अब उनीहरुले कहिल्यै भन्न पाउने छैनन्, ‘बुवा ‘मर्निङ वाक’ नजानु है!’

असोज २४ गते,

बिहानको खाना खाइसकेपछि ल्यापटप खोलेँ। अन हुनेबित्तिकै क्रोममा देशसञ्चार खोल्नु दैनिकी थियो। पेज खुलेपछि के के समाचार आएछन् भनेर पेज सरसर हेर्ने मेरो आँखा देशसञ्चारको मेन न्यूजको शीर्षकमा नै अड्कियो। हेडलाइन पढ्नासाथ मनमा चिसो पस्यो, ‘समयमै भेन्टिलेटर नपाएपछि ललितपुरका कोरोना संक्रमितको मृत्यु।’

समाचार लोड हुँदै गर्दा प्रार्थना गरेँ- ‘यी त्यही मान्छे नहुन्, जसको लागि भेन्टिलेटर खोज्न अघिल्लो दिन बिहानदेखि दिउँसोसम्म फोन गरिरहेको थिएँ।’ तर प्रार्थना गरेजस्तो भएन।

हुन त भेन्टिलेटर नपाएर जो बितेपनि त्यो नराम्रो खबर हो, तर ती व्यक्तिको व्यक्तिगत केही विवरण र अस्पताल आउनु अगाडिको उनको दैनिकी मलाई थाहा थियो। अस्पतालमा जीवनसँगको लडाइँ अनि परिवारको रुवाइ, हारगुहारसँग थोरै जोडिन पुगेकाले पनि मन अमिलो बनाएको हो।

५० वर्षका उनी मधुमेह, अल्सर तथा पायल्सको बिरामी थिए। शहरको बाक्लो बस्तीमा उनको घर थियो। कोरोना संक्रमणको जोखिमका कारणले सरकारले लक डाउन गरिराखेको थियो तर उनले बिहान नै हिँडने आफ्नाे बानी छाेडेनन्। शहरी जीवनमा फेसन जस्तै छ मर्निङ वाक, तर मधुमेह र पायल्सको समस्या भएकाले हिँड्नु उनको लागि अनिवार्य थियो। तर उनी वाकमा पनि साथीहरुसँग हिँडे। उनको परिवारमा कोरोनाको त्रास  थियो,  तर त्याे कर्ममा देखिएन चाहिए जित । कहिले काँही जवान दुई मध्ये एक छोरा पनि भन्ने गर्थे, ‘यो त विश्वको अर्थतन्त्रलाई प्रभाव पार्नको लागि चालिएको चाल हो रे नि!’

‘रे’ को भरमा शिक्षित छोराले कोरोनालाई उडाइदिए। उनलाई पनि लाग्यो होला, ‘प्रधानमन्त्रीले त ह्याँछ्यु गरेर उडाइदिने भनेका छन्।’

तर एकदिन उनलाई एकाएक ज्वरो आयो, सिटामोल खाए। टाउको दुख्यो, पेन किलर खाए। बिस्तारै सास फेर्न गारो भयो अनि उनलाई मेघा अस्पताल लगियो। अस्पतालमा पुर्‍याएपछि उनलाई झन् च्याप्यो। चिकित्सकले भने, ‘भेन्टिलेटरमा राख्नुपर्छ, यहाँ खालि छैन, खोज्नुस्।’

अनि सुरु भयो अस्पतालमा भेन्टिलेटर खोज्ने काम। श्रीमतीले रुँदै फोन गरेर चिन्नेजतिलाई गुहार्न थालिन्, म पनि कता कताबाट यो प्रक्रियामा जोडिएँ। पाटन अस्पतालमा कुरा गर्दा भेन्टिलेसनमा राख्ने लाइन भएको जानकारी पाए। अस्पतालले इमर्जेन्सीले ‘स्पेशल केयर’ मा राख्न सकिने जानकारी दियो। बिरामीको अवस्था नाजुक थियो। उनकी श्रीमती रोएर ‘जति पैसा पनि तिर्न तयार छु’ भन्दै थिइन्।

मैले केही अस्पतालमा आफै बुझेँ, केही चिनजानकासँग सहयोग मागेँ। सबैको एउटै जवाफ आउँथ्यो, ‘सबै आइसीयु, भेन्टिलेशन खालि छैन, खालि भए खबर गर्छौ।’ केहीबाट आश्वासन पाए पनि साँझसम्म हामीले बेड पाएनौँ।

स्वास्थ्य मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेशन सेन्टरको तथ्यांकअनुसार उपत्यकाका सरकारी र निजी अस्पतालहरुमा १९३ आइसीयू र ८२ ओटा भेन्टिलेटर छन्। तर हामीले खोज्दा बेड पाएनौँ। ‘खै के गर्ने’ भनेर अलमलमा नै दिन बित्यो।

