नेपालमा संक्रमणको अवस्था भयावह

कोरोनाले विश्वलाई तहल्का मच्चाउन थालेको करीब १० महिना बितिसकेको छ। यस दौरानमा नेपालसम्म आइपुग्नुअघि कोरोना विभिन्न महादेश, देश हुँदै संसारको ठूलो भागसम्म फैलिसकेको छ। सन् २०२० को सुरुवाती समयमा चीनबाट सुरु भएको कोरोना करीब एक महिनापछि यूरोपमा  र करीब डेढ महिनापछि अमेरिकामा फैलियो। वनको डढेलो जस्तै सल्केको यूरोपको कोरोना करीब दुई महिनापछि अलि नियन्त्रित भयो। झन्डै अढाइ महिना हल्का शान्त रहेको यूरोपको कोरोना जुलाई  (July) महिनाको अन्त्यतिर फेरि फस्टाउँदै विगत तीन महिनादेखि दोस्रो वेभको रुपमा हालसम्म पनि जारी छ। त्यस्तै अमेरिकाको कोरोना पनि  झन्डै अढाई महिना जति लम्बिई मे (May)महिनाको अन्त्यतिर केही कम भएता पनि एक महिना पनि नबित्दै फेरि कोरोनाको दोस्रो लहर सुरु भयो। यसले अमेरिकालाई कोरोनाले संक्रमित व्यक्तिको संख्याको हिसाबले सबैभन्दा उच्च स्थानमा मात्रै पुर्‍याएन, बरु संसारमै कोरोनाले मृत्यु हुनेको संख्याको हिसाबले पनि अमेरिकालाई सबैभन्दा उच्च स्थानमा पुर्‍याइदियो। त्यति मात्रै नभई संसारमै कोरोनाले सबैभन्दा लामो समयसम्म दुख दिएको देशमा अमेरिका नै पुगेको छ र त्यहाँ कोरोनाको भयावह स्थिति जारी नै छ।

संसारको विभिन्न ठाउँ घुम्दै दक्षिण एसियासम्म आइपुग्न कोरोनालाई करीब साढे तीन महिना लाग्यो। सुरुवाती अवस्थामा भारत लगायत दक्षिण एसियाका केही भागमा सुस्त रुपमा उदाएको कोरोना जुन (June) महिनापछि आक्रामक ढंगले फैलिई एकैचोटी यस क्षेत्रलाई कोरोनाको ठूलो मैदानको रुपमा परिणत गरिदियो। त्यति मात्र नभई भारतमा कोरोनाको लहर व्यापकरुपमा बढी यस मुलुकलाई कोरोनाको सुचीमा क्रमश: तेस्रो अनि दोस्रो स्थानसम्म पुर्‍याइदियो। झन्डै ४ महिनादेखि कोरोनाले आक्रान्त बनेको भारतमा  करीब एक महिना देखि कोरोनामा केही कमी आएता पनि अझै पनि दैनिक संक्रमित तथा मृत्युको हिसाबले भारत संसारमै सबैभन्दा पहिलो स्थानमा छ।

त्यसै क्रममा चीनमा सुरु भए पश्चात झन्डै ५ महिना पछि कोरोनाले नेपालमा आक्रमण गर्‍यो। २०७६ साल माघ ९ गते अर्थात सन् २०२० ज्यानुअरी (January) २३ का दिन कोरोनाको पहिलो बिरामी नेपालमा देखिए पनि त्यस पश्चात फाटफुट बाहेक खासै कोरोनाका बिरामी नेपालमा देखिएको थिएन। प्रकृतिले नेपाललाई झन्डै ५ महिनासम्म सुरक्षित मात्रै राखेन, बरु कोरोना सम्बन्धि थुप्रै अनुभव गर्ने, सिक्ने र पर्याप्त तयारी गर्ने मौका पनि दियो। त्यति बेलाको चैत ११ गते देखि जेष्ठ २९ गते सम्मको लक्डाउन (Lockdown)ले पनि शायद कोरोना नियन्त्रणमा राम्रै भूमिका खेल्यो। तर त्यस दौरान नेपाल सरकार र नेपाली जनताले कोरोनाको रोकथामको लागि कति प्रयास र कार्य गर्‍यो, त्यसको नतिजा हाल हामी सबैको सामु स्पष्ट छ।

