किन खोसियो उपप्रधानमन्त्री ईश्‍वर पोखरेलको पोल्टाबाट रक्षा मन्त्रालय ?

काठमाडौं- मन्त्रिपरिषदको पछिल्लो पुनर्गठनमा प्रधानमन्त्री केपी शर्मा ओलीले ईश्वर पोखरेललाई बिनाविभागीय मन्त्रीमा सीमित गरेका छन्।

आकर्षक र संवेदनशील मानिने रक्षा मन्त्रीको जिम्मेवारीबाट हटाएर पोखरेललाई उपप्रधानमन्त्रीमा मात्र सीमित गरिएको छ। संघीय संसदमा नेकपाले करिब दुई तिहाइ बहुमत प्राप्त गरेपछि ओलीको नेतृत्वमा बनेको मन्त्रिपरिषदमा पोखरेललाई प्रभावशाली रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

ओलीले रक्षा मन्त्रालय अरु कसैलाई नदिएर आफूसँगै राखेका छन्। अब उपप्रधानमन्त्री बस्ने कुनै कार्यालय छैन। उपप्रधानमन्त्री पोखरेलले अब प्रधानमन्त्रीकै कार्यालयमा बस्नुपर्नेछ।

पोखरेललाई विना विभागीय मन्त्रीमा सीमित गर्ने मनस्थितिमा ओली किन पुगे भन्ने विषयले सत्तारुढ नेकपाभित्रै खैलाबैला भएको छ। अझ,  ललिता निवास प्रकरणमा मुछिएका विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरिएको छ पछिल्लो पुनर्गठनमा।

यसअघि ११ पटक पुनर्गठन भइसकेको यो मन्त्रिपरिषद्‌मा पोखरेललाई सरकारबाटै हटाउने चर्चा पनि चलेको थियो।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिको संयोजक पोखरेललाई बनाइएपनि यसको प्रभावकारितालाई लिएर पटकपटक प्रश्न उठेको थियो। लगत्तै कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र-सीसिएमसी गठन भएको थियो। मेडिकल सामग्री खरिद प्रकरणमा भएको अनियमितामा पोखरेल जोडिएका थिए।

सैनिक मुख्यालयसँग उनको सम्बन्धसमेत पछिल्लोपटक चिसिएको थियो। सेनालाई अनावश्यक विवादमा तानेर ‌‌संस्थाको संवेदनशीलतासमेत बिर्सिएको र अपमान गरेको भन्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानमन्त्री ओलीलाई प्रत्यक्ष भेटमा गुनासो गरेका थिए।

पोखरेलले आफन्तलाई उच्च ओहोदामा नियुक्ति गरेको तथा त्यसका लागि प्रयास गरेका विषयले पनि उनी विवादमा आएका थिए।

उपप्रधानमन्त्री पोखरेलको कार्यदक्षता र कमजोर प्रस्तुतिका कारण प्रधानमन्त्री ओली पछिल्लो समय उनीसँग असन्तुष्ट थिए।

असोज २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्