धान भित्र्याउन किसानलाई चटारो, पुरानै मूल्यमा धान बिक्री गर्न किसान बाध्य

दाङ – धानमा टप ड्रेसिङ्ग गर्ने बेलामा यूरिया मल पाइएन । धान फल्दैन की भन्ने चिन्ता किसानलाई थियो । अनुदानको रासायनिक मल पाइएन । तर, किसानले बजारबाट महंगोमा मल किनेर छर्नुपर्‍यो ।

धानले राम्रै फसल दियो । अहिले किसानलाई धान भित्र्याउने चटरो छ । धान खेती गर्न किसानलाई महिना दिन लाग्थ्यो । भित्र्याउन उस्तै जुलुम हुन्थ्यो । अहिले भने किसानलाई धान भित्र्याउन प्रविधिले सजिलो बनाइदिएको छ ।

‘पहिला रांगा–गोरुले खेत जोत्नुपर्थ्यो । दुई महिना जती हिलोमै बित्थ्यो । तर, अहिले ट्रयाक्टरले जोत्दा एक हप्तामा धान रोपेर सकिन्छ’ श्यामनारायण चौधरीले भने, ‘धान भित्र्याउन पनि सजिलो भएको छ । थ्रेसरले खेतमै धान दाईदिन्छ । धान दाउन महिना दिन लाग्थ्यो । थ्रेसरले एक–आधा घण्टामा भ्याईदिन्छ ।’

कृषिमा यान्त्रीकरण भएपछि धान खेती गर्ने शैलीमा समेत परिवर्तन आएको छ । गाउँ घरमा सहज रुपमा थ्रेसर पाउन थालेको छ । घण्टाको दुई हजार रुपैयाँमा थ्रेसरले धान दाउने गर्छ । एक बिगाह खेतको धान दाउन एकदेखि डेढ घण्टासम्म लाग्छ ।

‘गाउँमा ट्रयाक्टर हुनेले थ्रेसर मेसिन पनि किनेकाले सजिलो भएको छ । अहिले धान दाउन भ्याई नभ्याई छ’ ट्रयाक्टर चालक सुनील चौधरीले भने, ‘दिनरात धान दाउने काम चलिरहेको छ । यो सिजन पनि हो ।’

दाङ जिल्लामा धान खेती हुने क्षेत्र बढेको छ । यस वर्ष धान उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । गत बर्ष ३७ हजार ७१० हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । गत वर्ष एक लाख ६९ हजार ६९५ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष कोभिडको कारणले धान खेती हुने क्षेत्र बढेको छ ।

यस वर्ष ३८ हजार ४९७ हेक्टर जग्गामा धान खेती भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी उमेश श्रेष्ठले जानकारी दिए ।

यस वर्ष अनुमानित एक लाख ७९ हजार मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको छ । ‘समयमा पानी पर्‍यो । रोग किराको कन्ट्रोल पनि भयो । चाँडै रोपाई पनि भयो’ सूचना अधिकारी श्रेष्ठले भने, ‘धान उत्पादन बढ्ने अनुमान गरेका छौँ ।’

धानको मूल्य पुरानै

    किसानले धान भित्र्याएसँगै धान बिक्री गर्न थालेका छन् । यस वर्ष धान गत बर्षकै मुल्यमा खरिद भैरहेको हो । मसिनो धान २३ सय रुपैयाँ कुन्टल र मोटो धान २१ सय रुपैयाँ कुन्टलमा खरिद भैरहेको कक्षपति राईसमिलका म्यानेजर मदन अधिकारीले जानकारी दिए ।

‘चार पाँच वर्षदेखि धानको मूल्य एकैनासको छ’ अधिकारीले भने, ‘यस वर्ष धान उत्पादन पनि बढेको छ । साना तथा ठूला राइस मिलले धान खरिद सुरु गरेका छन् । किसानको सजिलोको लागि खेतबाटै समेत धान उठाउने गरिएको छ ।’

धानको मूल्य नबढ्दा किसान समस्यामा छन् । धान खेती गर्न चाहिने मल, बिउ र परिश्रम जोड्ने हो भने लागत मूल्य समेत उठ्न नसक्ने अवस्था रहेको किसान बसन्ती चौधरीले बताइन । ‘धान खेती महंगो हुदै गयो’ उहाँले भन्नुभयो ‘न समयमा मल पाइन्छ । न लागत उठ्छ ।’

एक वर्षअघि सरकारले धानको मूल्य तोकेको थियो । मन्त्रिपरिषदको २०७६ कात्तिक ५ गते बसेको बैठकले मोटा धान प्रतिक्विन्टल २ हजार ५ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धामको मूल्य प्रतिक्विन्टल २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा तोकिएको थियो । तर, किसासनले यो मूल्य पाउँदैनन् ।

असोज २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्