फ्रान्सको टोलीमा रहेका रोनाल्डोका फ्यान: उनले लगाएको टीसर्ट कहिल्यै धुने छैन

यूईएफए नेशन्स लिगको लिग ए प्रतियोगिताअन्तर्गत केही दिनअघि भएको खेलमा विश्व च्याम्पियन फ्रान्स र युरोपियन च्याम्पियन पोर्चुगलबीच गोलरहित बराबरी भयो। फ्रान्सको टोलीमा रहेर पनि एडुवार्डो कामाभिङ्गाले यो खेलमा मैदान उत्रने अवसर पाएनन्। उनले प्लेयर बक्समै रहेर यस खेलमा मज्जा लिए।

तर त्यसभन्दा बढी मज्जा उनलाई तब प्राप्त भयो जब पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफुले लगाएको ब्रान्डेड’ सात नम्बर जर्सी’ उनलाई दिए। रोनाल्डोले दिएको उक्त उपहार त्यही अवस्थामा राख्ने १७ वर्षीय यी फुटबलरले बताएका छन्। अर्थात उनले उक्त टिसर्ट कहिल्यै धुने छैनन्।

इन्स्टाग्राममा पाँच पटकका फिफा वर्ष खेलाडीले दिएको टीसर्ट पोस्ट गर्दै यी मिडफिल्डरले क्याप्सन लेखेका छन्, ‘म कहिल्यै धुने छैन।’ कामाभिङ्गाले अघिल्लो खेलमा युक्रेनविरुद्ध गोल गरेका थिए।

रोनाल्डोलाई आफ्नो ‘आइडल’ बताउने कामाभिङ्गाले स्पेनिस क्लब रियल म्याड्रिडका लागि खेल्ने सपना रहेको उल्लेख गर्दै आएका छन्। रोनाल्डो लामो समय रियल म्याड्रिडमा रहँदा यी दुवैको गहिरो प्रभाव उनमा परेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले उल्लेख गरेका छन्स।

पल पोग्बालाई कोरोना भाइरसको संक्रमण भएपछि उनलाई युक्रेनविरुद्धको खेलका लागि टोलीमा समावेश गरिएको थियो। उनी फ्रान्सको सिनियर राष्ट्रिय टोलीमा पर्ने ८८ वर्षयताकै कान्छा खेलाडी हुन्।

कामाभिङ्गा हाल फ्रान्सको प्रिमियर लिग- लिग वानमा रेन्नेसका लागि खेलिरहेका छन्। अफ्रिकन राष्ट्र अङ्गोलामा जन्मिएका उनले गत वर्ष मात्र प्रिमियर लिग फुटबलमा डेब्यु गरेका थिए।

असोज २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्