मे (May) महिनाको अन्त्यतिर कोरोनाको लहर करीब एक महिनासम्म  बढे पनि त्यस पश्चात करीब ३-४ हप्ताको लागि नेपालमा कोरोना केही शान्त रह्यो। तत्पश्चात फेरि कोरोनाको दोस्रो लहर सुरु भई विगत करीब अढाई महिना देखि क्रमश: बढ्दै गई हाल उच्च बिन्दुमा पुगेको छ।  कोरोनाले नेपाललाई कति आक्रान्त पारेको छ भन्ने कुरा विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा निम्न बमोजिम प्रस्तुत गरिएको छ ।

नेपालमा कोरोनाको असरको बारेमा बिस्तृत बर्णन गर्नुभन्दा पहिला  कुनै पनि रोगको महामारी अर्थात् प्यानडेमिक (Pandemic)को बारेमा छोटकरीमा केही जानकारी प्रस्तुत गर्नु सान्दर्भिक हुनेछ। संसारको उत्पत्तिसँगै मानव शरीर र मानब जीवनमा विभिन्न रोगले समय समयमा दुख दिँदै आएको छ। कुनै कुनै बेला कुनै कुनै रोगले बेग्लै रुप लिई कुनै एक समुदायमा फैलिन्छ। यसरी कुनै रोग समुदायमा फैलिनेलाई नेपाली भाषामा रोगको महामारी र अंग्रेजीमा एपिडेमिक (Epidemic) भनिन्छ। यदि एपिडेमिकले भूगोलको ठूलै अथवा धेरै भागलाई ओगटेमा त्यसलाई प्यानडेकिम भनिन्छ। प्यानडेमिकको मूलत: केही चरणहरु हुन्छन्।

पहिलो चरणमा कुनै पनि समुदायमा बाहिरबाट आएका बिरामी मात्रै हुन्छन् र भित्रै उत्पन्न भएका बिरामी हुँदैनन्। यस चरणमा बाहिरबाट आएका मानिसहरुको परीक्षण गरी रोग लागेको देखिएमा अलग्गै राखेर, जसलाई क्वारन्टाइन (Quarantine) भनिन्छ, अरुलाई रोग सर्नबाट रोक्नुपर्दछ।

दोस्रो चरणमा बाहिरबाट आएका बिरामीले समुदायका स्थानीय मानिसलाई रोग सारेमा नया नयाँ बिरामी देखा पर्दछन्। यस्तो अवस्थामा बाहिरबाट आएका बिरामीलाई कडाईका साथ् अलग्ग राख्ने (Quarantine) गरेमा रोगलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । प्यानडेमिक नियन्त्रणको लागि पहिलो र दोस्रो चरण नै सबैभन्दा उत्तम चरण हो किनभने प्यानडेमिक तेस्रो चरणमा गयो भने नियन्त्रण गर्न सार्है गाह्रो हुन्छ । प्यानडेमिकलाई दोस्रो चरणमै रोक्नको लागि रोग लागेको मानिस जजसको सम्पर्कमा आएको छ, उनीहरुको पनि परीक्षण गर्नु पर्दछ जसलाई कन्ट्याक्ट ट्रेसिंग (Contact Tracing) भनिन्छ। दोस्रो चरणलाई स्थानीय संक्रमण (लोकल ट्रान्समिसन Local Transmission) भनिन्छ।

तेस्रो चरणलाई सामुदायिक संक्रमण (कम्युनिटी ट्रान्समिसन Community Transmission) भनिन्छ जसमा समुदायमा रोग लागेको बिरामी नभए पनि स्वतस्फूर्तरुपमा रोगीहरु निस्कन्छ्न्। यो अति खतरनाक स्थिति हो जसमा जोकोहीलाई पनि रोग लाग्न सक्दछ। यो अवस्थामा प्यानडेमिकलाई नियन्त्रण गर्न निकै कठीन हुन्छ। यो अवस्थामा प्यानडेमिक नियन्त्रण गर्ने एक मात्र उपाय हो सामूहिक परीक्षण अनि सामूहिक क्वारान्टाइन।

