दसैँको मुखमा टोलाउँदै मोबाइल चलाएर बसेका छन् व्यापारीहरु

काठमाडौँ – काठमाडौँ शहरको ‘मुटु’ मा रहेको भृकुटीमण्डप बजार, जहाँ मानिसहरुको निकै चहलपहल हुने गर्छ। विषेश त दसैँमा।

किनमेलका लागि विषेशगरी दसैँमा उपत्यका भित्र तथा बाहिरका मानिसहरुको एउटा रोजाइ बन्छ भृकुटीमण्डप। यसपालिको पनि बनेको छ। तर अघिल्ला वर्षको तुलनामा यस वर्षको परिस्थिति भिन्न छ।

कारण कोरोना भाइरस।

कोरोना महामारीले विगतको जस्तो मानिसको घुइँचो देखिँदैन। विगतका वर्ष दसैँ नजिकिँदै गर्दा मान्छेकोे भृकुटीमण्डप बाहिर खुट्टा टेक्ने समेत ठाउँ हुन्थेन। बजारभित्र पसेपछि त के कुरा गर्नु, एकअर्कोसँग ‘कुम’ ठोक्किँदा पनि मान्छेलाई ‘सरी’ भन्ने फुर्सद हुँदैन थियो।

सबै आ–आफ्नो तालमा, व्यापारी ग्राहकलाई सामान देखाउन व्यस्त हुन्थे।

कोभिड–१९ ले ग्राहक कम भएका छन् भने व्यवसायी केही फुर्सदिला। भुकुटीमण्डपको गेट पार गरेको दुईतीन पसल अघि ब्याग पसल देखिन्छ। ब्याग पसलमा १९ वर्षकी मेनुका बस्नेत मोबाइल खेलाएर बसिरहेकी थिइन्। अघिल्ला वर्षहरुको दसैँमा यसरी मोबाइल चलाउने फुर्सद थिएन उनलाई । ‘यसवर्षको दसैँमा अहिलेसम्म ग्राहक नै आएका छैनन्। पहिले त दसैँमा ब्याग किन्न कति आउँथे। तर आज एकटा नि ब्याग बिकेको छैन’, उनले भनिन्।

उसो त उनी सधैँ पसलमा बस्दिनन्। दसैँमा शैक्षिक संस्था बन्द हुँदा उनी आमालाई सघाउने गर्थिन्। बाँकी समय पढाइमा व्यस्त।

तर यसवर्ष कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत महिनादेखि लागु गरेको लकडाउन साउन ६ गते खुले पनि शैक्षिक संस्थाहरु भने भौतिक रुपमा सञ्चालन भएका छैनन्।

तर अधिकांश शैक्षिक संस्थाहरुले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। उनी पनि अनलाइन कक्षाको हिस्सेदारी सकेपछि पसल आउँछिन्। अहिले त दसैँका बेला अनलाइन कक्षा पनि बन्द, समय प्रशस्त, व्यापार भने ठप्प।

‘लकडाउन खुलेको २ महिना जति भयो । यस अवधिमा व्यापार भएको थिएन’, उनले भनिन्, ‘दसैँमा व्यापार होला सोचेको तर व्यापार नै छैन।’

उनले अघि भनिन्, ‘दसैँमा ग्राहक नआएका होइनन्। उनीहरु घरबाटै माइण्डसेट गरेर आउँछन्। यो सामान किन्छु र निस्कन्छु। अरु सामानमा नजर नै लाउँदैनन्। पहिले पूरा बजार घुम्थे, मन परेको सामान किनेर लैजान्थे।’

कोरोना महामारीले व्यापार नै चौपट पारेको उनले दुखेसो पोखिन्।

उनको जस्तै गुनासो कपडा व्यापारी कृष्ण श्रेठको छ। कोरोना भाइरसले घर चलाउनै मुस्किल परेको उनले बताए। पहिले जस्तो ग्राहकहरु नभएको र भए पनि कोरोनाको डरले हतार–हतार गरेर सामान किन्ने भएकाले व्यापार राम्रो नभएको उनले बताए।

