खेतका गह्रा सम्याउने क्रममा विवाद हुँदा दुईजना घाइते

बझाङ – बझाङको बित्थडचिर गाउँपालिका– ६, भाडिकामा खेतका गह्रा सम्याउने क्रममा स्थानीयवासीबीच भएकाे विवादले झडपकाे रुप लिँदा दुईजना गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा बित्थडचिर –६ का चन्द्रसिंह स्याँडा र लालु स्याँडा छन्।
उनीहरु दुवैलाई सोमबार अपराह्न स्थानीयवासी राम नाथले खेत निर्माणका क्रममा आफ्नो जमिनमा माटो फालेको भनी हँसिया प्रहार गरी गम्भीर घाइते बनाएका हुन्।
हँसियाले लालुको टाउको र हात तथा चन्द्रसिंहको गर्धन र पिँठ्युमा गम्भीर चोट लागेको छ।
घाइते दुवैलाई उपचार हुन गराउन नसकेपछि देउलेख प्राथमिक स्वास्थ्य केन्द्रले धनगढी रेफर गरेको छ।
अभियुक्त नाथलाई प्रहरीले भाग्ने क्रममा बझाङको धरानबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चैनपुर ल्याएको छ।