नेकपा बिघटन किन नगर्ने?

सन १९२१ आसपास चेन दुहिऊ र ली दह्याजो नामक नेताको अगुवाइमा गठन भएको ‘कम्युनिष्ट पार्टी अफ चाइना’ अझै त्यहाँको सर्वशक्तिमान एवं एक्लो पार्टी छ । १९३० तिर स्थापना भएको ‘कम्युनिष्ट पार्टी अफ भियत्नाम’ पनि हालसम्म एकाकार रुपमा छ । उत्तर कोरिया आज महाशक्ति अमेरिकालाई चुनौति दिने सार्मथ्य राख्छ । तर यहाँ भने माओवादी केन्द्र र नेकपा एमालेबाट लगभग २ वर्ष पहिले एकीकृत भएको सत्तासिन नेकपा वारम्वार विभाजनको संघारमा देखिन्छ । केही दिन एकतावद्ध भएको सन्देश दिन सफल हुन्छ तर व्यथा फेरि बिउँझन्छ ।

अर्कोतिर इतिहासमै सबै भन्दा सहज अवसर पाएको यो दलको वर्तमान सरकारमाथि नागरिक निराशा भने उत्कर्षमा छ । ककपिटमा दुई जना वयोवृद्ध पाइलटको अनवरत झगडाबीच सोही बिमानमै रहेका अनगिन्ती जवान तर लाचार र लम्पट सहचालकहरूको सघन हस्तक्षेपको अभावका कारण नेकपाको जाहाज पटक पटक जोखिममा फस्ने गर्छ । बेलाबखत विभिन्न ट्रान्जिटका समयमा स्वयम पाइलटहरू नै जहाज अवतरण अगावै कुनै गम्भीर दुर्घटना हुनसक्ने भनिरहेका हुन्छन् । हुन त अप्रत्याशित र हतारिएको एकीकरणदेखि नै यस्तो आँकलन गर्ने शंकाको सुविधाको उच्च प्रयोग भएकै थियो । कृतिम एकता धेरै नटिक्ने भनेर विचार व्यक्त हुने गर्थे, बेलाबखत त्यस्तै ब्यवहार चरितार्थ बन्न खोजे जस्तो देखिन्छ तर कसोकसो मिल्दै गए जसो पनि देखिन्छ ।

बारम्बार पुनरावृत हुने नेकपाको कचहरीमा यसै पार्टीका नेता कार्यकर्तालाई त जीवन मरणकै सवाल होला । लगानी र प्रतिफलको वारदात बन्ला । षडयन्त्र र सफलताका वासलातका रुपमा रहला । तर यसका शुभेच्छकहरू अथवा यो पंक्तिकार जस्तो राजनीतिको जानकार मात्रलाई समेत केही मर्माहत चाहिँ बनाउँछ । किनकी नेकपाको आन्तरिक लफडाले सरकारका काम कारवाही र प्रभावकारितालाई असर पार्छ । अफसोस, सरकारको प्रभावकारिता देख्न चाहिँ असामान्य क्षमताको सुक्ष्मदर्शक यन्त्र प्रयोग गर्नुपर्ने अवस्था छ । यद्यपि दलहरू निरन्तर फुट्नु तथा आन्तरिक लफडाबाजीको दलदलमा सदैब अल्मलिनु सवल प्रजातन्त्रका लागि निश्चय नै शुभ समाचार हैन । तसर्थ यो पार्टी फुट्नु चाहिँ गलत नै हुन्छ तर एकीकृत रहनु झनै गलत हुन्छ । कुनै पनि दल राजनीतिक शक्तिको रुपमा रहनुपर्छ कि पर्दैन भन्ने कुरा तीन मुख्य सिद्धान्तहरूका कसीमा मापन गरिन्छ । दलका नेता तथा सदस्यको सामाजिक जीवन चरित्र, सरकार तथा मातहतका निकायको कार्य सम्पादन, दल स्थापनाको औचित्य तीनवटै आधारले अब नेकपा नामको र यही खालको कामको दल किञ्चित आवश्यक नरहेको देखिन्छ । समाजवादी चरित्र तथा आचरणमा आएको गम्भीर स्थलन यसको सबै भन्दा प्रमुख जड हो ।

