विराटनगरमा कोभिड प्रि–केयर अस्पतालको तयारी

माेरङ– कोरोना भाइरस संक्रमति दिनानुदिन बढ्दै गर्दा विराटनगरमा एक सय शैया क्षमताको प्रि–केयर अस्पताल सुरु गर्न छलफल सुरु भएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोभिडका बिरामीका लागि अस्पताल पुग्नुपूर्व आवश्यक अक्सिजन चाहिने बिरामीलाई सेवा दिनका लागि छलफल अघि बढेको जानकारी दिए।

शनिबार निजी, स्वास्थ्य, राजनीतिक र नागरिक सरोकारवालासँगको डिजिटल संवादका क्रममा डा. कोइरालाले आईसियु र भेन्टिलेटरमा संक्रमितको चाप बढ्दै गएको हुँदा विरामीका लागि एक सय शैयाको प्रि–कोभिड अस्पताल सुरु गर्न सकिने बताएका थिए। लक्षण देखिएका विरामीका लागि आवश्यक अक्सिजन सेवासहित सरकारलाई समेत सहयोग पुग्ने हेतुले पहल सुरु गरिएको उनले बताए।

कार्यक्रममा चिकित्सा विज्ञान प्रतिष्ठानका पूर्व डिन डा. जगदीश अग्रवालले संक्रमितलाई आइसोलेसनबाट आईसियू पठाउनु पर्ने अवस्था आउन नदिन प्रि–अस्पताल उचित हुने बताए।

सरकारको समन्वयमा प्रि–केयर कोभिड अस्पताल सुरु गरेको खण्डमा विरामीलाई राहत पुग्ने उनको भनाइ छ। रुघाखोकीसहित ज्वरो तथा निमोनियाले दुःख दिनसक्ने हुँदा त्यस्ता बिरामीलाई प्रि–केयर अस्पतालमा राखेर अक्सिजनसहितको सेवा दिए मृत्यु हुनबाट बचाउन सकिने डा. अग्रवालले बताए।

त्यसैगरि नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले भएकै पूर्वाधारलाई प्रयोग गरेर अस्पताल संचालन गर्न सकिने र खर्च बचाउन सकिनेमा जोड दिए। केही समयपछि मुलुकमा कोभिडको अवस्था थप जटिल हुनसक्ने आंकलन गरेका डा. कार्कीले प्रि–कोभिड अस्पतालमा परिक्षणसँगै अक्सिजन दिने र विरामीलाई चिकित्सकको निगरानी राख्न सकिए भेन्टिलेटरसम्म पुग्न कम हुने सम्भावना रहने बताए।

पछिल्लो समय अक्सिजनको अभावसँगै विरामीका लागि प्रि–अस्पताल चलाउँदा ६० प्रतिशत बिरामी अस्पताल पुग्नै नपर्नेतर्फ उनले उल्लेख गरे।

नेपाली कांग्रेस १ नम्बर प्रदेशका प्रमुख सचेतक केदार कार्कीले महानगरपालिकामा संक्रमितको रिपोर्ट लिन अझैपनि साता दिन लाग्दै आएको गुनासो गरे। कोभिडका कारण अवस्था जटिल बन्दै आएको बताएका प्रमुख सचेतक कार्कीले शिक्षण अस्पतालका संरचनालाई कोभिड अस्पताल बनाउन सकिने सुझाव दिए।

अर्कोतर्फ विराट व्यपार संघका अध्यक्ष सुजन थापाले प्रि–कोभिड अस्पताल सञ्चालन अभियानमा सहयोग गर्ने बताए। विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरमा बढ्दो कोरोना संक्रमणलाई न्यूनीकरण गर्ने ठूलो चुनौती रहेको भन्दै प्रिकोभिड अस्पताल आवश्यक भएकोमा जोड दिएका थिए।

मेयर पराजुलीले यस कार्यमा महानगरले पहलकदमी र नेतृत्व लिन सक्ने बताएका थिए।

कात्तिक १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्