औषत भन्दा बढी वर्षा भएको मनसुन चार मिहनापछि बाहिरियो

फाइल तस्बिर

काठमाडौँ – औषत भन्दा बढी वर्षा भएको मनसुन नेपलाबाट बाहिरिएको छ। गएको जेठ ३० गते पूर्वबाट नेपाल भित्रिएको मनसुन शुक्रबार (अशोज ३० गते) बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि–मनसुनदेखि नै लगातार जस्तो वर्षा भएको थियो । मनसुन भित्रिएयता लगातारजस्तो सक्रिय रहँदा यो वर्ष औषत भन्दा बढी वर्षा भएको मौसमविद शान्ति कँडेलले जानकारी दिएकी छन् ।

‘देशभर औषतमा विगतका वर्षको भन्दा बढी वर्षा भएको छ’ उनले भनिन्, ‘देशका केही स्टेशनमा औषत वा त्यो भन्दा कम वर्षा भए पनि देशभरको समग्र वर्षाको अवस्था भने यो मनसुनमा औषत भन्दा बढी नै रह्यो ।’

मनसुन अवधिमा कति वर्षा भयो भन्ने विस्तृत विवरण संकलनको काम भइरहेको उनले जानकारी दिइन्।

गएको जेठ ३० गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको यस वर्षको मनसुन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को पश्चिमका केही भू–भागबाट अशोज १५ गते नै बहिर्गमन भएको थियो । अशोज ३० गते शुक्रबार अर्थात भित्रिएको ठ्याक्कै चार महिनापछि देशको सम्पूर्ण भू–भागवाट यस वर्षको मनसुन बाहिरिएको हो ।

देशभरको मौसम कस्तो रहला?

देशमा अहिले उल्लेखनीय मौसमी प्रणाली छैन । हाल प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहको छ ।

शनिबार दिउँसो प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने मौसमविदले बताएका छन् । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कात्तिक १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्