हिमालपारीको गाउँ लिमीमा पहिलो पटक स्वास्थ्‍यकर्मी आफै पुगेर उपचार गर्दै

सिमकोट-औषधि र स्वास्थ्यकर्मी बिरलै पुग्‍ने हिमालपारीको गाउँ लिमीका गाउँगाउँमै पुगेर पहिलो पटक उपार गर्न थालिएको छ।

स्वास्थ्यकर्मी नियमित बस्नु र औषधीको ब्यबस्था हुन थालेपछि गाउँगाउँमा स्वास्थ्यकर्मी पुगेर दुर्गमका बस्तीमा उपचार दिन संभव भएको हो।

नाम्खा गाउँपालिका वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीको तील गाउँकी ६३ वर्षकी छिरिङबुटी तामाङले पहिलो पटक स्वास्थ्यकर्मीसंग चेकजाँच गर्न पाइन्। दम तथा छाती दुख्ने रोगबाट पिडित तामाङले ज्वरो, प्रेशर जाँच गरेपछि स्वास्थ्यकर्मीको सल्लाह अनुसार एक हप्ताका लागि आबश्यक औषधी लिएर घर फर्किएको बताइन्।

पहिलो पटक दुर्गमको बस्तीमा स्वास्थ्यकमीं (डाक्टर) आएको बताउदै उहाँले यसअघि हल्जी गाउँमा रहेको स्वास्थ्य चौकी, सदरमुकाम सिमकोट आउने आफन्त वा चीनको ताक्लाकोटबाट औषधी झिकाएर प्रयोग गर्नु पर्ने अबस्था थियो।

यसरी आफ्नै घर आगनमा चेकजाँच गर्ने उपकरण सहित स्वास्थ्यकर्मीबाट उपचार पाएपछि लिमीका स्थानीय सबै खुसी छन्। आगनमा बसेका स्वास्थ्यकर्मीसंग उपचार गर्ने अर्की ६० वर्षकी छाम्जोर लामा पनि थिइन्।

उनले यसरी घर आगन मै उपचार गरेको दोस्रो पटक भएछ । यसअघि लामाले पनि औषधीका चक्कीबाट मात्रै उपचार गर्दै आएकी थिईन । लिमीका गाउँमा जनप्रतिनिधिको उपस्थिती बढ्नु र स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नियमित रुपमा बस्ने ब्यबस्था गरिएपछि गाउँगाउँमा उपार संभव भएको हो।

यसरी गाउँघरमै उपचार पाउनु हुनेमा उनीहरु दुई जना मात्र नभई लिमीको १८० घरधुरीका सात सय भन्दा बढी जनसंख्या रहेको छ । भाषाको समस्या हुने लिमीका गाउँमा उपचारका बेला एक जना खावा ( दोभाषे ) आबश्यकता पर्छ । त्यसपछि मात्रै उनीहरुको उपचार गर्न सम्भव हुन्छ।

गत असारयता नियमित रुपमा लिमीको हल्जी गाउँमा रहेको स्वास्थ्य चौकीमा बसेर उपचार दिन सुरु गरिएको चौकी इन्चार्ज गोर्ख भण्डारीले बताए । स्वास्थ्य चौकीबाट लिमीका तीन गाउँ मध्य तील पुग्न तीन घण्टा र जाङ गाउँ पुग्न साढे तीन घण्टा लाग्ने गर्छ । उनले बिरामीहरु यति लामो बाटो हिड्न संभब नदेखिएपछि गाउँमै पुगेर उपचार गर्न थालिएको बताए।

संघियताको कार्यान्वयन अघि लिमीमा जिल्ला अस्पतालबाट वर्षमा एक पटक स्वास्थ्यकर्मी पुग्ने गर्थे। स्वास्थ्य चौकीमा एचए र अन्य दुई जना स्वास्थ्यकर्मीको ब्यबस्था भएपछि गाउँगाउँमा उपचार गर्न संभव भएको होे । लिमीका तीन गाउँमा साठी देखि ७० वर्ष उमेर समुहका बिरामीहरु बढी हुने गरेका छन्।

उनीहरुले केही जेष्ठ नागरिकलाई घरमै गएर पनि उपचार दिन थालेका छन् । गाउँपालिका उपाध्यक्ष पेमा लामाले गाउँमा जाने क्रममा बिरामीको गुनासो सुन्न थालिए स्वास्थ्यकर्मी ब्यबस्था गरेर गाउँ गाउँमा पठाउन थालिएको बताए।

उनले गत वर्षसम्म लिमीमा स्वास्थ्यकर्मीको उपस्थिती अनुगमन गर्न गए जस्तो हुने बताउदै यो वर्षबाट त्यो सिस्टम पुर्ण रुपमा परिवर्तन गरि नियमित बस्ने ब्यबस्था गरिएको बताए। बिरामीलाई उपचार गर्न र दिएको औषधी नियमित सेवन गर्ने काममा लाग्न हौस्याउदै दिए उपचारका बेला सहभागी कर्णाली प्रदेश सभा प्रतिपक्ष दलका नेता जीवन बहादुर शाही ।

असोज ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्