नेकपामा अर्को भूइँचालो

कर्णालीको नेतृत्व परिवर्तन भए परिणाम व्यापक हुने प्रचण्डको चेतावनी, ओली आफ्नै बचाउमा

केपी शर्मा ओली र पुष्पकमल दाहाल। फाइल तस्बिर।

काठमाडौँ – कर्णाली प्रदेशमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आएको राजनीतिक भूइँचालोको जस्तै ठूलो कम्पन पार्टीको केन्द्रीय तहमा पनि देखा परेको छ।

मुख्यमन्त्री समेत रहेका, पूर्वमाओवादी पृष्ठभूमिका नेकपा कर्णाली संसदीय दलका नेता महेन्द्रबहादुर शाहीबिरुद्ध आफ्नै पूर्वघटकका तीनजना सांसदसहित नेकपाका १८ जना सांसदले आइतबार संसदीय दलमा अविश्वासका प्रस्ताव दर्ता गराएका थिए।

त्यसको भोलिपल्ट सोमबार नेकपा कर्णालीमा देखा परेको राजनीतिक समस्या तत्कालै समाधान नगरे यसको परिणाम व्यापक हुन सक्ने चेतावनी पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसमेत रहेका दलका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन्।

पार्टीको उच्च स्रोतका अनुसार दाहालले नेकपा कर्णालीभित्र उत्पन्न राजनीतिक समस्या तत्काल समाधानका लागि हस्तक्षप गर्न ओलीलाई आग्रह गरेका छन्।

सोमबार बिहान बालुवाटारमा ओलीलाई भेट्न पुगेका दाहालले उनलाई इंगित गर्दै ‘यस्तो गडबड होला भन्ने लागेको थिएन। तपाईँका कारण नै गडबड भएको हो र सच्याउने जिम्मेवारी पनि तपाईँकै हौ।’ भन्दै ओलीसमक्ष आफ्नो डर र आक्रोश दुबै पोखेको स्रोतको भनाई छ।

जवाफमा प्रधानमन्त्री ओली नेकपा कर्णालीमा विकसित घटनामा आफ्नो कुनै हात नरहेको प्रतिक्रिया दिएर तत्काल आफ्नो बचाउमा उत्रिएका थिए। स्रोतका अनुसार ओलीले दाहाललाई भनेका थिए,‘यो प्रकरणमा मेरो कुनै हात छैन। प्रदेशकै नेताहरुलाई हस्तक्षप गरेको छैन।’

मुख्यमन्त्री शाहीविरुद्ध परेको अविश्वासको पत्रमाथि छलफल गर्न नेकपा कर्णालीले मगंलबार २ बजे संसदीय दलको बैठक बोलाएको छ। दाहालले ओलीलाई पूर्वसहमित उल्लंघन गरेर आफूलाई कमजोर बनाउन खोजेको आरोपसमेत लगाएका थिए।

पूर्वएमाले र माओवादीबीच एकताका बेला भागबण्डा गर्दा मुलुकका सात प्रदेशमध्ये कर्णाली र सुदूरपश्चिम गरी दुईवटा प्रदेश सरकारको नेतृत्व पूर्वमाओवादीको भागमा पारिएको थियो।

त्यसैका आधारमा २०७४ साल फागुन चार गते पूर्वमाओवादीका जनकमाण्डरसमेत रहेका शाहीले मुख्यमन्त्रीको शपथ खाएका थिए। त्यसको दुईदिनपछि कर्णाली प्रदेशमा शाहीको नेतृत्वमा सात सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो।

तर पार्टीको भागबण्डाका कारण मुख्यमन्त्रीबाट वञ्चित भएपछि पूर्वएमालेमा पोलिटब्यूरो सदस्य, कर्णाली प्रदेशका सहइन्चार्ज र प्रधानमन्त्री ओली निकट यामलाल कँडेलको समूहले शाही नेतृत्वको सरकारको कामकारवाहीलाई लिएर निरन्तर प्रश्न उठाउँदै आएको थियो।

खासगरी मुख्यमन्त्री शाहीको नेतृत्वको सरकारले प्रभावकारी बजेट ल्याउन नसकेको, सबैभन्दा पिछडिएको कर्णाली प्रदेशमा विकास निर्माणका काम अघि बढाउन नसकेको, सरकारविरुद्ध अख्तियार अनुसन्धान आयोगमा सयौँ भ्रष्टाचारका मुद्दा परेको भन्दै शाही संसदीय दलको नेताबाट हट्नु पर्ने एक मात्र बिकल्प रहेकाले उनीविरुद्ध अविश्वासको पत्र दर्ता गराएको नेताहरुले बताएका छन्।

दाहालले भने मुख्यमन्त्री शाहीले मुलुकमा उत्पन्न असहज परिस्थितकाबीचमा पनि कर्णाली प्रदेश सरकारले प्रभावकारी काम गरिरहेको तर पूर्वमाओवादी समूहलाई हतोत्साहित पार्नका लागि यो सबै रणनीति अपनाइएको भन्दै ओलीसमक्ष आफ्नो आक्रोश पोखेका छन्।

यता नेकपा कर्णाली संसदीय दलका प्रमुख सचेतकसमेत रहेका र ओली निकट गुलाब जंग शाहले आफ्ना साथीहरुले संविधानले दिएको अधिकार स्वतन्त्रपूर्वक प्रयोग गरेको र आगामी दिनमा केन्द्रको हस्तक्षपबिना निर्णायक प्रक्रियामा जाने बताए।

उनले भने,‘हामी दलमा आवद्द भएका नेताहरु हौँला तर यहाँ दलको भन्दा पनि संविधानले दिएको अधिकार हाम्रा साथीहरुले स्वतन्त्रपूर्वक प्रयोग गर्नु भएको हो।

मुख्यमन्त्री शाही अब संसदीय दलका नेताको हैसितमा रहेमा सरकारसँगै पार्टीले पूर्णरुपमा जनमत गुमाउने निष्कर्षसहित साथीहरुले अविश्वासको प्रस्ताव ल्याएका हुन्।’

असोज २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्