कंगना रनौतविरुद्ध उजुरी दर्ता

बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध कर्नाटकमा उजुरी दर्ता भएको छ । कृषि विधेयकको विरोधमा प्रदर्शन गरेका किसानलाई लक्षित गरी कंगनाले गरेको ट्वीटलाई लिएर कर्नाटकमा उजुरी दर्ता भएको हो ।

स्थानीय अदालतको आदेश अनुसार प्रहरीले तुमाकूरु जिल्लामा उजुरी दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको अपराध संहिता (आइपिसी) को धारा १०८, १५३ (ए) र ५०४ को आधारमा कंगनाविरुद्ध उजुरी परेको हो । उनीमाथि सामाजिक विभाजन गर्ने, उक्साउने तथा शान्ति व्यवस्था खलबल बनाउने खालको ट्वीट गरेका कारण आरोप दर्ता गरिएको हो ।

तुमाकूरी जिल्ला अदालतले अक्टोबर ९ मा आरोप दर्ता गर्न भनेको थियो । वकिल एल रमेश नायकले कंगनाले सेप्टेम्बर २१ मा गरेको ट्वीटलाई लिएर उजुरी गरेका हुन् ।

कंगनाले सो ट्वीटमा कृषि विधेयकको विरोधमा प्रदर्शन गर्नेहरु सिएएको विरोधमा प्रदर्शन गर्नेहरु जस्तै ‘आतंककारी’ रहेको उल्लेख गरेकी थिइन् ।

असोज २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्