प्रचण्ड र नेता कँडेलबीच सवालजवाफ

प्रचण्ड- केन्द्रमा सल्लाह नगरी गलत बाटो समात्नुभयो, कँडेल- हामीले संवैधानिक अधिकार प्रयोग गरेका हौँ

काठमाडौँ– नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कार्यको नेतृत्व गरेका नेता यामलाल कँडेललाई केन्द्रमा सल्लाह नगरी गलत बाटो सम्हालेको भन्दै त्यो सच्याउन अब सबैले भूमिका खेल्नु पर्ने प्रतिक्रिया दिएका छन्।

बिहीबार बिहान आफ्नै निवास खुमलटारमा बोलाएर नेता कँडेल, हालै मुख्यमन्त्री शाहीद्वारा संसदीय दलको प्रमुख सचेतकबाट निलम्बित गुलाबजंग शाह र अन्य केही नेताहरुलाई बोलाएर उनीहरुका कुरा सुनिसकेपछि प्रचण्डले त्यस्तो प्रतिक्रिया दिएका हुन्।

कँडेललगायत नेकपा कर्णाली प्रदेशका १८ जना सांसदले प्रचण्ड समूहका मुख्यमन्त्री शाहीले प्रभावकारी काम गर्न नसक्दा सरकार र पार्टी दुबैको बदनाम भएको भन्दै शाहीविरुद्ध आइतबार अविश्वासको दर्ता गराएका थिए।

अविश्वासको प्रस्ताव दर्ता गरेको तेस्रो दिन प्रचण्ड र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विवादमा मुछिएका दुबै पक्षलाई समस्या यथावत राखी बिहीबारभित्र काठमाडौँ पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन लिखित निर्देशन दिएका थिए।

तर बिहीबार शाही र उनी पक्षका नेताहरुलाई खुमलटार बोलाउँदा गुट भेलाको सुरुवात गरेको आलोचना खेपेका प्रचण्डले शुक्रबार बिहान नेता कँडेल, शाह लगायत नेताहरुलाई खुमलटार बोलाएर उनीहरुका कुरा सुनेका हुन्।

कँडेल र शाहले अविश्वासको प्रस्ताव दर्ता गर्नुको पृष्ठभूमि र आगामी दिनमा पार्टी र सरकारलाई पर्ने असरबारे विस्तृतमा आफ्ना धारणा प्रचण्डसँग राखेका थिए।

‘सरकारले उद्देश्यअनुसार कुनै पनि राम्रो काम गर्न सकेन। न त पार्टी सरसल्लाहमै काम गर्‍यो। जनतामा बदनाम हुने काम मात्रै हुन थालेपछि अन्तिम विकल्पका रुपमा हामीले अविश्वासको प्रस्ताव दर्ता गरेको हो,’ नेता कँडेलेको भनाइ उद्धृत गर्दै त्यहाँ उपस्थित नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले देशसञ्चारसँग भने।

कँडेलको धारणा सुनिसकेपछि प्रचण्डले भने उनले पार्टीको केन्द्रीय तहमा सरसल्लाह गरेर मात्रै यस्तो निर्णय लिनुपर्नेमा गलत बाटो अपनाएको प्रतिक्रिया दिएका थिए।

‘सरकारका कमिकमजोरी रहेछन् भन्ने बुझियो। तर यस मामिलामा पहिले हामीसँग पनि सल्लाह गरेको भए हुने थियो। एकैपटक तपाईँले बाटो गलत समात्नु भयो। अब यसलाई कसरी सुल्झाउने भन्नेतर्फ हामी सबै लाग्नुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सचिव शर्माले भने।

प्रचण्डको त्यस्तो प्रतिक्रिया आएपछि उनलाई नेता कँडेलले आफूहरुले संवैधानिक अधिकार प्रयोग गरेको र यसका लागि पार्टीको माथिल्लो तहमा पनि भनिरहनुपर्छ जस्तो नलागेर अविश्वासको प्रस्ताव दर्ता गरेको जवाफ दिएका थिए।

‘हामीले अरु संघीयताको अभ्यास पनि गरिरहेका छौँ। प्रदेशस्तरमा उत्पन्न समस्या समाधानका लागि संवैधानिक अधिकार प्रयोग गरेका हौँ। कर्णालीका समस्याबारे तपाईले पनि थाहा पाउनु नै भएको थियो। मैले पटक–पटक सुनाएको पनि थिएँ,’ कँडेलको भनाइ उद्धृत गर्दै शर्माले भने।

यस्तै कँडेलले अविश्वासको प्रस्ताव दर्ता गर्दा सोध्नै पर्ने आवश्यकता नभएकाले दुबै अध्यक्षलाई नसोधी दर्ता गरेको बताएका थिए।

प्रचण्डसँगको भेटपछि नेता कँडेल र शाहसँग भने सम्पर्क भएन। प्रचण्डले करिब तीन घण्टा नेता कँडेल, शाहलगायत नेताहरुसँग छलफल गरेका थिए। अब एक पटक अर्का अध्यक्ष ओलीलाई पनि अविश्वासको प्रस्ताव दर्ता गर्नुको कारणबारे सुनाउने र त्यसपछि दुई अध्यक्ष मिलेर यो समस्या सुल्झाउनुको विकल्प नभएको सचिव शर्माले बताए।

उनले भने, ‘विवाद उत्पन्न भएपछि दुबै पक्षका कुरा कार्यकारी अध्यक्षले गम्भीर भएर सुन्नुभएको छ। अब पक्कै पनि केही निकास आउँछ भन्ने विश्वास छ।’

असोज ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्