बलात्कार विरुद्ध माइतीघरमा प्रदर्शनमा सहभागी युवती । तस्बिर : वर्षा शाह/देश सञ्चार

‘आक्रोश छैन । रिस उठ्न छाडिसक्यो ।

अब त मात्रै डर छ । अनि लाज लाग्न थालेको छ राज्य देखेर । हुनु पर्ने त राज्यले नागरिकलाई देख्नु पर्ने हो ।

सन्तान हुन् नागरिक राज्यका, उसले आफ्ना लालाबालाको ख्याल गर्नु पर्ने हो । अप्ठ्यारोमा म छु, आत्तिनु पर्दैन भन्नु पर्ने हो ।

अन्यायमा पर्दैनौ, न्याय हुन्छ सबैलाई, पीडक उम्किन पाउँदैनन्, सजाय हुन्छ भन्ने विश्वास दिलाउनु पर्ने हो ।

तर यी सबै पर्ने हो मै सीमित भएका छन् । कतै राज्य छ जस्तो नै भएन । जति रिसाए पनि, जस्तो आक्रोश देखाए पनि अभिभावकले सुनेन, बुझेन र शायद बुझ्न चाहेन नागरिकका पीडा ।

लाग्न थाल्यो कानमा तेल हालेर बसेको छ, र उ आफ्नै धुनमा मस्त छ । नागरिकले जीवनको लय गुमाएको, त्रसित भएको र अन्यायमा परेको उसलाई पत्तै छैन ।

सानी बालिकामाथि बलात्कार हुन्छ । राज्यले थाहा पाउँदैन । उनको हत्या हुन्छ । राज्य मौन बस्छ । अपराधी खुलेआम छन्, पीडित थिचिएका छन् उठ्नै नसकिने अत्याचारहरुले ।

आक्रोश नआएका हैनन् । धेरै पोखियो पनि । तर अब त आफू र अरुहरुका लागि डर अनि राज्यसँग लाज मात्रै लाग्छ ।’

भावना राउतले भनेकी हुन् यो सबै । २१ वर्षकी भावना पत्रकारिताकी विद्यार्थी हुन् र सामाजिक अभियानमा सक्रिय छिन् । खोज पत्रकारितामा उच्च शिक्षा लिने योजना सुनाएकी उनलाई त्योसँगै न्यायको भोक पनि टड्कारो छ ।

आक्रोश छैन भनेकी भावनाले निराशा व्यक्त गरिन्, ‘नागरिकले चुनेर पठाएको व्यक्ति (राष्ट्रियसभा सदस्य) ले राष्ट्रियस्तरको टेलिभिजनमा १८ वर्ष भन्दामाथिको बलात्कारलाई इन्जोएमेन्ट भन्छन्। नागरिक चुप लागेर बस्छन् । प्रतिनिधिले त्यस्तो बोल्दा पीडितलाई कस्तो भयो होला, कसैले बुझेको छैन ।’

शासन सत्ता र त्यसको प्रणालीमै समस्या रहेको बताउने भावनाले भनिन्, ‘राज्य नागरिकको प्रतिबिम्ब हो । नागरिक जस्तो छन्, राज्यको शासन सत्तामा त्यसकै झलक देखिन्छ । परिवर्तनका लागि नागरिकले आफैलाई परिमार्जन गर्नु पर्छ ।’

‘बलात्कार व्यक्तिमा होइन, प्रणालीमै छ’


पछिल्लो समय बलात्कार तथा बलात्कारपछि हत्याका घटना बढ्दै जाँदा ती खबरहरुले नराम्रोसँग चिमोटेको छ भावनालाई । सामाजिक विषयमा बोल्ने गरेकी उनी र उनका केही साथीहरु मिलेर हालै बलात्कारविरुद्धको अभियान थालेका छन्–अझै कति सहने?

उनीहरुले सोही अभियान अन्तर्गत गएको हप्ता ‘विरोध प्रदर्शनको प्रमुख थलो–माइतीघर मण्डला’ मा आफ्नो आवाज मुखरित गरे । कालो पहिरनमा आएका उनीहरुले झ्याली बजाउँदै ‘परेड’ शैलीमा गीत गाए । गीत आक्रोशको थियो, गीतमा आरोप र प्रश्नहरु थिए । उनीहरुले सबैतिर औँला तेर्स्याएर भने–बलात्कारी हो तँ !

