नेपालमा दसैँ अगाडि हलहरु खुल्ने सम्भावना शून्य

फाइल तस्बिर।

काठमाडौँ– भारतले अक्टोबर १५ देखि सिनेमा घर, नाटक घरहरु खोल्ने निर्णय गर्‍यो। भारतका विभिन्न शहरमा चरणवद्ध रुपमा कोरोना माहामारीका बीच सिनेमा घर खुल्न थालेका छन्।

सिमाना जोडिएको भारतसँग नेपालको नजिकको व्यवसायिक सम्बन्ध छ। भारतको मनोरञ्जन व्यवसाय, विशेष गरी चलचित्र र टेलिसिरियलहरु नेपालमा पनि धेरै हेरिन्छ।

त्यसैले बौद्धकी स्वस्तिका राई भारतमा हल खुलेपछि नेपालमा पनि खुल्छ कि भन्नेमा आशावादी भएकी छन्। चलचित्रको सोखिन उनी मनपर्ने ‘जनरा’का चलचित्रहरु प्रदर्शनमा आएका छन् भने मिलेसम्म हलमै पुगेर हेर्छिन्। नेपाली चलचित्रको सवालमा भने राम्रो समालोचना आएका चलचित्र मात्रै उनको हेर्ने लिस्टमा पर्छन्। पछिल्लो समय उनले हेरेको नेपाली चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ हो। कोरोना महामारीले पछिल्लो ८ महिनादेखि हलमा गएर चलचित्र हेर्ने उनको धोकोमा ताल्चा लगाइदिएको छ।

उनलाई नेपालमा हल खुल्छ भन्ने आशा लाग्नुको अर्को कारण थियो, हिन्दुहरुको महान चाड दसैँ। पारिवारिक जमघटको हिसाबमा पनि दसैँ विशेष हुन्छ। लामो बिदा हुने यो समयमा परिवार नै चलचित्र हेर्न गएको अनुभवले पनि उनलाई लाग्यो ‘दशैँमा त हल पक्का खुल्छ।’

खुल्छ त?


विश्वव्यापी रुपमा फैलिएको महामारी ‘कोभिड–१९’को प्रभाव नेपालमा चैत महिनामा देखिन थाल्यो। माघ ९ गते नेपालमा पहिलो कोरोना केस देखिए पनि चैत महिनाबाट कोरोना संक्रमितको संख्या बढ्न थाल्यो। सरकारले लकडाउन घोषणा गर्नुपूर्व सार्वजनिक कार्यक्रमहरुमा जमघटलाई निषेध गरेको थियो। त्यसैले २०७६ का फागुनको २३ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शनको मुखैमा आएर चलचित्र प्रदर्शन रोकियो। यस्तै चलचित्र ‘हिजो आजका कुरा’, ठूलो लगानीमा बनेको चलचित्र ‘प्रेम गीत ३’ लगायत थुप्रै चलचित्रको प्रदर्शन रोकियो।

सरकारले श्रेणीगत रुपमा अन्य क्षेत्रहरु, व्यापार व्यवसाय, सरकारी कार्यालय, सवारीसाधन चल्नको लागि मापदण्ड बनाएर काम गर्‍यो। पहिलो पल्टको लकडाउन अन्त्य भएपछि जनजीवन सामान्य हुन लाग्दा चलचित्र क्षेत्र भने शान्त नै रह्यो। सरकारले होटलहरुलाई खुल्ने अनुमति दिए पनि चलचित्र छायांकनको लागि कुनै मापदण्ड बनाएको थिएन र हल सञ्चालनको लागि पनि अनुमति दिएको थिएन। तर पनि कलाकार केही म्युजिक भिडियोमा काम गर्न थाले र केही चलचित्रको निर्माण घोषणा भयो। केही अभिनेता अभिनेत्रीहरुले नयाँ चलचित्रमा काम गर्नलाई सम्झौता गरेको खबरहरु सार्वजनिक भए।

साउनपछि नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। र दोस्रो चरणको लकडाउनपछि सावधानी अपनाउने सर्तमा सरकारको अनुरोध तोडेर अरु व्यवसायीहरु काम गर्न थालेको देखिए पनि चलचित्र क्षेत्र सुनसान छ।

चलचित्र विकास बोर्डले चलचित्र क्षेत्र सुचारु गर्नु पर्‍यो भनेर सरकारलाई घच्घच्याइरहेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए। उनले भने, ‘विकास बोर्डले एक महिना अगाडि नै हल सञ्चालनको मोडालिटी सीसीएमसीमा बुझाइसकेको छ। उहाँहरुको तर्फबाट निर्णय आउन बाँकी रहेको छ।’

दाहालका अनुसार विकास बोर्डले चलचित्र प्रदर्शनका लागि तयारी गर्दै गरेका तर कोरोनाले रोकेका चलचित्रलाई प्रचार, प्रदर्शनमा सहयोग गर्ने व्यवस्था पनि मिलाइएको बताए। ‘सरकारले हल सञ्चालन गर्न अनुमति दिएपछि प्रदर्शन हुने चलचित्रको प्रचारका लागि लागि निजी तथा सरकारी सञ्चारमाध्यममा भारी छुट दिन सहजिकरण गर्दैछौँ,’ उनले भने, ‘सबै क्षेत्र खुलेपछि चलचित्र क्षेत्र पनि खुल्नुपर्छ भनेर चलचित्र संघ, निर्माता संघले सिसिएमसीको मिटिङमा पेश गरेको छौँ। स्वास्थ्यको मापदण्ड अपनाउँदै छायाँकन गर्ने हामीले माग गरेका छौँ।’