चरित्र तथा आचरणमा स्खलन
आज नेकपाका अधिकांश नेताहरूको जीवन तथा आचरण कम्युनिष्ट अनि समाजवादी चरित्र अनुरुप छैन । सर्वहाराका नेता भएको भ्रम छरेर सर्वभोगी र विलासी जीवन प्रिय बन्दैछ । पुस्तकालय मदिरालयमा फेरिएका छन् । जुवा, तास, लफडाबाजी, रामरमिता, भोगविलास, डिस्को, डान्सबार कम्युनिष्ट नेताका सन्तान र सन्ततीहरूका आत्मीय अखडा बन्दैछन् । नाजायज, अबैधानिक तथा नकमाएको धनदौलत थुपार्नमा अधिक लगाव राख्छन् र अविछिन्न उपासना गर्छन् । बुर्जुवा शिक्षा भनेर अरुलाई विद्यालयबाट बाहिर निकालेर आफूचाहिँ निजी शिक्षाको व्यपारमा व्यस्त छन्। अत्तर छर्केर हिड्ने, उच्च कोटिका विदेशी सोमरसका साथमा राजसी ढाटको चौरासी व्यन्जन उनीहरूको प्रमुख दिनचर्या बन्दैछ । गोडा भएका कम्युनिष्टहरूलाई घोडा चाहिँदैन भन्नेहरू महंगा गाडी र हेलिकप्टरमा तडकभडकका साथ सवारी चलाउन उद्घत छन् । अधिकांश कम्युनिष्ट नेता व्यापारीभन्दा धनी छन् । रवाफिलो र भड्किलो जीवन शैली छ । आडम्वर र अहंकार यस्तो छ कि उनीहरू सामान्य नागरिक नभई असामन्य महासामन्त अथवा संम्भ्रान्तहरू हुन् । आजका कम्युनिष्ट नेताहरूमा जर्ज ओरेलको पुस्त्क ‘एनिमल फार्म’मा देखाइए जस्तै चरम र क्रुर अवसरवाद व्याप्त छ।

निर्वाचन बाहेक अन्य समय नागरिकसँग भेट्दा उनीहरुरलाई लाज लाग्छ, उनीहरूका कुरा सुन्दा समय वर्वाद भए जस्तो आभास हुन्छ । अनियन्त्रित दम्भ तथा अविवेकी आचरण चुलिँदो छ । सादा जीवन भन्ने कुरा त दस्तावेजमा लेख्नलाई मात्र बनाइएको हो । नेताहरू ‘लिडर’ बाट ‘डिलर’मा परिणत भएका छन् । उनीहरू राजनीतिलाई व्यापार ठान्छन्, नाफामा तल्लीन छन् ।

निर्वाचन बाहेक अन्य समय नागरिकसँग भेट्दा उनीहरुरलाई लाज लाग्छ, उनीहरूका कुरा सुन्दा समय वर्वाद भए जस्तो आभास हुन्छ । अनियन्त्रित दम्भ तथा अविवेकी आचरण चुलिँदो छ । सादा जीवन भन्ने कुरा त दस्तावेजमा लेख्नलाई मात्र बनाइएको हो । नेताहरू ‘लिडर’ बाट ‘डिलर’मा परिणत भएका छन् । उनीहरू राजनीतिलाई व्यापार ठान्छन्, नाफामा तल्लीन छन् । कालाबजारी, भ्रस्टाचार तथा तस्करीलाई दर्शन मान्छन्, घुस कमिसनखोरीलाई अमृत झैँ पिउँछन् । बलात्कार सामन्य ठान्छन् र भैरहने बताउँछन् । कसैले उनीहरूको विरोध गरे विदेशी दलालको आरोप लाउँछन् । उपभोक्ताबाद तथा क्रोनी क्यापिटलिजमको विस्तारलाई सहज हुनेगरी नियम बनाउँछन्, साम्राज्यवादी आचरण देखाउँछन्, हरेकमा मुनाफा खोज्छन्, सबैको श्रोत र साधन आफनो लागि दोहन गर्न चाहन्छन् । परिवारवाद उनीहरूको अन्तिम ध्येय हुन्छ, उनीहरूले शोषक तथा सामन्ती भनेका राजा महाराजाहरूले त्यति राज्यको दोहन गरेनन् होला जति उनीहरू आफनो र परिवारको लागि गर्दैछन् । देश बनाउन हैन, आफू बन्नु मात्र उनीहरूको ध्येय हुन्छ । आर्की ब्राउनको पुस्तक ‘द राइज एण्ड फल अफ कम्युनिजम’ले समेत संसारभर कम्युनिष्टहरूको आचरण पतनउन्मुख भएको देखाउँछ । अहिलेका हाम्रा कम्युनिष्टहरूको सामाजिक जीवन आचरण कुनै पनि हिसाबले समाजवादी दर्शन तथा आर्दशसँग मिल्ने प्रकारको छैन । कार्यसम्पादन त झनै रुग्ण छ ।

रुग्ण कार्यसम्पादन
नेकपाको सरकारको कार्यसम्पादन पनि उत्साहजनक छैन । सायदै यति धेरै निकम्मा तथा निस्प्रभावी सरकार त अन्य बेला महसुस भएकै थिएन होला । बलात्कार, हत्या तथा हिंसाजस्ता कुराहरू झन बढिरहेको छ । काण्डैकाण्ड यति छन् कि सायद दुइतिहाइलाई लाज महसुस हुनुपर्ने हो । निर्मला बलात्कार काण्ड, सुन काण्ड, गुठी विधेयक काण्ड, रुकुम काण्ड, बालुवाटार जग्गा काण्ड, सेक्युरिटी मास प्रिन्टर काण्ड, स्वास्थ्य सामाग्री खरिद काण्ड, अयोध्या काण्ड, बेसार पानी काण्ड आदिका तरगंहरूले समाजलाई झन बर्बादीतिर लैजाँदै छ ।

