उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग अन्तर्वार्ता

‘अहोरात्र खटिँदा पनि मैले जस पाइनँ’

काठमाडौँ- रक्षा मन्त्रालयको नेतृत्वबाट अलग्गिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आएपछि ईश्वर पोखरेलको जिम्मेवारी र अधिकारलाई लिएर अनेक अड्कलबाजी भइरहेका छन्।

खासगरी नेपाली सेनासँग तालमेल नमिलेपछि विवादबाट बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ल्याएको एकथरीको विश्लेषण छ।

तर पोखरेल बिहीबार रक्षा मन्त्रालयबाट बिदाइ भएर प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा जिम्मेवारी सम्हाल्दै गर्दा अझै उत्साहित ‘मुड’ मा रहेको सन्देश दिइरहेका थिए। आफूलाई लिएर पार्टीपंक्ति र बाहिर बढिरहेका अड्कलबाजी र आलोचना चिर्ने कोसिसको सुरुवात पनि उनले त्यसै दिन गरे।

उनले सेनासँगको विवादका विषय भने कोटट्याउन चाहेनन् तर प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आफू आउनुका कारण स्पष्ट पारेर आफ्नो पदीय महत्व घट्नुका साटो झन् बढेको घुमाउरो संकेत दिन भ्याएका छन्।

हालसम्म प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट भएका कार्यसम्पादनमा आफू सन्तुष्ट नरहेको र त्यो सुधारका लागि कर्मचारीले स्पष्ट योजना बनाउनुपर्ने र कार्यान्वयनका लागि गुनासो नभई योजना निर्माण गरी समस्या समाधानका उपायसहित आउनुपर्नेमा उनले अधिक समय जोड दिए। उनको जिम्मेवारी र योजनाबारे उनीसँग गरिएको कुराकानीको संक्षिप्त अंशः

रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तपाईँ आउनुको कारण के हो?

म रक्षा मन्त्रालयबाट प्रधानमन्त्रीको कार्यालयमा आउँदा मेरा बारेमा अनेक नकारात्मक टिप्पणी गरेको सुने र बुझेँ। वास्तवमा त्यस्तो होइन। काम गर्ने सिलसिलामा भएका कमिकमजोरीबारे विश्लेषण गर्नु स्वाभाविक हो, तर नभएका कुरालाई ठूलो बनाएर लेख्नु अस्वाभाविक विषय हो।

रक्षा मन्त्रालयमा रहँदा मेरो नेतृत्वमा मन्त्रालयले धेरै महत्वपूर्ण कामहरु गरेको छ। वास्तवमा अहिले यता प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय आउनुको उद्देश्य जनतासँग प्रत्यक्ष जोडिएका कार्यक्रमहरु प्रभावकारी बनाउनु नै हो। नेपालको इतिहासमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी पहिलो पटक नै हो मलाई यो जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री कार्यालयमा थुप्रै महत्वपूर्ण जिम्मेवारीहरु छन्। जिम्मेवारी मात्रै केन्द्रीकृत गरेर भएन, काम पनि पूरा गर्नुपर्ने आवश्यकता छ। त्यसमा प्रधानमन्त्रीको सँधै चिन्ता र चासो छ। त्यसैले जिम्मेवारी पूरा गर्न व्यवस्थितरुपमा योजना तयार गर्न म आएको हुँ। यसमा विवाद गर्नुपर्ने कुनै कारण छैन।

सेनासँग खटपट भएका कारण तपाईँ प्रधानमन्त्री कार्यालयमा आएको भन्ने पनि टिप्पणी यथावत छ? वास्तविकता के हो?

यो सय प्रतिशत नै नचाहिने कुरा हो। मेरो आलोचना गर्नेहरुको खेतीमात्रै हो। सेनासँग जोडिएको विषयमा रक्षामन्त्रालयको आफ्नो धारणा र मान्यता स्पष्ट रुपमा बाहिर ल्याइसकेको छ। अब फेरि मैले स्पष्टीकरण दिइरहन आवश्यक छैन।

कोरोना महामारी नियन्त्रणमा पनि तपाईँको भूमिका प्रभावकारी नभएको भन्ने छ। प्रधानमन्त्री नै असन्तुष्ट हुनुहुन्छ भन्ने सुनिन्छ नि?

