिनै सेवन गरेको भए त  काम गर्थे पनि होलान। मैले यो आम समस्या होला भनेर वास्ता गरिन, अब यो फैलिँदै आखाँको कर्क नै हुन्छ कि भन्ने पिर पर्न थालिसक्यो। इमान्दारीले सबै ओखती समयमै सेवन गर्न दिन्थिन्, जथाभावी  छल, इर्ष्या, द्वेष, षडयन्त्र नखानू भन्दै सावधान पनि गरेकै हो। किन्तु मैले ओखती खाएँ भनेर ढाँटेर सबै सञ्जयलाई खान दिएको परिणाम भोग्दै छु।

‘त्यसो भन्दै गर्दा उनको आखाँबाट पश्चातापको आँशु बगेका रहेछन्। निर्दयी हातहरुले पुछे र प्रतिगमनको पथमा सञ्जय आउँदै छ कि, फर्केर पुलुक्क हेरे।’

अहिले पछुतो मानेर के गर्नु? दृष्टि हुँदा त नव- उदारवादको चौसर खेल? द्रौपदी बस्त्र हरण? यी सबै हुँदा त तपाई मुकदर्शक भएर बस्नु भएको हैन ? तपाइलाई रोक्ने अधिकार थियो तर इच्छाशक्ति थिएन।

अलि रक्षात्मक हुदै धूर्तराष्ट्रले भने, ‘नव- उदारवादको चौसर त मनोरञ्जनको लागि परिवारमा खेलिएको थियो। खेल्न संकोच थियो त निमन्त्रण अस्वीकार गरेको हुन्थ्यो। शकुनिलाई पासा फ्याँक्न पनि त उनीहरुले नै अनुमति दिएका हुन्। सबैलाई जानकारी नै भएको हो कि शकुनीको एउटा पासा राष्ट्रिय सुरक्षा र अर्को पासा परराष्ट्र मामिला नियन्त्रण गर्ने हो। उनीहरु हैनन्, जानाजान आक्रामक खेल खेल्दै राज्य, सम्पति, भाइहरु अनि धर्मपत्नीलाई समेत दाउ राख्ने? फलस्वरूप ३ करोड द्रौपदीहरु नागरिकताको बस्त्र उतारेर, हरियो राहदानीको शरण परेका हैनन् ? मलाई आरोप लगाउने?

जिज्ञासु सवालकारको भावमा सोधेँ, त्यत्रो सबै भए पश्चात पनि दोश्रो चोटी फेरी चौसर खेल्ने अनुमति किन दिनु भयो त?

आँखा ठूला पार्दै, हैन तिमीले कस्तो कुरा नबुझेको भन्या? त्यो प्रस्राव ठिकै थियो नि। जसले हार्छ त्यो टोली बनवास अनि अज्ञातबास जानुपर्छ भन्ने शर्तमा खेलिएको थियो। मैले दोश्रो चोटी खेल्न नदिएको भए, मेरो सत्ता त्यहीबेला खुस्किहाल्थ्यो नि। झन् मैले ठूलो दुर्घटना हुनबाट मस्ती-मा पुरलाई जोगाउन भूमिका निर्वाह गरेँ।

अनि बार्नावत दरबारको लाक्षा गृहमा हत्याकाण्डको गुप्त योजना बुन्दा पनि टुलुटुलु हेरेर बस्नु भयो, हैन?

‘उनी झनक्क झन्किँदै आफू त्यो षडयन्त्रको भागिदार नभएको स्पष्टोक्ति दिन तयार भए।’

मलाई त्यो गुप्त योजनाको सुइँको नै दिएनन्। सबै गद्दार देशका प्रमुख शकुनी र उनका पश्चिमा समूह मिलेर , मेरो दल-पुत्रलाइ पनि सत्ताको लोभ देखाएर रचेका हुन्।

सम्माननीय ज्यु , बनवासको समयमा अझ मिथ्याचार बढ्यो , एक-आपसमा द्वन्दको स्थिति सिर्जना भयो। राज्यको ढुकुटी तपाइको दल -पुत्रले अर्थराजको हैसियतमा दुरुपयोग गरे। देशभर अराजकताको आगो बल्यो , १७००० सिपाहीले वीरगति प्राप्त गर्दा, सामाजिक मूल्य – मान्यता गङ्गामा बगेर गयो। अझै पनि सत्तामा बस्ने नैतिकता जिवितै छ ? मैले प्रश्न गरे।

सत्तामा बस्ने मेरो अधिकार हो। कुनै पनि दृष्टिले म अयोग्य हैन। मेरो देखावटी त्याग , कुटिल संघर्ष अनि अहा-ज्ञान नै यसको प्रमाण हो। कुरा गर्न जस्तो सजिलो हुदैन बाबु राजपाठ चलाउन। समय निक्कै भयो , बरु संजयलाई एक कल गरिदेउन। अहिले सम्म आएन।

‘यत्तिकैमा द्वारिका अस्पतालको बाटो हुदै एकजाना घमन्डले दुब्लो – पातलो तर ज्ञानले मोटाएको मान्छे हामी भएतिरै आउदै थिए। उनको हातमा डाक्टर श्री कृष्ण यादवले लेखिदिएको चिकित्सकीय पर्चा( प्रेसक्रिप्सन ) थियो। महात्मा विदुर पो हुनुहुदो रहेछ। श्री कृष्णलाई दाजु धूर्तराष्ट्रले कुरा लुकाउछन् भनेर आफै दाजुको तर्फबाट परामर्श लिएर आएका रहेछन् । ‘

पर्चामा लेखेको ओखतीको नाम घाँटी तन्काएर हेरे, लेखिएको थियो ” शान्ति, एकता र सद्भाव “।

 

असोज २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्