‘कोरोनाले व्यापार नै सखाप पारी सक्यो’ उनले भने’ ‘पहिलेको दसैँमा हामीलाई भ्याइ नभ्याइ हुन्थ्यो। ग्राहकले सोचेभन्दा बढि सामान किथे। अहिले अड्कलबाजी र हतारमा सामान किन्छन्। जसले गर्दा व्यापार पहिलेको तुलनमा ८० प्रतिशत कम भएको छ।’

दसैँ नजिक आएकाले अति आवश्यक भएका ग्राकहरुमात्र खरिदका लागि आउने गरेको उनी बताउँछन्। ‘सरकारले लकडाउन गर्ने घोषण गरे अगाडि नै सबै घर गइसके। धेरै सपिङ गर्ने विद्यार्थीहरु हुन्’ उनले भने, ‘ विद्यार्थीहरु छैनन्। अलि जागिर भएका र बाहिर जिल्ला जाने मान्छे मात्र आउँछन्। ग्राहक नै छैनन्।’

रामेछाप जानुअघि ‘सपिङ’ गर्न भृकुटीमण्डप पुगेकी हरिमाया गुरुङले घर जानु परेकाले मात्र ‘सपिङ’ गर्न आएको सुनाइन्। ‘

अब घर जाँदा केहि लग्नु परिहाल्यो’ उनले भनिन्, ‘धेरै सपिङ गर्दिनँ। चाहिने सामान मात्र किनेर फर्कन्छु।’ यति भन्दै गर्दा उनले ब्यागबाट स्यानिटाइजर निकालेर हातमा लगाइन्।

कोरोना भाइरससँग आफू बच्दै र अरुलाइ बचाउँदै काम गर्नुपर्ने बेला आएको उनले बताइन्।

न्यूरोडका व्यापारी राम श्रेठ पनि सुरक्षित भएर व्यपार गर्नुपर्ने बताउँछन्। ‘परिस्थिति जस्तो भए पनि काम गरेर खानु छ। त्यसैले सुरक्षित रहदै काम गर्नु प¥यो। आफू पनि बच्ने र ग्राहकलाई पनि बचाउनु प¥यो’, उनले भने।

ग्राहक नै असुरक्षित भयो भने व्यापारीको घर नचल्ने उनी बताउँछन्। ‘ग्राहकहरु व्यापारीका भगवान् हुन्। यति लामो समयसम्म व्यापार नै ठप्प भयो’ उनले भने, ‘दसैँको मुखमा सरकारले लकडाउन खोल्यो तर हाम्रा ग्राहकहरु लकडाउन अगाडि नै घर गइसके। भएकाहरु पनि अति आवश्यक भए मात्र आएका छन्। बजारमा मान्छे देखिन्छन्। तर व्यापार केही देखिँदैन।’

घर–खर्च चलाउनै हातमुख जोड्नु पर्ने अवस्थामा सरकारले फेरि बन्द गर्ने हल्लाले उनी चिन्तित देखिन्छन्। अब सरकारले बन्द गरे सडकमा उत्रिने उनले बताए।

‘यति लामो समय बन्द हुँदा घरभाडा छुट भएन। बिहान बेलुका के खाने भन्ने चिन्ता । अर्कातिर सामान बिग्रने चिन्ता’ उनले भने, ‘यसै व्यवसायको भरमा बाचेका हामी अब बन्द भयो भने सडकमा नै उत्रिन्छौँ।’

यस्तै गुनासो असनका व्यापारी यदुनाथ धितालको छ। अब पुनःबन्द हुन्छ की भन्ने पिरले आफूलाई पिरोलेको उनी बताउँछन्। ‘सरकारले लामो समय बन्द गर्‍याैँ ।  हामीले त्यसको पालना पनि गर्‍याैँ ’ उनले भने, ‘अब सकिँदैन। व्यवसाय नै बन्द भएपछि के गरेर खाने यहि व्यापारमा बाचेका छौँ।’

कात्तिक २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्