सीसीएमसीमा रहँदा होस् या उच्चस्तरीय समितिमा रहँदा मैले आफ्नो तर्फबाट खेल्नु पर्ने भूमिकामा कुनै पनि सम्झौता गरेको छैन। अहोरात्र खटिएर काम गर्दा पनि जस पाउन नसकेको अवस्था हो। अब टिप्पणी गर्नेहरुले यस्ता अनेक विषय निकाल्छन्। त्यसमा पनि मलाई केही भन्नु छैन।

प्रधानमन्त्रीको नेतृत्वमै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा काम भइरहेका बेला तपाईँको छुट्टै आवश्यकता किन पर्‍याे?

मैले अघि पनि भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पछिल्लो समय धेरै नै महत्वपूर्ण जिम्मेवारी थपिएका छन्। जनतालाई स्पष्ट रुपमा ‘डेलिभर’ गर्ने उद्देश्यसहित ती कार्यक्रमहरुको जिम्मेवारी यो कार्यालयले लिएको छ।

ती जिम्मेवारी अलपत्र पार्दा हाम्रो सरकारप्रति कस्तो धारणा बन्ला? यहाँ स्पष्ट योजना निर्माणका विषय छन्। लगानीका विषय छन्। राजश्वका विषय छन्। सम्पत्ति शुद्धीकरणका विषय छन्। हेलो सरकारका विषय छन्। महान्याधिवक्ता कार्यालयका विषय छन्। यी तमाम विषयमा अब स्पष्ट काम गर्नुपर्ने भएको छ। प्रधानमन्त्रीसँग समन्वय गरी म र यस कार्यालयका कर्मचारीले नै यो जिम्मेवारी पूरा गर्ने हो।

मलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय हेर्ने गरी प्रधानमन्त्रीले जिम्मा दिनु भएको हो। तर प्रधामन्त्रीको निर्देशन र सल्लाहमा मैले काम गर्ने शर्त छ। मैले कर्मचारीसँग समन्वय गरेर काम गर्ने हो। मैले अघि पनि भने गन्थन र गुनासो होइन योजना निर्माण गर्ने, समस्या समाधानका उपाय अघि सार्नेमा म अब केन्द्रीत हुनेछु।

तपाईँको पद घटुवा भएको र अपमान गरिएको भन्ने टिप्पणी पनि आएका छन्। यसलाई लिएर के भन्नुहुन्छ?

दुई वर्ष सात महिना १५ दिन रक्षा मन्त्रालयमा रहेर मैले काम गर्ने अवसर पाएको छु। म प्रधानमन्त्रीसँग सल्लाह गरेर यस कार्यालयमा आएको हुँ। पहिले सरकार गठन हुने बेला नै प्रधानमन्त्री कार्यालय कोही सिनियर नेताले जिम्मा लिएको भए हुने थियो भन्ने प्रधानमन्त्रीको चाहना थियो। मैले हेरिदियोस् भन्ने चाहना बढी उहाँमा थियो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि प्रधानमन्त्रीको त्यो अपेक्षा थियो। त्यसबेलाका अनेक परिस्थिति र अड्कलका कारण हामीले धैर्य गरेको हो। यो सोचलाई पर धकेलेको हो। एक, डेढ वर्षपछि समीक्षा गर्दा पहिलेको सोचलाई कार्यान्वयनमै ल्याउनुपर्ने अवस्था आयो।

प्रधानमन्त्री कार्यालयमा थुप्रै महत्वपूर्ण जिम्मेवारीहरु छन्, त्यहाँ राजनीतिक नेतृत्व पनि बलियो हुनुपर्यो भन्ने सुझाव अन्य मन्त्रीहरुले पनि दिनुभयो। म प्रधानमन्त्रीको ‘अन विहाफमा’ काम गर्न आएको हुँ। मन्त्रीपरिषद्ले गर्ने निर्णयको आफ्नै बाटो छ। प्रधानमन्त्री त समग्रमा नेता हो। निर्देशन दिने काम उहाँको हो।

तर सुक्ष्म तरिकाले अन्य मन्त्रीहरुसँग समन्व्य गर्नका लागि कोही न कोही चाहियो। प्रदेश सरकारसँग समन्वय गर्न आवश्यक छ। जिल्ला समन्वय समितका विषय छन्। यी समितिमध्ये केही अलमलमा परेका छन्।