चौथो चरण अन्तिम चरण हो। यो अवस्थामा प्यानडेमिक नियन्त्रण गर्ने अरु कुनै उपाय हुँदैन र अन्तमा प्राकृतिकरुपमा प्यानडेमिकको अन्त्य हुन्छ जसलाई हर्ड इम्म्यूनिटी (Herd Immunity) भनिन्छ। यसमा समुदायमा प्राकृतिकरुपमा रोग बिरुद्धको प्रतिरोधात्मक शक्ति (Immunity)को विकास हुन्छ र रोग फैलिनबाट रोकिन्छ। तर हर्ड इम्म्यूनिटीको अवस्था आउनको लागि जनसंख्याको  दुई तिहाइभन्दा बढीमा रोग लाग्नु जरुरी हुन्छ । दुई तिहाइभन्दा बढीमा यो रोग लागुन्जेलसम्म धेरैको ज्यान गइसकेको हुन्छ। त्यसैले अहिलेको आधुनिक र बैज्ञानिक यूगमा हर्ड इम्म्यूनिटीको आश गर्न सकिँदैन अर्थात् हर्ड इम्म्यूनिटीको लागि त्यति धेरैको ज्यान बलिदान गर्न सकिँदैन। बरु त्योभन्दा पहिला नै प्यानडेमिकको नियन्त्रण गर्नु पर्दछ।

एक महिना अघिसम्म करिब ११% रहेको नेपालको दैनिक पोजिटिभिटी अहिले औसत २०% भन्दा धेरै छ  र यो प्रवृत्ति दैनिकरुपमा बढ्दो छ। नेपालमा हालसम्म देखिएको सबैभन्दा अत्यधिक पोजिटीभिटी २७% भेटिएको छ।

विश्वमा कोरोनाको प्यानडेमिक मापन गर्ने विभिन्न मापदण्डहरु छन् जस्तै संक्रमितको संख्या, संक्रमणको वृद्धिदर, संक्रमणको परिक्षणदर, परिक्षणको जम्मा पोजिटिभ दर आदि। यी मध्ये सबैभन्दा  महत्वपूर्ण मापदण्ड मध्ये एक हो परीक्षणको जम्मा पोजिटिभ दर (पोजिटिभिटी Positivity)। अन्य सबै मापदण्डहरु परीक्षणको मात्रामा भर पर्ने हुनाले तिनीहरु त्यत्तिको भरपर्दा हुँदैनन् । नेपाल सरकारको तथ्यांक र अमेरिकाको जोन हप्किन्स युनिभर्सिटी (John Hopkins University)का अनुसार हाल नेपालको औसत पोजिटिभिटी २० भन्दा धेरै छ। नेपालको कोरोना प्यानडेमिकको बिगत एक महिना, September 12 देखि October 12, को दैनिक पोजिटिभिटी तलको चित्रमा देखाए बमोजिमको छ ।

एक महिनाअघिसम्म करीब ११% रहेको नेपालको दैनिक पोजिटिभिटी अहिले औसत २०% भन्दा धेरै छ  र यो प्रबित्ति दैनिकरुपमा बढ्दो छ । नेपालमा हालसम्म देखिएको सबैभन्दा अत्यधिक पोजिटीभिटी २७% भेटिएको छ ।

WHO का अनुसार पोजिटीभिटी ५%भन्दा कम भएमा प्यानडेमिक राम्ररी नियन्त्रणमा आएको मानिन्छ । यदि ५ भन्दा धेरै भएमा प्यानडेमिक नियत्रण प्रभाबकारी नभएको मानिन्छ। यदि पोजिटिभिटी १२%भन्दा धेरै भएमा प्यानडेमिक निकै कडा, अनियन्त्रित तथा नाजुक भएको भन्ने बुझिन्छ। त्यति मात्र नभई परिक्षणको दर पनि निकै कम भएको बुझिन्छ। नेपालको पोजिटिभिटि २०%भन्दा ज्यादा हुनु संसारकै उच्च मध्ये एक हो जुन अति भयावह अवस्था हो । अमेरिकाको जोन हप्किन्स युनिभर्सिटी (John Hopkins University) का अनुसार अमेरिकाको पोजिटिभिटी करीब ५% र भारतको करीब ७% छ जुन नेपालको दाँजोमा निकै न्यून हो। नेपालको पोजिटिभिटी दक्षिण एसिया मात्र होइन एसियाकै र विश्वकै अत्यधिक मध्ये एक हो।

