कोरोना बिरुद्ध रेमडेसिभिरको प्रभावकारिता एकदमै कम, ‘तैपनि कालोबजारी धेरै भएकाले अनुमति दियौँ’

काठमाडौँ- पछिल्लो समय कोरोना भाइसरको संक्रमणबाट स्वास्थ्यमा गम्भीर समस्या देखिएका बिरामीलाई रेमडेसिभिर औषधीको प्रयोग गरिँदै आएको छ। यो औषधी मलेरियाको उपचारका लागि प्रयोग गरिँदै आएको छ।

कोरोना भाइरस विरुद्धको खोप पत्ता नलाग्दासम्म संक्रमितको ज्यान जोगाउनका लागि विभिन्न रोगको उपचारका लागि प्रयोग भइरहेका औषधीहरु चलाइएका छन्। यसमध्ये रेमडेसिभिर औषधी एक हो।

अन्य देशहरु जस्तै नेपालमा पनि संक्रमणबाट गम्भीर भई अस्पताल भर्ना भएका बिरामीको ज्यान जोगाउनका लागि प्रयोग गरिँदै आएको छ, रेमडेसिभिर।

यो औषधी नेपालमा ट्रायलकै चरणमा छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रेमडेसिभिर औषधीलाई बिरामीको उपचारका लागि पूर्ण रुपमा अनुमति दिएको छैन। तर आइसियु तथा भेन्टिलेटरमा उपचाररत बिरामीको उपचारका लागि चिकित्सकले रेमडेसिभिर औषधीको प्रयोग गर्दै आइरहेका छन्।

सुरुसुरुमा बिरामी आफैँले उचारका लागि यो औषधी ल्याउने गरेका थिए। त्यसयता बङ्गलादेश, भारतले नेपाललाई रेमडेसिभर सहयोग गरेका थिए।

पछिल्लो समयमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ। यसरी संक्रमित बढ्दै जाँदा गम्भीर बिरामीका लागि परीक्षणको रुपमा प्रयोग भएको रेमडेसिभिर औषधीको माग पनि आकासिन थालेको छ।

यस्तै शुक्रबार स्वास्थ्य मन्त्रालयले रेमडेसेभिर औषधी चाहिए तीन वटा कम्पनीलाई सम्पर्क गर्न अनुरोध गरेको छ। कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रयोग हुँदै आएको रेमडेसिभिर औषधी आयात तथा बिक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिँदै मन्त्रालयले भनेको छ, ‘औषधी चाहिए तीन वटा कम्पनीलाई सम्पर्क गर्नु होला।’

औषधी व्यवस्था विभागबाट अनुमति पाउनेमा दुई नेपाली र एक भारतीय कम्पनी भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले शुक्रबार भारतीय कम्पनी सिप्लाबाट उत्पादिन रेमडेसिभिर ल्याउने आधिकारिक यति फर्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, माइलन ल्यावरोटोरिजबाट उत्पादित रेमडेसिभिर ल्याउन सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौँ र भारतको हेट्रो ल्याब्स लिमिटेडलाई रेमडेसिभिर आयात तथा बिक्री वितरणका लागि अनुमति दिएको हो।

रेमडेसिभिर औषधीले कोरोना भाइरस संक्रमितको ज्यान जोगाउनका लागि प्रभावकारी रहेको विगतका केही अध्ययन तथा अनुसन्धानले देखाएका थिए। यस अनुरुप नेपाल पनि संक्रमितको उपचारका लागि रेमडेसिभिरको प्रयोगका लागि अगाडि बढेको हुन सक्छ।

तर, विश्व स्वास्थ्य संगगठनले रेमडेसिभर औषधीको प्रभावकारिता अति न्यून वा शून्य रहेको विस्तारित अध्ययन प्रतिवेदनको निष्कर्ष बिहीबार सार्वजनिक गरेको थियो।

विश्व स्वास्थ्य संगठनले आफ्नो संयोजनमा भएको परीक्षणमा रेमडेसिभिर लगायत हाइड्रोक्सिक्लोरोक्विन, लोपिनाभिरररितोनाभिर र इन्टरफेरोन रेगिमेन्सको प्रभावकारिता कोरोना भाइरस संक्रमितको उपचारमा अति कम वा शून्य देखिएको जनाएको छ।

यही कुरा सर्वसाधारणलाई बुझाउन नसकेको मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की बताउँछन्।

