प्रदेश-१ सरकारद्वारा ११ वटा स्थानीय तहलाई वारुणयन्त्र र प्रहरी भ्यान हस्तान्तरण

मोरङ-प्रदेश १ सरकारले ११ वटा स्थानीय तहलाई वारुणयन्त्र र प्रहरी भ्यान हस्तान्तरण गरेको छ।

विराटनगरमा बिहीबार आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले ५ करोड ६७ लाख २० हजार लागतमा खरिद गरिएको ११ वटा वारुण यन्त्र र ६ करोड २८ लाख २७ हजार चार सय ६० रुपैयाँ बराबरको प्रहरी भ्यान बिहीबार हस्तान्तरण गरेका हुन्।

प्रदेश सरकारले प्रदेशका १४ जिल्लाका एक–एक वटा स्थानीय तहमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गरेको छ। सोही केन्द्रका लागि एक थान वारुण यन्त्र र एक थान प्रहरी भ्यान हस्तान्तरण गरिएको हो।

स्थानीय पालिकाका प्रमुखको अध्यक्षतामा सेवा केन्द्र सञ्चालन समिति रहनेछ। केन्द्रमा प्रयोग भएका सवारीको इन्धन र मर्मत खर्च पालिकाले व्यहोर्नु पर्नेछ।

जनशक्तिको व्यवस्थापन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्ने बताइएको छ।

प्रदेश सरकारले बिहीबार सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, इलामको देउमाई नगरपालिकालाई वरुणयन्त्र र प्रहरी भ्यान हस्तान्तरण गरेको हो।

त्यस्तै पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका, उदयपुरको रौतामाई गाउँपालिकालाई पनि हस्तान्तरण गरेको छ।

असोज २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्