दक्षिण अमेरिकी देश चिलेमा महिलाहरुले बलात्कार तथा यौन हिंसाविरुद्ध सुरु गरेको अभियानका लागि बनाइएको गीत शैलीको विरोधका स्वरहरु अहिले विश्वका विभिन्न देशमा पुगेको छ । सो अभियानले नेपालमा पनि आफ्नो आकार लिएको छ र त्यसको अग्रमोर्चामा भावनासहितका युवतीहरु र केही युवाहरु छन् ।

चिलेको गीतलाई नेपालीमा अनुवाद गरे, नेवारी झ्यालीमा ताल मिलाएर माइतीघरमा उनीहरुले गीत र नृत्यसहितको विरोध प्रस्तुत गरे ।

‘छोटो समयको तयारीमा गीत नेपालीमा अनुवाद गरी झ्यालीमा ताल मिलाएर हामीले प्रदर्शन गरेका हौँ’ अहिले कुराकानीको केन्द्रमा रहेको अभियानबारे भावनाले भनिन्, ‘सबै साथीभाइ हौँ, एकअर्काले आफ्ना केही साथी जम्मा पारेर त्यो प्रदर्शन गरेका थियौँ । झ्यालीका लागि सामाजिक सञ्जालमा सहयोगका लागि पोस्ट गरेका थियौँ, भक्तपुरको टोलीले इच्छा देखायो र हामी उहाँहरुसँग जोडियौँ ।’

माइतीघरको प्रदर्शन फरक शैलीको थियो, चर्चा भयो । त्यसपछि उनीहरुले नेपालीमा रुपान्तरित चिलेको गीत ‘बलात्कारी हो तँ’ रेकर्ड गराएका छन् ।

भक्तपुरको सिरुटारको लुः निभा धिमे खलका युवायुवतीले झ्याली बजाए, अझै कति सहने अभियानका केहीले गीत गाए । रेकर्ड भएको गीत सोही प्रकारको आन्दोलन गर्न चाहने देशभरका अभियन्तालाई उपलब्ध गराउने भावनाले बताइन् ।

भावनाले भनिन्, ‘हामीले बलात्कारी होस् तँ भनेर कुनै एक व्यक्तिलाई भनेका होइनौँ । बलात्कार समाजमा छ, राज्यमा छ र राज्यका हरेक प्रणालीहरुमा छ । हामीले बिम्बका रुपमा तँ भनेर ती सबै संरचनामाथि प्रश्न गरेका हौँ ।’

तर आफूहरुले प्रतिकात्मक रुपमा प्रयोग गरेको गीतलाई केहीले व्यक्तिगत रुपमा लिएको पाएको उनले बताइन् ।

‘औँला तेर्स्याएर बलात्कारी हो तँ भनेपछि धेरैलाई व्यक्तिगत रुपमा परेछ’, उनले भनिन्, ‘हामीले व्यक्तिलाई भनेकै होइन, व्यवस्थालाई भनेको हो । व्यक्ति–व्यक्ति मिलेर समाज बन्छ, अनि समाजको समग्र रुप देश । समाजमै बलात्कार व्याप्त छ, राज्यको प्रणालीमा पनि । हामीले त्यसलाई भनेका हौँ ।’

पीडितले न्यायको प्रक्रियामा जाने क्रममा धेरै ठाउँमा पुनः ‘बलात्कार’ को सिकार (सो घटना बारम्बार सबिस्तार बताउनु पर्ने बाध्यताका कारण) बन्नु पर्ने अवस्था रहेकाले व्यक्तिमा रहेको बलात्कारी भन्दा राज्य व्यवस्थाको प्रणालीमा रहेको बलात्कारी प्रवृत्ति घातक रहेको भावनाले बताइन् । ‘हामी त्यो प्रणालीमाथि प्रश्न गरिरहेका छौँ’ उनले भनिन् ।

‘मेल इगोमा हिर्काए छ’

