काठमाडौँको न्यूरोड, महावौद्ध क्षेत्रमा चहलपहल बढी, किनमेल कम

काठमाडौँ-दशैं नजिकिएसँगै बजारमा चहलपहल बढेको देखिएपनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन् ।

काठमाडौं उपत्यकाकाका मुख्य बजार क्षेत्र, न्यूरोड, महावौद्ध, इन्द्रचोक, असन, मखन टोल लगायतको क्षेत्रमा दशैं नजिकिएसँगै किनमेल गर्नेहरुको चहलपहल बढेको देखिन्छ।

कोभिड १९ संक्रमणको जोखिम भएपनि मानिसहरु आवस्यक सामग्री किनमेल गर्नका लागि बजार पुग्ने गरेका छन् जसका कारण मुख्यु मुख्य बजार क्षेत्रमा चहलपहल विस्तारै बढ्दै गएको छ।

बजारमा मानिसहरुको आवागमन बढेको भएपनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन्।

न्यूरोड मखनटोल स्थित सुरज आर्केड व्यापार संघका महासचिव सुरेश श्रेष्ठले व्यापार नै नहुँदा कतिपय व्यापारीहरु पलायन हुने स्थितिमा पुगेको बताए।

कोभिड १९ रोकथामका लागि लामो समय लकडाउन हुँदा समेत सरकारबाट कुनै राहत नपाएको गुनासो समेत उनले गरेका छन्।

अहिले व्यवसाय खुल्ला भएपनि तीन-चार दिनमा एकपटक मात्रै बोहनी हुने गरेको उनले बताए। दशैंको बेलामा पनि व्यापार नहुँदा झनै समस्यामा परेको श्रेष्ठको भनाइ छ।

कोभिड संक्रमणको जोखिमका कारण भिडभाड हुने बजार क्षेत्रमा नजान सरकारले आग्रह गरिरहेको छ। यस्तो समयमा अत्यावश्‍यक बाहेकका सामग्री खरिद गर्न मानिसहरु बजार गएको पनि देखिदैन।

त्यसैले पनि लत्ताकपडा, जुत्ता, मोबाइल, गरगहना लगायतको व्यापार कम भएको व्यापारीहरुको भनाइ छ।

असोज ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्