पार्टी प्रवेश गर्न नमान्दा नेकपाले हत्या गरेको भन्दै गाउँ नै उल्टिएर जिल्ला प्रहरी कार्यालय घेराउ (तस्बिरसहित)

काठमाडौँ- प्रहरीले वास्तविक हत्यारालाई पक्राउ नगरेको भन्दै बुधबार रामनगर गाउँपालिकाका स्थानीयले सर्लाही जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्।  महिला र बालबालिकाहरु समेत झाडु बोकेर प्रदर्शन गर्न पुगेका थिए।

त्यसबीचमा सुरक्षाकर्मी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो। झडपमा  १५  जना नेपाल  प्रहरी र चारजना सशस्त्र प्रहरी घाइते भएको डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए।

असोज २२ गते सर्लाहीको रामनगर गाउँपालिका-६ मा कुटपिटबाट मृत्यु भएका ६० वर्षीय महेन्द्र रामको सत्तारुढ नेकपाले हत्या गरेको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग राख्दै प्रदर्शन भएको थियो।

प्रदेश-२ प्रहरी प्रमुख सिंहले घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको र कुनै राजनीतिक सम्बन्ध नरहेको दावी गरे।

‘दलित गाउँका केटाकेटीबीच भएको ढुंगा हानाहानमा पछि ठूला मान्छे पनि मिसिएपछि ढुंगाले लागेर रामको मृत्यु भएको पाइएको छ। हामीले घटनामा संलगन विजय महरा, विलासी महरा र रामप्रदेश महरालाई पक्राउ गरिसकेका छौँ’, सिंहले भने।

यता रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले रामको हत्या नेकपाका कार्यकर्ताले गरेको दावी गरे।

‘महेन्द्र रामलाई पहिल्यैदेखि नेकपाले आफ्नो पार्टीमा आउन भनिरहेको थियो तर उनले कांग्रेस नछाड्ने अडान लिएका थिए। त्यही कारण असोज २२ गते साँझ ८ बजे १२/१५ जना नेकपा कार्यकर्ताले कुटपिट गरि रामको हत्या गरेको देखिन्छ’, बर्माले भने।

उनले प्रहरीले पक्राउ गरेका तीनजना घटनामा संलग्नभन्दा बाहिरको मान्छे भएको र वास्तविक दोषीलाई जोगाउने काम भएको दावी गरे।

बर्मा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन्। उक्त गाउँपालिकाको ६ नम्बरका वडाध्यक्ष भने नेकपामा हुन्। उनी तत्कालिन माओवादीका स्थानीय नेता हुन्। रामले भने स्थानीय निर्वाचनमा वडा सदस्यमा नेपाली कांग्रेसबाट हारेका थिए।

असोज २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्