‘यो खुल्ला बजार हो। सरकारले पटक पटक यो क्लिनिकल स्टडिको औषधी हो। यो प्रभावकारी छैन। हामी पनि विश्वव्यापी रुपमा सोलिड्यारीटी ट्रायलमा संलग्न छौँ। व्यापक प्रयोगको औषधी यो होइन भनिरहेका छौँ। त्यही ट्रायलकै लागि भनेर हामीले बंगलादेशबाट पनि रेमडेसिभिर ल्यायौँ। अहिले अनुमति दिइएका कम्पनीका औषधीहरु हामीले क्लिनिकल ट्रायलका लागि अनुमति दिएका थियौँ’, उनले भने, ‘तर अहिले समस्या के भइदियो भने हाम्रो सबै प्रयासका बाबजुत पनि सरकारले नै रेमडेसिभिर नल्याएर वा सरकारले अनुमति नदिएर संक्रमणका कारण धेरै मानिसहरुको मृत्यु भइरहेको छ, राज्य नै अपराधी हो भन्ने हिसाबले प्रस्तुत गरियो। रेमडेसिभिर प्रभावकारी छैन भन्दा कसैले टेरेनन्। गोजीमा रेमडेसिभिर राखेपछि निको हुन्छ भन्ने मनस्थितिले बनिसकेको छ।’

विश्व स्वास्थ्य संगठनले पनि भनेको छ, ‘औषधी प्रयोग गर्दा अस्पताल भर्ना भएका संक्रमितको अस्पताल बसाइ वा २८ दिनभित्र हुने मृत्युदरको कमीमा शून्य वा अति कम प्रभाव देखिएको छ। ३० भन्दा बढी देशमा यी औषधीको प्रयोग गरी अस्पताल भर्ना भएका कोरोना संक्रमितको मृत्युदर, भेन्टिलेटरको आवश्यकता र अस्पताल बसाइमा कस्तो प्रभाव पर्छ भनि हेरिएको थियो। तर यी औषधीको प्रभाव शून्य वा अति कम देखिएको हो।’

यसको प्रभावकारिता निकै कम भएपनि प्रयोग गर्न चाहने बिरामीले सहजै रुपमा प्रयाप्त गर्न सकून भन्ने हेतुले सरकारले यस्तो निर्णय गरेको डा. कार्कीले बताए।

‘आयात अनुमति दिएपछि प्रयोग गर्ने वा नगर्ने बिरामीको इच्छाको कुरा हो। कसैले मलाई रेमडेसिभिर प्रयोग गदिनुस् भन्यो भने डाक्टरले प्रयोग गरिदिने हो। प्रयोग गरेपछि उसलाई कति फाइदा गर्छ भन्ने कुरा अहिलेसम्मको अध्ययन अनुसार फाइदा गर्ने खालको स्थिति भने देखिएको छैन’, उनले भने।

ट्रायलकै क्रममा नेपालमा पनि केही व्यक्तिहरुमा यसको परीक्षण गरिएको थियो। डा. कार्कीका अनुसार परीक्षण गरिएका केही व्यक्तिको स्वास्थ्यमा सुधार आएको थियो। यसका कारण यो औषधीले परीक्षणकै क्रममा भएपछि अनुमति पाएको हो।

उनले भने, ‘नेपालमा हामीले ३ सय ५५ जनामा एनलाइसिस गर्दा केहीलाई राम्रै प्रभाव परेको देखिएपछि समग्रमा हेर्दा एकदमै राम्रो पनि भन्न नमिल्ने र खराबै वा कामै नलाग्ने भन्न मिल्दैन। तर ग्लोबल्ली हेर्दा यसको प्रभाव खराब देखिएपनि हाम्रो देशमा थोरै मात्रै भएपनि राम्रो प्रभाव देखिएको हुनाले अनुमति दिइएको हो। प्रयोग गर्ने वा नगर्ने बिरामी र चिकित्सकमा भर पर्छ।’

सरकारले यसको अनुमति नदिए कालो बजारी हुने र बिरामीहरु ठगिने अवस्था सृजना भएको डा. कार्कीले बताए।

‘५ देखि ७ हजार रुपैयाँसम्म पर्ने रेमडेसिभरि ५० देखि ६० हजार रुपैयाँसम्ममा बेचेको पाइएको थियो’, उनले थपे।

ज्यान जोगाउन रेमडेसिभिर प्रयोग गरिँदै आएपनि कोरोना भाइरसविरुद्धको खोपलाई मात्र महामारीको प्रभावकारी विकल्पका रुपमा हेरिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार अहिले १०० भन्दा बढी खोपहरु विकासको क्रममा छन्।

त्यसमध्ये केही मानवीय परीक्षणको अन्तिम चरणमा पुगिसकेका छन्।

कात्तिक २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्