भोलिपल्ट साँझ अबेर अल्का अस्पतालमा भेन्टिलेटर खाली भएछ। उनीहरुले ढिला नगरी अस्पताल पुर्‍याए। भर्ना भएपछि कोरोना बिरामीको उपचारमा चाहिने प्लाज्मा थेरापी तत्काललाई सम्भव नभएपछि रेमडेसिभिरले उपचार गर्ने निश्कर्ष निस्कियो। दुईमध्ये एक छोराले भनसुन गरी, बुझिने भाषामा भन्दा ‘पावर लगाएर’ ७ डोज रेमडेसिभिर ल्याए। दुई मात्रा राति चढाइयो । चिकित्सकले बाँकी भोलिपल्ट चढाउने जानकारी दिएका थिए।

यो परिवारले भोलिपल्ट सूर्यको किरणसँग शुभ समयको आशा गरेका थिए र उनीहरुको आश चुँडियो। बिहानै बिरामीको निधन भयो।

यो परिवारले भोलिपल्ट सूर्यको किरणसँग शुभ समयको आशा गरेका थिए र उनीहरुको आश चुँडियो। बिहानै बिरामीको निधन भयो।

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ सय नाघिसकेको छ। यो संख्यामा ज्यान गुमाउने धेरै दीर्घरोगीहरु रहेका छन्। स्वास्थ्य मन्त्रालयले बारम्बार दीर्घरोगी, सुत्केरीहरु कोरोनाको जोखिममा रहेको बताइरहेका थिए, र छन्। स्वास्थ्य सेवा विभागको एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली अनुसार ११ लाख ५३ हजार दुई सय ५३ दीर्घरोगी छन् । उच्च रक्तचापका ५ लाख ७ हजार ५१२, मुटुका २ लाख ६१ हजार ७८४, मधुमेह १ लाख ८२ हजार ३ सय ३६, मिर्गौला रोग १७ हजार ९ सय ३२, श्वासप्रश्वास १ लाख ७० हजार ८ सय ७० र क्यान्सरका १२ हजार ८१९ जना रहेका छन् । विश्व स्वासथ्य संगठनका अनुसार यी उच्च जोखिममा रहेका समुह हुन्। उनलाई पायल्सको समस्या थियो, पायल्स रोग लागेर लामो समय बाँच्ने कति छन्। खुलेर कुरा गर्ने साथीहरुको जमातमा थाहा हुन्छ ५ मध्ये २ जनालाई पायल्सको समस्या छ।

तर पनि चाहिने जति सतर्कता नअपनाउँदा र समयमै आवश्यक उपचार सेवा नपाउँदा मृत्युको मुखमा पुगेको यो घटनाले प्रस्ट पार्‍यो।

अस्पतालको बेडमा लम्पसार पर्दा, सास फेर्न गारो हुँदा, अनि उनको उपचारका लागि अस्पतालको बेड खोज्दा नपाएको थाहा पाउँदा, ‘मै अलि सावधानी अपनाएकाे भए’ भन्ने आयो कि आएन होला? नङ र मासु जसरी बसेको परिवार भन्दा पर रही जीवसँग संघर्ष गरिरहँदा  उनलाई ‘म छु नि, केही हुन्न’ भनी ढाडस दिन उनकी श्रीमती पनि नजिक जान पाइनन्। मायाले हुर्काएका छोराले छुन पनि पाएनन् र सात जन्म सँगै बाँच्ने कसम खाएर आएकी श्रीमतीले टाढैबाट आँशु बगाउन बाहेक केही गर्न सकिनन्। उनी एक्लै जीवनसँग संघर्ष गरे, जित्न सकेनन् र गए।

जाने त गए, उनको सकस, रहर, इच्छा अब कसैले बोकेर तार्न सक्दैन। फर्केर त्यो दिनमा गई गल्ती सुधार्न सकिँदैन।

ती छोरा जसले कोरोना भनेको विकसित देशले रचेको योजनपूर्ण खेल भने, अब उनीहरु बाबु फर्काउन सक्दैनन् ।

अहिले उनीहरुसँग आमालाई सम्झाउने शब्द छैन, केही दिन अगाडिसँग एकै थलोमा खाना खाएका बुवाको अन्तिमपल्ट मुख हेर्न पाएनन्, बिदाइमा छुन पनि पाएनन्। रित्तो हात लिएर घर फर्केका उनीहरुले अब बिहानीमा मन लागे पनि भन्न पाउनेछैनन्, ‘बुवा ‘मर्निङ वाक’ नजानू है!’

असोज २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्