बोर्डले सीसीएमसीमा मोडालिटी पेश गर्‍यो। दाहालका अनुसार सरकार सकारात्मक छ। सीसीएमसी स्रोतले निर्णय आउने प्रक्रियामा रहेको जानकारी गराएको छ। कहिलेदेखि सञ्चालनमा ल्याउने भनेर टुंगो नभएको स्रोतले जानकारी दिएको छ। उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्नुले सरकारलाई अलमत भइरहेको उनले बताए। सीसीएमसीको बैठकले सम्बन्धित निकायले नै यसमा विस्तृत छलफल गरेर मापदण्ड ल्याउने भनेको उनले बताए।

सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्याल भन्छन्, ‘सोचाई सकारात्मक छ तर उपत्यकामा संक्रमण ह्वात्त बढेकोले के गर्ने भन्ने अन्यौल भइरहेको अवस्था हो।’ बस्यालका अनुसार कोरोना संक्रमितको संख्या बढेकोले निर्णय लिन गाह्रो भएको छ। संक्रमण दर कम हुने बित्तिकै हल खोल्ने नीति आउँछ।

हल सञ्चालक के भन्छन्?


चलचित्रकर्मी तथा हल सञ्चालक प्रदिप उदय भन्छन्, ‘सरकारले हल किन सञ्चालन नगरेको ठोस कारण दिएन।’ दसैँ चलचित्र क्षेत्रको लागि व्यापार हुने समय हो तर हामीलाई हल सञ्चालनको लागि निर्णय नगर्दा हल साहुहरु मर्कामा परेको उनले बताए। उनी भन्छन्, ‘हामी स्वास्थ्य सुरक्षाको सबै मापदण्ड अपनाउन हामी तयार थियौँ तर सरकारले दबाबको भाषा बुझ्छ। हाम्रो खर्बौ लगानी डुबेको छ।’

भारतमा अहिले सञ्चालन भएका सिनेमा हलमा पुराना चलचित्र प्रदर्शन भइरहेका छन्। भारतमा लकडाउन अगाडि बनेका चलचित्रहरु डिजिटल प्लेटफर्ममार्फत प्रर्दशन भइरहेका छन्। क्यू सिनेमा हलका सञ्चालक सुमित मैनाली पुराना चलचित्र प्रदर्शन गरेर हल सञ्चालनमा ल्याउने पक्षमा छैनन्।

उनी भन्छन्, ‘अहिले हल सञ्चालनमा नै आएपनि मान्छे आउँदैनन्। सत्य के हो भने हाम्रा हलहरु विदेशी चलचित्र प्रदर्शन बिना बाँच्न सक्ने आधार बनिसकेको छैन। अहिले हल सञ्चालन गर्ने निर्णय हल व्यवसायीलाई झन् डुबाउने काम हो।’

मैनालीका अनुसार हल सञ्चालन भइहालेमा पनि दर्शक हलमा आउने सम्भावना कम छ। एक सीट खाली राख्ने नीति यसैपनि कम मानिस हलमा आउँछन्। उनीहरुको लागि हलका सबै म्यानपावर खटिनु पर्‍यो, अनि बत्ति, एसी सबै चलाउनु पर्‍यो। दर्शक कम आएपछि हलले आफ्नो खर्च उठाउन सक्दैन, उल्टै घाटा लाग्छ।

छायांकन सक्काएर बसेका निर्माताहरु पनि चलचित्र हल खुलेपनि हल चलाउने मनसायमा छैनन्, ‘म यस्तो गीत गाउँछु–२’ का निर्माता सुदर्शन थापा भन्छन्, ‘नयाँ चलचित्र चलाउने वातावरण नै छैन।’ उनका अनुसार सामाजिक दूरी कायम गरेर चलचित्र प्रदर्शन गरेमा उनीहरुको लगानी प्रभावित हुन्छ। कि त दर्शकले हलमा चलचित्र हेर्नको लागि बढी पैसा तिर्न सक्नु पर्छ। तर कोरोना भाइरस महामारीले समस्या निकालिरहेको बेलामा हलमा दर्शक आउने सम्भावना नै कम भएकोमा आफू जोखिम मोल्ने पक्षमा थापा देख्दैनन्।

दसैँ अगाडि सम्भावना शून्य


नेपालमा सिंगल र मल्टिप्लेक्स गरी २०० भन्दा बढी हलहरु रहेका छन्। त्यसमा काम गर्ने कर्मचारीहरु कोरोना आएदेखि बेरोजगार। दसैँ चलचित्र व्यापारको लागि राम्रो समय भएपनि दसैँ अगाडि खोल्न असम्भव भएको क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगा बताउँछन्। उनी भन्छन्, ‘हामी सरकारको आदेश कुरेर बसेका छौँ। तर कहिले खोल्ने ठेगान भएको छैन। त्यसैले दसैँ अगाडि नहोला।’

उनले संक्रमण बढ्दै गएकोले हल चल्न पनि गाह्रो हुने बताए। तर लामो समय बन्द भएका कारण घर गएका कर्मचारी यहाँ आएर काम गर्न गारो भएको उनी भन्छन्। ‘हामीलाई अहिले खोल भनेर निर्णय गरेपनि तयारी गर्नलाई दुई साता त लाग्छ नै। त्यसैले तिहार अगाडि नै होला।’

उनी भन्छन्, ‘यसको लागि चलचित्र पनि नयाँ चाहियो। नेपालका चलचित्रहरु नयाँ निर्माताले दिनेवाला छैनन्, खोल्न समस्या भएन तर चलचित्र पनि हुनपर्छ नत्र उल्टै घाटा लाग्छ।’

कार्तिक १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्