कोरोनालाई लत्‍याउँदै जनता समाजवादीले गर्‍यो धनुषामा पार्टी प्रवेश कार्यक्रम, नेतामन्त्रीकै छैन सामाजिक दूरी

जनकपुरधाम-कोरोना महामारीका बीच जनता समाजवादी पार्टीले स्थानीय प्रशासनको नियम लत्‍याउँदै पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ।

शुक्रबार धनुषाको सबैलामा हजारौँको संख्यामा मानिसलाई जम्मा गर्दै जनता सामाजवादी पार्टीले पार्टी प्रवेशको कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा जसपाका वरिष्ठ नेता राजेन्द्र महतो प्रमुख आतिथिका रुपमा थिए भने प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्त्री नबल किशोर साह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नरेश राय, कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, संघिय सांसद अनिल कुमार झा, उमाशंकर अरगरिया, प्रदेश सांसद मनिष सुमन, सुरिता साह, रामअशिष यादव, परमेश्वर साह लगायत केन्द्रीय तथा जिल्लाका नेताहरु अतिथि भएका थिए। तर उनीहरुबीचमा कुनै सामाजिक दूरी थिएन।

यता, कोरोनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नवरात्रका समयमा शक्तिपिठ तथा मठमन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाउन निर्देशन दिएको छ। तर आज नै धनुषाको सबैलामा हजारौँको संख्यामा मानिसलाई जम्मा गर्दै जनता सामाजवादी पार्टीले पार्टी प्रवेशको कार्यक्रम आयोजना गर्दा त्यसलाई प्रशासनले कुनै रोकटोक गरेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले पार्टी प्रवेशको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए। उनले भने, ‘कहाँ पार्टी प्रवेश भइरहेको छ मलाई भन्नुस् अहिले नै बन्द गराउँछु।’

यस भन्दा केहि दिन पहिले पूर्व मन्त्री एवं नेकपा नेता मातृका यादवको अगुवाईमा समेत भिडभाड गरेर पार्टी प्रवेश गराउँदा समेत प्रशासनले कुनै रोकटोक गरेको थिएन्।

असोज ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्