नबिल बैंकले ल्यायो कोरोना जित्ने सन्देश समेटिएको भिडियो

काठमाडौँ– नेपालमा कोरोना महामारी दिनप्रतिदिन बढ्दो क्रममा छ। चारैतिर कोरोनाको संक्रमण र त्रास पनि त्यति नै छ। चाडपर्वका बेला बढी जोखिम देखिएकाले सरकारले सुरक्षित रहन आग्रह गर्दै आएको छ। यसबीच नबिल बैंकले कोरोना भाइरस सम्बन्धित सूचनामूलक भिडियो सार्वजनिक गरेको छ।

कोरोनालाई कसरी जित्न सकिन्छ भन्ने सन्देश बोकेको उक्त भिडियो बैंकले घटस्थापनाका अवसरमा शनिबार सार्वजनिक गरेको हो।

कोरोना संक्रमित भएपछि र दशैँको सन्दर्भलाई लिएर निर्माण गरेको ३ मिनेट २६ सेकेण्डको भिडियोले कोरोना संक्रमित भए पनि सजिलै जित्न सकिने सन्देश दिएको नबिल बैंकका प्रबन्धक कृष्ण सुवेदीले जानकारी दिए।

उनले सामाजिक सञ्जालमा फेसबुकमा पोष्ट गरेको ८ घण्टामै १ लाखभन्दा बढिले हेरिसकेका छन् भने प्रतिक्रिया पनि सकरात्मक आइरहको बताए।

उनका अनुसार कोरोना भाइरसले बैंकका कर्मचारीहरुसँगै ग्राहकहरु पनि संक्रमित भइरहेकाले उनीहरुको आत्मबल बलियो बनाउन र कोरोनालाई सजिलै जित्न सकिन्छ भन्ने सन्देश दिन भिडियो बनाएका हुन्।

उनले भने, ‘कोरोना भाइरस दैनिक बढिरहेको छ। बैंकका कर्मचारीहरु ग्राहकहरु सबै संक्रमित भइरहेका छन्। नेपालीहरुको ठूलो चाड दसैँ आजदेखि सुरु भयो। यस्तो अवस्थामा आफ्ना सेवाग्राहीलाई सामाजिक सन्देश दिनुपर्छ भन्ने लागेर नबिल टिमले यो भिडियो तयार गरेका हो।’

उनले उक्त भिडियो सानो बजेटमा तयार पारिएको जानकारी दिए। ‘सानो लगानीमा ठूलो सन्देश दिन सकिने रहेछ’, उनले भने, ‘हामी धेरै खर्च गरेर विज्ञापन गर्छौँ। हामीले यस पटक विज्ञापनसँगै सन्देश दिएका छौँ।’


उनले यस्ता सन्देश मूलक भिडियो आगामी दिनहरुमा पनि निर्माण गर्ने योजना भएको बताए।

कात्तिक १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्