गाउँको विकास

‘डोजरले गर्ने काम हामीलाई दिइयोस्’

दाङ – साँझ बिहान छाक जुटाउन समेत समस्या छ। यसैमा चाडपर्व आउँदैछन् । केटाकेटीले मिठो मसिनो खान खोज्लान्। कसरी खर्च जुटाउने निर्मला घर्तीलाई पिरमाथि पिर थपिएको छ।

ज्याला मजदुरी गर्न टाढा जान सक्ने अवस्था छैन। गाउँमा भनेको समयमा काम पाइँदैन । तर, निर्मलालाई यसपाली गाउँमै काम भेटिएको छ ।

तटबन्ध गर्ने काममा मजदुरको रुपमा निर्मलाले काम पाएकी हुन्। ‘कसरी खर्चपर्च जुटाउने समस्या छ । सधैँ काम भेटिए राम्रो हुन्थ्यो’ निर्मलाले भनिन्,‘यसपालि दसैँलाई खर्च जुटाउने काम भेटियो । गाउँमा आउने विकासको काममा डोजर होइन, गाउँका मान्छे लगाउने भए कति राम्रो हुने थियो ।’

यसपालिकाको वर्षामा मुसोट खोलाले बाटो कटान गर्न थाल्यो । मकै छर्ने बारी र बस्ती जोखिम परेपछि गाउँलेहरुमा त्रास थपियो । यसपाली तटबन्ध गरेर बाटो र बस्ती जोगाउन नसके अर्काे वर्ष झन ठूलो क्षति हुने आँकलन गरियो । यसै वर्ष तटबन्धको लागि भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरले १० लाख रुपैयाँ बजेट उपलब्ध गरायो ।

यो बजेटबाट तटबन्धको काम गर्न स्थानीय समुदायका नागरिकलाई मजदुरको रुपमा प्रयोग गर्ने निर्णय भयो ।

‘कोरोनाले धेरै मानिसको रोजीरोटी खोसेको छ । बाहिरबाट मजदुर ल्याउने भन्दा आफ्नै गाउँका मानिसलाई संलग्न गराएर काम गर्ने योजना बनायौँ’ मुसोटका अगुवा लालकुमार रोकाले भने, ‘काम गर्न सक्ने मान्छे सबैले काम पाए । केही नभएनी दसैँमा मिठो मसिनोको जोहो गर्न सक्ने अवस्था भयो ।’

मुसोट र आसपासका गाउँका ६३ जना मानिसले तटबन्धमा काम पाएका छन् ।कोरोना फैलिएपछि मंगल गुरुङ भारत कमाउन गएनन्।

गाउँमै ज्याला मजदुरी गरेर खर्च जुटाउने गुरुङ खोलाको कटान रोक्न तटबन्ध गर्न मजदुरको रुपमा खटिएका छन् ।

‘बाहिर काम पाउन गाह्रो छ । पाइए पनि काम गर्न जान सक्ने अवस्था छैन’ गुरुङले भने,‘गाउँमै सधैँ काम पाउने वातावरण बनोस्। डोजरले गर्ने काम हामीलाई दिइयोस्।’

कात्तिक १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्