परीक्षणको हिसाबले अमेरिका संसारकै सबैभन्दा धेरै परीक्षण गरेको देश मध्ये हो। अमेरिकाले उसको जनसंख्याको करीब ३५%को परीक्षण गरेको छ भने भारतले करीब ६% र नेपालले करिब ४%को मात्रै परीक्षण गरेको छ। अमेरिका, भारत र नेपालको जनसंख्या, परीक्षणदर र पोजिटिभिटी दर फरक फरक छ । यदि भारत र नेपालले पनि अमेरिकाको जत्तिकै परीक्षण गर्ने हो भने प्रत्यक दिन भारतमा करीब ४ लाख र नेपालमा करीब २० हजार नयाँ बिरामीहरु भेटिने अनुमान गर्न सकिन्छ जुन अति भयावह अवस्था हो। नेपालभन्दा पोजिटिभिटीको हिसाबले माथि रहेका केही देशहरुमा ल्याटिन अमेरिकाका देशहरु पर्दछन् जस्तै अर्जेन्टिना, कोस्टारिका, बोलिभिया, परागुए आदि । त्यस्तै केही यूरोपियन राष्ट्रहरु पनि नेपालभन्दा माथि छन् जस्तै स्पेन, फ्रान्स, चेक आदि। त्यस्तै केही हप्ता अघिसम्म मात्रै नेपालभन्दा माथि र खराब अवस्थामा रहेका एसियाका देशहरु जस्तै इराक, इरान, इन्डोनेसिया, बंगलादेश  आदि अहिले नेपालभन्दा  तल अर्थात् कोरोना नियन्त्रित अवस्थामा परिसकेका छन्।

जसरी नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो छ, त्यसरी नै काठमाडौँ उपत्यकामा संक्रमितको संख्या पनि अत्यधिक मात्रमा बढ्दै छ। त्यस्तै नेपालभरिका संक्रमित र काठमाडौँ उपत्यका का संक्रमितका संख्या नाप्ने हो भने त्यसको अनुपात पनि तलको चित्रमा देखाए जस्तै काठमाडौँमा अत्यधिक छ ।

चित्रमा निला बारहरुले नेपालभरिको संक्रमित संख्या देखाउँछ भने रातो रेखाले काठमाडौँ उपत्यकाभित्रको संक्रमितको संख्या देखाउँछ । गत एक महिनाको तथ्यांक केलाउने हो भने सुरुमा नेपाल र काठमाडौँको संक्रमित अनुपात करीब ३६% थियो अर्थात् देशको कुल संक्रमितको ३६% काठमाडौँ उपत्यकामा थिए भने हाल त्यो अनुपात बढेर औसत करीब ६०% भएको छ। यसले के देखाउँछ भने काठमाडौँ उपत्यका क्रमसः कोरोनाको केन्द्र बन्दै गएको छ ।

उमेर समूह र लिङ्ग अनुसार नेपालका  संक्रमितहरुलाई केलाउने हो भने नेपालमा जवान उमेर समूहकाहरु बढी संक्रमित देखिन्छन् जुन राम्रो संकेत हो। नेपाल सरकारले उपलब्ध गराएको तथ्यांक केलाउने हो भने २० देखि ६० वर्षसम्मका संक्रमितको अनुपात करीब ८२% छ भने बाँकि २० वर्षभन्दा मुनिका र ६० वर्षभन्दा माथिका संक्रमितको अनुपात मात्र १८% छ। बढी उमेरका बिरामीमा कोरोनाको समस्या पनि ज्यादा हुन्छ भने जवान उमेरकाहरुलाई कोरोनाको समस्या कम भई चाँडै निको हुने सम्भावना हुन्छ। यसै कारणले नेपालको कोरोना मृत्यूदर न्यून छ, करीब ०.६% मात्रै जुन अमेरिकामा करीब २.७२% र बेलायतमा करीब ६.६% छ।

त्यस्तै नेपालमा महिला र पुरुष संक्रमितको अनुपात पनि फरक फरक देखिँदै आएको छ। कोरोना प्यानडेमिकको सुरुवाती दिनहरुमा करीब ५% मात्रै महिला हुन्थे भने बाँकी ९५% पुरुष हुन्थे, त्यसको कारण विदेशमा रोजगार गर्नेहरु, जो स्वदेश फर्के, तिनीहरु अत्यधिक पुरुषहरु नै थिए। तर अहिले नेपलको कोरोना  लिङ्ग अनुपात परिबर्तन हुँदै गएको छ। अहिलको कोरोना लिङ्ग औसत अनुपात महिला करीब ३०% र पुरुष ७०% रहेको छ । गत एक महिनाको सरकारी तथ्यांक केलाउने हो भने महिला अनुपात बिस्तारै बढ्दै गई हाल करीब ३५% पुगेको छ।

ओर्ल्डोमिटर  (Worldometers.info) का अनुसार  यसरी केही महिना अघिसम्म नेपाल विश्वको कोरोनाले संक्रमितको संख्याको हिसाबले १००औं भन्दा तलको स्थानमा थियो भने त्यसपछि संक्रमितको संख्या बढेसँगै नेपालको स्थान पनि माथि उक्लिँदै गयो । करिब एक महिना अगाडि नेपालको स्थान १००औं बाट माथि उक्लेर ७०औं सम्म आइपुगेको थियो भने अहिले पछिल्लो समयमा नेपाल माथि उक्लिने क्रम जारी नै रही नेपालको स्थान ३८औं मा पुगेको छ। यसले पनि नेपाल हाल विश्वमै कोरोनाको केन्द्र बिन्दुहरु मध्ये एक भइरहेको कुरा स्पष्ट देखाउँछ।