बलात्कार होस् तँ, गीतमा प्रदर्शन गर्दै युवतीहरु। तस्बिर : वर्षा शाह/देश सञ्चार

‘अपराधिको लिङ्ग हुँदैन । बलात्कारीको पनि लिङ्ग हुँदैन । महिलाबाट पनि पुरुषमाथि बलात्कार हुन सक्छ । तर अधिकांश रुपमा पृतिसत्तामा बाँधिएको सामाजिक संरचनामा रहेका कारण महिलाहरु बढी प्रभावित भएका छन् ।’ भावनाले भनिन्, ‘तर बलात्कारी हो तँ भन्दा धेरैले व्यक्तिगत रुपमा लिनु भएछ । यसले पृतिसत्ताले दिएको मेल इगोलाई हिर्काए छ ।’

जबसम्म औँला आफूतिर फर्किँदैन, तबसम्म मान्छे झस्किँदैन । ‘दोष अरु तिर देखाएर उम्किने बानी परेका हामीलाई समस्या तिमी मै छ है भन्दा गाह्रो भएको हो । तर हरेक व्यक्तिलाई झकझक्याउनु पर्ने बेला आएको छ । दोष दिने गरेको समाजका सदस्यहरु सचेत भएपछि त समाज सजग हुन्छ अनि प्रणालीमा रहेको अव्यवस्था परिवर्तन गर्न सकिन्छ ।’

अझै कति सहने अभियानको ‘कोर टिम’ का एक सदस्य हुन् सस्मित पोखरेल । कानूनका विद्यार्थी तथा कानूनी सेवामा सक्रिय रहेका सस्मितको इगोलाई भने त्यो बेला हिर्काउँछ जब महिलामाथि हिंसा हुन्छ । त्यो बेला आफू कमजोर भएको ठान्छन् उनी ।

‘महिलावादलाई सामान्य रुपमा पुरुषलाई दोषी देखाउन वा होच्याउन ल्याएको अवधारणाका रुपमा बुझियो । वास्तविकता त्यो होइन, यो त पितृसत्ताका कारण पछि परेका महिलाहरुलाई सशक्तिकरण गरी माथि उठाउने उत्तम अवधारणा हो ।’

उनले भने, ‘समस्या छ भनेर स्वीकार गरियो भने मात्र समाधान गर्न सकिन्छ । पितृसत्ताका कारण समस्या छ, त्यसले निम्त्याएका अराधहरु पनि छन्, त्यसविरुद्ध हामी सबै लाग्नुको विकल्प छैन ।’

सस्मितसहित समूहमा भावना राउत, सगुन बेडवाल, दर्शना चन्द, प्रियंका शाही र प्रकृति भट्टराई बस्नेत छन् ।

‘पाप लाग्छ भनियो, कानून लाग्छ भनिएन’


‘बलात्कारलाई एक व्यक्तिले आफ्नो यौन कुण्ठा पूर्तिका लागि अर्को व्यक्तिमाथि गरेको अत्याचारका रुपमा मात्रै बुझिनु हुँदैन’ समाजशास्त्री नीति अर्याल खनालले भनिन्, ‘यो एक शक्ति प्रदर्शनको कुरा हो । एक शक्तिशाली व्यक्तिले अर्को कमजोर व्यक्तिको शरीरमाथि आफ्नो रवाफ प्रदर्शन गरेको हो । यसलाई सामाजशास्त्रीय रुपमा हेरिनु पर्छ ।’

यौनजन्य हिंसा र त्यसको समाजशास्त्रीय पक्षमा विद्यावारिधि गरेकी समाजशास्त्री अर्यालले भनिन्, ‘सामाजिक व्यवस्था नियमित गर्ने भनेको कानूनी शासनले हो । जुन समाजमा कानूनको शासन हुँदैन र अपराधीले उन्मुक्ति पाउने व्यवस्था रहन्छ त्यहाँ बलात्कारसहितका अपराधका घटना बढी हुन्छन् ।’

पीडितमाथि नै प्रश्न गर्ने वा दोष लगाउने सामाजिक व्यवस्थाका कारण समस्या जटिल बनेको उनले बताइन् । अर्यालले भनिन्, ‘बलात्कारमा परेकी महिलामाथि नै प्रश्न गर्ने परिपाटी छ । उसको लुगा र व्यवहारमाथि प्रश्न गरिन्छ अपराधीलाई प्रश्न गर्नुको साटो ।’

अझै कति सहने अभियानकी भावना राउतलाई पनि सामाजिक व्यवस्था र संस्कारमै हिंसालाई स्थान दिने खालका व्यवस्था रहेको लाग्छ ।

