नयाँ नक्साबारे दिएको कमेन्टले विवादित भारतीय सेनापति नरवाणेलाई नेपाल भ्रमणको निम्ता!

काठमाडौँ – भारतले आफ्नो दाबी गर्दै आएको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ राजनीतिक नक्सा जारी गरेपछि त्यसबारे दिएको प्रतिक्रियाले विवादमा आएका भारतीय  सेनाका प्रमुख मनोज मुकुन्द नरवाणेलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्ने तयारी भएको छ। उनलाई नोभेम्बरमा आउने गरि निम्तो गर्न लागिएको सैनिक मुख्यालयले जनाएको छ।

सेनाध्यक्ष भएयता नरवाणे नेपाल आएका छैनन्। नेपाल र भारतका सेनाप्रमुखले जिम्मेवारी सम्हालेपछि एक अर्काको देशमा गएर मानार्थ सेना प्रमुखको उपाधि लिने चलन छ। नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापाले भने भारत पुगेर उक्त उपाधि लिइसकेका छन्। सन् १९५० देखि दुई देशका प्रधानसेनापति बहाल भएपछि एकअर्कोमा गएर मानार्ध उपाधि लिने चलन सुरु भएको हो।

तर गत मे ८ तारिखमा चीनलाई संकेत गर्दै नेपालले तेस्रो मुलुकको आडमा नक्सा जारी गरेको टिप्पणी गरेपछि नरवाणे विवादमा आएका थिए। त्यसपछि उनको नेपाल भ्रमण अनिश्चित बनेको थियो। दुई देशबीचको सम्बन्ध अझै सुधारिएको छैन।

तर नरवाणेको भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको छ। स्रोतका अनुसार नरवाणेलाई आमन्त्रण गर्ने सन्दर्भमा सेनाले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबाट ‘ग्रिन सिग्नल’ पाएको बुझिएको छ। लकडाउन सुरु हुनुअगावै नरवाणे नेपाल आउने तयारी थियो।

नरवाणे‍ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्ध प्रधानसेनापतिको उपाधि ग्रहण गर्नेछन्।

असोज २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्