९ सचिवको सरुवा, दुईजना फर्किए पुरानै मन्त्रालयमा

काठमाडौँ – सरकारले बुधबार एकैदिन ९ जना सचिव सरुवा गरेको छ।
तीन जना मन्त्री थपिएपछि पहिलोपटक बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।
एक मन्त्रीका अनुसार भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ। आयोगका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालय सरुवा गरिएको छ।
त्यस्तै केदारबहादुर अधिकारीले अवकास पाएपछि रिक्त रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा यसअघि काठमाडौँ महानगरपालिकामा रहेका एकनारायण अर्याललाई पठाइएको छ।
ऊर्जा मन्त्रालयका सचिव सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालयमा तानिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालय लगेर त्यहाँ पुरानै यादव कोइरालालाई फेरि सचिव बनाइएको छ।
कोइराला प्रधानमन्त्री कार्यालयमा थिए।
खेलकुद मन्त्रालयमा रहेका रामप्रसाद थपलियालाई सार्वजनिक खरिद अनुगमन कार्यालय, प्रधानमन्त्री कार्यालयमा रहेका केदार न्यौपानेलाई उपराष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयमा खगराज बराललाई पठाइएको अर्का एक मन्त्रीले जानकारी दिए।