उनले भनिन्, ‘मन्दिरमा लात्ती हान्नु हुँदैन पाप लाग्छ भनेर सिकाइयो तर कानून लाग्छ भनेर सिकाइएन, अपराध गरे सजाय पाइन्छ है भनिएन र हिंसाले स्थान पायो ।’

परिवार, समाज र राज्यले आफ्ना सदस्यहरुलाई पापको जस्तै कानूनको पनि जानकारी गराउनु पर्नेमा जिम्मेवार निकायकै नेतृत्वबाट कानूनको खिल्ली उडाइँदा समस्या थपिएको समाजशास्त्री अर्याल र अभियन्ता राउतले बताए ।

‘हाम्रोमा न्यायको परिषाभा सारै साँघुरो भयो । पहिलो कुरा त अपराधीमा कानूनको डर छैन, कारण–कार्यान्वयन हुँदैन, भए पनि शक्ति र प्रभावको भरमा छुटिन्छ भन्नेमा अपराधीहरु ढुक्क छन्’ राउतले भनिन्, ‘दोस्रो कुरा, अभियुक्त या अपराधीहरु राज्यको छत्रछाया (जेल) मा हुन्छन् । पीडित कहाँ छन्, कस्तो अवस्थामा छन् भनेर राज्यलाई पत्तै हुँदैन र राज्यले चासो पनि दिँदैन ।’

सस्मित पोखरेलले भने, ‘राज्य अभिभावक हो, त्यसमाथि समस्यामा परेका सन्तानको ख्याल विशेष रुपमा गर्नु पर्नेमा उनीहरु त नजरमै परेका छैनन् । समस्या थप विकराल बन्दै गएको हो ।’

नेपाल प्रहरीको तथ्यांक अनुसार गएको चैत (लकडाउन लागु भएयता) देखि भदौसम्म देशभर १२ सय ९ वटा बलात्कारका घटना भएका छन् । हरेक महिना बलात्कार बढ्दो क्रममा रहेका छन् । त्यसअघि आर्थिक वर्ष २०७५–७६ मा देशभर २२ सय ३३ र आर्थिक वर्ष २०७६–७७ मा २१ सय ४४ वटा बलात्कार घटना भएको तथ्यांक प्रहरीसँग छ ।

उजुरी भएका घटना यति भए पनि वास्तविक पीडितहरु त्यो भन्दा धेरै रहेको बताइन्छ । समाजशास्त्री अर्यालले भनिन्, ‘बलात्कार वा यौन हिंसाका ९० प्रतिशत पीडितहरु बाहिर आउन सकेका छैनन् । जबसम्म कानूनी शासनको प्रत्याभूत हुँदैन तब सम्म समस्या उस्तै रहन्छ ।’

अपराधी छुटाउने गाउँका पञ्चहरु, सामाजका अगुवाहरु र केन्द्रका ‘नेताहरु’ को बोलवाला रहुन्जेल पीडित खुल्ने अवस्था आउन नसक्ने उनले बताइन् । ‘हाम्रो सामाजिक व्यवस्थामा पुरुषको चरित्रसँग नभई शक्तिसँग उसको लिङ्गलाई जोडियो, तर महिलाको योनीलाई भने उसको चरित्रसँग गाँसियो’ समाजशास्त्री अर्यालले भनिन् ।

सपनाहरु बुन्दै त्यहि सपनाको मार्गमा हिँड्ने बेला विभेदको राप विरुद्ध अभियानमा जुटेकी भावना र सस्मितसहितलाई पीडितले साँचो अर्थमा न्याय पाउने दिन आउँछ भन्ने आश छ । त्यसका लागि ‘मनले नाइँ भनेको कुरा गरिन्छ भने त्यो दुर्व्यवहार हो’ भनेर पीडित र पीडकले पनि बुझ्ने र बुझाउनु पर्ने उनीहरुले बताए ।

भावनाले भनिन्, ‘असजिलो केही छैन, पापको कुरासँग कानून पनि सिकाउँ । अपराधसँगै सजायको कुरा बिना प्रभाव स्थापित गरौँ अनि पीडितलाई न्यायको ढोका सजिलोसँग खुल्ने बनाउँ, समस्या समाधानको मार्ग आफै बन्छ।’