नेकपा कर्णालीको विवाद उत्कर्षमा

अविश्वासको प्रस्ताव फिर्ता लिन प्रचण्डद्वारा पूर्वमाओवादी तीन सांसदलाई आग्रह, प्रमुख सचेतक निलम्बित

फाइल तस्बिर।

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीबिरुद्ध पूर्वएमालेका १५ जना सांसदसँग मिलेर संसदीय दलमा दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिन पूर्वमाओवादी पृष्ठभूमिका तीन जना सांसदहरुलाई आग्रह गरेका छन्।

दाहालले सोमबार बिहान आफ्नो निवास खुमलटारमा बोलाएको पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुको ‘गोप्य’ भेलापछि दैलेखका सांसद धर्मराज रेग्मी, सुर्खेतका ठम्मबहादुर विष्ट र पुष्पाघर्ति विष्टलाई मुख्यमन्त्री शाहीबिरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरेका हुन्।

आफ्नो नेतृत्वमा गृहमन्त्री रामबहादुर थापा बादल, पार्टी प्रवक्ता नारायणकाजी नारायणकाजी श्रेष्ठ, नेता जनार्दशन शर्मा, ऊर्जामन्त्री वर्षमान पुनलगायत सामेल ‘गोप्य भेला’ सम्पन्न भएलगत्तै दाहालले उत्पन्न संकट निवारणका लागि जसरी पनि मुख्यमन्त्री शाही बिरुद्धको अविश्वास फिर्ता लिन ती सासंदहरुलाई आग्रह गरेको पार्टी स्रोतले बतायो।

स्रोतले देशसञ्चारसँग भन्यो, ‘सोमबार बिहान खुमलटारमा भएको भेलाको निष्कर्ष अनुसार अध्यक्ष दाहालले पूर्वएमालेका नेताहरुसँग मिलेर दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको छ। त्यसको विकल्प पनि छैन।’

‘गोप्य भेला’ लगत्तै दाहाल अर्का पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार हानिएका थिए। स्रोतका अनुसार दाहालले ओलीलाई भेट्नासाथ ‘तपाईका कारण कर्णाली प्रदेशमा गडबड भएको र समस्या समाधानका लागि तत्काल हस्तक्षप गर्न’ आग्रह गरेका थिए। तत्काल समस्या समाधान नभए परिणाम व्यापक हुने चेतावनीसमेत दाहालले ओलीलाई दिएका थिए। तर ओलीले भने आफ्ना कारणले समस्या उत्पन्न नभएको भन्दै आफ्नो बचाउ गरेका थिए। कर्णाली प्रदेशसभामा रहेका ३३ जना नेकपाका सांसदमध्ये राजबहादुर शाही सभामुख र गुलावजंग शाह ससंदीय दलको प्रमुख सचेतक छन्।

उनीहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न मिल्दैन। पूर्वमाओवादी पृष्ठभूमिका तीन सांसदहरुले अविश्वासको प्रस्ताव फिर्ता लिएमा मुख्यमन्त्री शाहीको बहुमत यथावत रहने छ। अर्थात उनीबिरुद्धको अविश्वासको प्रस्ताव बहुमतले ‘फेल’ हुनेछ।

यता मुख्यमन्त्री शाहीबिरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न संसदीय दलका प्रमुख सचेतक शाहले मगंलबारका लागि संसदीय दलको बैठक बोलाएका छन्।

तर त्यसअघि नै पूर्वमाओवादी पृष्ठभूमिका सांसदहरुलाई अविश्वासको प्रस्ताव फिर्ता गर्न लगाउने कसरतमा प्रचण्ड र उनको समूह जुटिसकेको छ।

यता अविश्वासको प्रस्ताव दर्ता गराउने सांसदहरुले पार्टीको केन्द्रीय तहको निर्देशन या हस्तक्षप भन्दा पनि संवैधानिक अधिकार आफूहरुले प्रयोग गरेको र सरकारको नेतृत्वमा रहेर काम गर्न नसकेका कारण मुख्यमन्त्री शाहीको विकल्प खोजेको बताएका छन्।

खुमलटारमा बिहान पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुले ‘गोप्य भेला’ गर्नुअघि पार्टीका वरिष्ठ नेता माधव नेपालसमूहका सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायत नेताहरुसँग पनि दाहालले छलफल गरेका थिए।

त्यसक्रममा केन्द्रका नेताहरुको इशारामा प्रदेशका नेताहरु पनि चलेको भन्दै प्रचण्डले आक्रोश पोखेको र कर्णालीमा मुख्यमन्त्रीबाट शाहीलाई हटाइए आफूहरुको तिर बाग्मती र प्रदेश एकतर्फ सोजिन सक्ने चेतावनी दिएका थिए।

यसैबीच मुख्यमन्त्री शाही संसदीय दलका प्रमुख सचेतक शाहलाई निलम्बन गरेका छन् । उनको ठाउँमा सीता नेपालीलाई नियुक्त गरेको बुझिएको छ।

असोज २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्