कोही विवादमा मुछिएका छन्। यो सबै विषय हेर्न नयाँ मन्त्रीको आवश्यकता पर्यो। २४ सै घण्टा जस्तो खटिएपनि प्रधानमन्त्रीको स्वास्थ्यलगायत केही ‘लिमिटेसन पनि छन्’। त्यो हटाउने प्रयास मैले गर्ने छु।

तर जनताले डेलिभरी खोजिरहेका छन्। जनतालाई डेलिभरी दिने काममा समन्वय गर्न म आएको हुँ। वास्तवमा मैलेनै यो व्यवस्था हुनुपर्छ भन्नेमा जोड दिएको थियो। त्यसो नगर्ने हो भने हामी अफ्ठ्यारोमा पर्छौंसमेत भनेको थिएँ।

तर प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय महत्वपूर्ण विभागहरुलाई आफ्नो मातहत ल्याएर शक्ति केन्द्रीत गरेको आलोचना भइरहेका बेला तपाईँ त्यसैका लागि आएको हो भन्ने अड्कल पनि छ?

त्यो आलोचना गर्नेहरुको काम हो। शक्ति केन्द्रीत होइन व्यवस्थित गर्नका लागि यी विभागहरु यो कार्यालय मातहत ल्याइएका हुन्। यसबारे मैले स्पष्टीकरण दिइरहन परेन। अनि मेरो आलोचना गर्नेहरु र वाम शक्तिको खेद्नेहरुको एउटा जमात छ। उनीहरुको खेतीनै त्यही हो। त्यसमा पनि मलाई कुनै टिप्पणी गर्नु छैन्।

त्यसो भए प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा के परिवर्तन हुन्छ त अब?

यहाँ म नयाँ छु। बुझ्ने अवसर पनि प्राप्त गरेको छु। अहिलेको व्यवस्थालाई अब भौतिकीकरण गर्नका लागि के के चिजमा ध्यान दिनुपर्ने हो त्यसमा केन्द्रीत हुन जरुरी छ। कुनै पनि चिज बनि बनाउ हुँदैनन्।

आवश्यकताका आधारमा बनाउनुपर्ने दायित्वमा आइपुगेको छौँ। प्रधानमन्त्री केपीशर्मा ओलीको नेतृत्वमा र निर्देशनमा हामी अघि बढ्नुपर्ने हुन्छ। प्रधानमन्त्री र मन्त्रीपरिषद्सँग सम्बन्धित कामहरुलाई स्पष्ट परिभाषित गर्न जरुरी छ।

काम सम्पन्न गर्नका लागि विधि, निर्णयहरु परिवर्तन गर्नुपर्ने कुरा होलान् ती विषयमा छलफल हुन आवश्यक छ। प्रधानमन्त्री कार्यालय मातहत आएका जिम्मेवारी प्रभावकारीरुपले कार्यान्वयन भएका छन् या छैनन् भन्ने समीक्षा गर्न आवश्यक छ। भन्नेलाई दोष नदेउ, भनाईलाई चुनौती देऊ भन्ने भनाईलाई पछ्याउन आवश्यक छ।

प्रधानमन्त्री कार्यालयमा प्रभावकारी काम नभएकामध्ये ‘हेलो सरकार’ पनि एक हो। हेलो सरकार गर्दै छ के ? उही ढलक–ढलक १२ बजे कर्मचारी आउने र चारपाँच बजे बन्द गरेर जाने यसरी कार्यक्रम प्रभावकारी हुन्छ? जिल्ला समन्वय समिति असहज, अलमल र विरोधाभाषपूर्ण अवस्थामाा छन्।

महान्यायाधिवक्ता कार्यालयको काम कारबाही पनि प्रभावकारी बनाउन आवश्यक छ। सबै जिम्मेवार साथीहरु अघि बढ्नुपर्छ। स्पष्ट संरचनामा कुरा गरेर अघि बढ्ने हो। अमुर्त कुरा गर्ने होइन।

संरचनामा कुरा गर्न चाहन्छु, नीति, योजनामा कुरा गर्न चाहन्छु। गन्थन र गुनासो होइन समस्या र समाधानका कुरा सुन्न चाहन्छु। यो सबै कामका लागि नीतिगत कुरा, कानुन, कार्यविधि र अहिलेको व्यवस्थासँग सम्बन्धी कुरा परिवर्तन गर्न चाहन्छु। यही अठोटका साथ काम गर्न चाहन्छु।

कात्तिक १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्