हरेक ठाउँ सेटिङ छ । साम, दाम, दण्ड, भेद सबैको प्रयोग गरेर सार्वजनिक संस्थान, निगम, विश्वविद्यालय, न्यायलय लगायत अन्य संस्थाहरूमा आफ्ना कार्यकर्ता भर्ती गर्ने र अपवाद बाहेक तिनलाई सकेसम्म निकम्मा तथा कवाडी बनाइएको छ । हरेक ढेक्कापट्टामा कमिसन, हरेक नियुक्तिमा नजराना तथा घुस, अनि निर्णयमा नियोजित सिन्डिकेट प्रस्ट देखिन्छ । मजदुर, किसान, पिछडिएका बर्ग, श्रमिकहरू भोटका लागि मात्र प्रयोग हुन्छन् । अरुबेला त व्यपारी, करछली गर्ने उद्योगी, नजराना चढाउने कमिसनखोर, दलाल तथा समाजलाई तर्साउने डन, सकेसम्म बाँकी समुदायको शोषण गर्ने खलनायकहरूको सत्संग तथा मिलनमा दिव्य सफलताको उन्माद लिन्छन् । सामन्तको टाउको छिनाउनेदेखि शोषकको सफाया गर्ने दुहाइ दिँदै शुरु भएका पार्टीका नेता आज आफैँ नयाँ सामन्तको रूपमा उदाएका छन् । नागरिकका लागि सार्वजनिक सेवा प्रवाह र विकास निर्माण चाहिँ झनै खस्कँदो छ । देशको सर्वपक्षीय विकास, आर्थिक उपार्जन, प्रभावकारी सेवा तथा नागरिक जीवनलाई गुणस्तरीय बनाउने कार्ययोजनामा ठोस प्रस्टता छैन । लेखक गोबर्धन रानाको पुस्तक ‘साम्यवाद’मा लेखिएको छ ‘झुट बोलेर नागरिकलाई झुक्याउनु नै कम्युनिष्टहरूको दार्शनिक धर्म हो।’ साँच्चै यस्तै परिदृश्य उजागर हुँदैछ ।

दल त दलदलमा छँदैछन्, दलभित्रका समूह अहिले त गुट पनि नभएर गिरोहमा परिणत भएका छन् । गुटभित्र विचार तथा सिद्धान्तको छलफल हुन्छ, गिरोहमा केवल अरुलाई ठगेर वा हटाएर आफूलाई फाइदा हुने कदम उठाइन्छ । मात्र लेनदेन र नाफाघाटाको हिसाब गरिन्छ, चरम अवसरवादको प्रतीक्षा हुन्छ । आपसी मतान्तर जीवन, जनता, आदर्श, नीति तथा कार्यक्रममा नभै पदको बाँडफाट र शक्तिको भोगका लागि हुन्छ । नेकपाको पछिल्लो लफडाको मक्सद पनि यही नै भएको देखियो । अब त यसको स्थापनाको औचित्य समेत सकिएको छ ।

औचित्यको समाप्ति
तत्कालीन माओवादीको उद्देश्य राजतन्त्र फालेर संविधानसभा मार्फत गणतान्त्रिक संविधानको निर्माण थियो भने तत्कालीन एमालेको उद्देश्य पंचायती व्यवस्थाको उन्मूलन थियो । दुबै पार्टीको आधारभूत उद्देश्यसमेत पूरा भएकाले अब बाँकी नागरिक अपेक्षा पूरा गर्न नयाँ ढंगका दलहरूको आवश्यकता पर्छ । तत्कालीन शक्तिको प्रतिस्थापनपछि के गर्ने भन्ने न त स्पस्ट योजना थियो न त सानदार व्यवस्थापन गर्दै नागरिकको आशा अनुसार काम गर्न सके। त्यही अदक्षताको प्रभाव अहिलेको नेकपामा पनि परेको हो ।

त्यसैले भविष्यमा यो दल विभाजित वा एकीकृत नै रहे पनि नागरिक भलाई तथा देश हितका लागि भने कागलाई बेल पाके जस्तो मात्रै हुन्छ । नेकपा जुटेमा वा फुटेमा पनि केही अनुपम र उदाहरणीय हुने अवस्था छैन । उनीहरूबीचका लफडा अनि नाटकीय शैलीमा हुने मेलमिलाप आदिले कसैको आडम्वरलाई जोगाउँला तर कम्युनिष्ट आचरण, समाजवादी चरित्र तथा नागरिक अपेक्षालाई जोगाउन सक्ने ल्याकत देखिँदैन । त्यसैले नेकपालाई मजवुत वा विभाजित केही हैन, विघठन गर्नुपर्छ । भविष्यमा अन्य कोहीकसैले नयाँ ढंगले अर्को नैतिक र इमान्दार शक्ति गठन गर्नसक्छ । तर यो वा त्यो वहानामा यसैलाई जीवन्तता दिएर समाजवादको खिल्ली उडाउनु हुदैन ।

(‘काठमाडौँ स्कुल अफ ल’का सहप्राध्यापक दाहालले राष्ट्रनिर्माणका आयामहरु विषयमा  विद्यावारिधि गरेका छन्।)

असोज २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्