विराटनगर – शनिबारदेखि नेपालीहरुको महान चाड दसैँ सुरु भएको छ। तर, कोरोना भाइरस (कोभिड १९) का कारण यसपटक विगतझैँ मठमन्दिरमा श्रद्धालु भक्तजनको उत्साहपूर्ण उपस्थिति देखिएको छैन।

जिल्ला प्रशासन कार्यालय मोरङले नियमित पूजापाठ बाहेक मानिस भेला जम्मा हुने गरी उत्सव, भजन, किर्तन, बली लगायतका कार्य नगर्न नगराउन अनुरोध गरेको छ।

दसैँको पहिलो दिन घटस्थापनामा प्रदेश राजधानी विराटनगर तथा मोरङका मन्दिर तथा शक्तिपीठहरु सुनसान देखिएका छन्।

चाडपर्वमा संक्रमण थप बढ्न सक्ने भएकाले मानिसहरु जम्मा हुने गरीका उत्सव लगायतका कार्यक्रम नगर्न निर्देशन जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।

प्रशासनको निर्देशन अनुरुप पुजारीलाई नित्यकर्म गर्न बाहेक मन्दिरमा अन्य व्यक्तिको प्रवेश पूर्णतया बन्द गरिएको छ ।

विगतझैँ यसपटक सामूहिक जमरा राख्ने कार्यक्रम नभएको ज्योतिष पण्डित सुभाष गौतमले बताए ।

उनले यसपटक भक्तजनको घुइँचो लाग्ने मठमन्दिर तथा शक्तिपीठहरु सुनसान अवस्थामा रहेका बताए।

स्वागतद्वार बनाउँदै विगतमा दुर्गा मन्दिरहरु सजिसजावट गरी पूजापाठको लागि तयारी अवस्थामा राख्ने गरिए पनि यस वर्ष कोरोना कहरले सबै स्थगित भएका छन् ।

विराटनगरको काली मन्दिर, रानी मिल्स एरियामा रहेको माँ दुर्गा मन्दिर लगायत विभिन्न स्थानमा मूर्ति बनाएर सामूहिक रुपमा गरिँदै आएका दुर्गा पूजा गर्न प्रशासनले रोक लगाएको छ ।

प्रत्येक वर्ष विराटनगरको कालिमन्दिरमा घटस्थापनाबाटै श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्थो। तर कोरोना संक्रमण बढ्दै गएपछि ९ दिनसम्म चल्ने नौरथा समेत यस वर्ष रोकिएको छ ।

कोरोनाका कारण दसैँ महोत्सव नगर्ने निर्णय काली मन्दिर व्यवस्थापन समितिले गरेको थियो।

मन्दिरमा पुजारीले पूजापाठ गर्ने बाहेक अन्यको उपस्थिति नहुने काली मन्दिर व्यवस्थापन समितिका सदस्य गोपालप्रसाद गुप्ताले जानकारी दिए।

उनका अनुसार मन्दिर परिसरमा पशुपंक्षीको बली पनि रोकिएको छ।

यसपटक मन्दिर पुग्ने भक्तजनले भौतिक दूरी कायम गर्दै भुँइतलाबाटै देवीको स्मरणगर्दै पूजापाठ गरी फर्किनुपर्ने सदस्य गुप्ताले बताए ।

मन्दिरले आन्तरिकरुपमा भने दसैँको धार्मिक विधि विधान अनुसारका सबै कार्यक्रमहरु आयोजना गर्ने मन्दिरका मुख्य पुजारी विष्णुहरि दाहालले जानकारी दिए ।

त्यसैगरी मोरङको रंगेली नगरपालिकामा अवस्थित सन्सारीमाईस्थानको मन्दिरमा समेत कोरोना प्रभाव परेको छ ।

गतवर्ष देखि यस मन्दिरमा प्रदेश सरकारले प्रदेश स्तरीय फूलपाती बढाईका कार्यक्रम गत वर्षदेखि सुरु गरेको थियो । तर यसपटक भने फुलपाती बढाईबारे निक्र्यौल भइनसकेको व्यवस्थापन समिति अध्यक्ष सञ्जीवकुमार श्रेष्ठले बताए ।

यसविषयमा प्रदेश सरकारसँग छलफल भइरहेको उनको भनाइ छ।

कार्तिक १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्