कोरोना प्यानडेमिक नेपालमा हाल कुन चरणमा छ भन्ने कुरा सबैको लागि एक चासोको बिषय बनेको छ। सरकारी श्रोतले एउटा भन्छ भने सम्बन्धित बिज्ञहरु अर्कै। वास्तबमा यो कुरा यकिनका साथ् भन्न गाह्रो छ र औसतमा भन्न मिल्ने कुरा पनि होइन। WHOले संसारका अमेरिका लगायत थुप्रै यूरोपियन र अन्य मुलुकहरुलाई समुदायस्तरको संक्रमण (Community Transmission) मा राखेको छ भने केही राष्ट्रहरुलाई सामूहिक संक्रमण (Clusters of cases) जुन दोस्रो चरण हो, त्यसमा राखेको छ। WHOका अनुसार  बंगलादेश बाहेक भारत, नेपाल लगायत दक्षिण एसियाका अन्य सबै मुलक दोस्रो चरणमा परेका छन्। त्यस अर्थमा नेपालमा समुदायस्तरको संक्रमण सुरु भइसक्यो भन्नु गलत हुन्छ। तर कोरोना संक्रमणको प्रबृत्तिलाई नजिकबाट हेर्ने हो भने  यो दोस्रो चरणबाट तेस्रो चरणमा जान लागेको हो कि भन्ने अनुमान चाहिं गर्न सकिन्छ। माथि उल्लेख गरिए जस्तै कोरोनाका संक्रमित मध्ये महिलाको अनुपात बढ्दै जानु, उमेर समूहको हिसाबले हेर्दा विभिन्न समूहमा कोरोनाका संक्रमित बढ्दै जानु , एक चोटी कोरोना संक्रमित सुन्ना भैसकेको ठाउँहरु जस्तै हुम्ला, मुगु, डोल्पा, मुस्तांग, मनाङ्ग, भोजपुर, ओखलढुंगा, धनकुटा आदि जिल्लाहरुमा फेरि नयाँ संक्रमित देखा पर्नु जस्ता कुराहरुले नेपालमा कोरोना केही समूहमा मात्रै सीमित छैन भन्ने देखाउँछ। यदि कोरोनाको प्यानडेमिक नेपालमा यसरी नै अगाडि बढ्दै गएमा नेपालमा पनि प्यानडेमिक तेस्रो चरण अर्थात् सामुदायिक स्तरको संक्रमण (Community Transmission)मा   प्रवेश गर्न सक्दछ जुन निकै घातक सिद्ध हुन सक्दछ।

यस लेखको उद्देश्य कोरोना सम्बन्धी तथ्यांकलाई सही रुपमा पस्किनु हो नकि बढाइचढाइ गर्नु । यस लेखलाई राम्ररी पढी कोरोनाका बारेमा चिन्तन मनन गर्नु जरुरी छ नकि चिन्ता गरी तनाबपूर्ण हुनु । कोरोनाका लागि नेपाल सरकारको मात्र प्रयास काफी छैन । नेपाल एक कम बिकसित राष्ट्र तथा श्रोत र साधन कमी भएको देश भएको हुनाले यहाँको स्वास्थ्य सेवा पनि अति कमजोर छ। यूरोप, अमेरिका र भारतमा जत्तिको कोरोनाको महामारी नेपालमा पनि हुन गएमा त्यसको भार नेपालले थेग्न सक्ने सम्भावना अति न्यून छ। तसर्थ सम्पूर्ण नेपाली जनता मिली एक जुट भई आफ्नो टोल, समुदाय र बाटोमा अनावश्यक भिडभाड नगरी आफू पनि सुरक्षित रही आफ्नो परिवार तथा अरुलाई पनि सुरक्षित राख्नु एक असल नागरिकको पहिचान र कर्तब्य मात्र नभई एक सामाजिक उत्तरदायित्व र अनुशासन पनि हो।

(ललितपुरस्थित बीएन्डबी अस्पतालका चिफ न्यूरोसर्जन तथा कोभिड ज्ञाता श्रेष्ठले एमडी र पीएचडी गरेका छन्।)

असोज ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्