सांसदहरुको दसैँ भत्ता: फिर्ता गर्ने बढ्दै, भेन्टिलेटर किन्न सुझाव

फाइल फोटो।

काठमाडौँ – सत्तारुढ नेकपाका सांसद डा. भीम रावलले आफूलाई दसैँ भत्ता स्वरुप दिइएको रकम फिर्ताका लिन संघीय संसद सचिवाललाई पत्र पठाएका छन्।

कानून विपरीत संघीय संसदका सदस्य र उनीहरुका स्वकीय सचिवलाई दसैँभत्ता वितरण गरेपछि विरोध भइरहेका बेला रावलले उक्त रकम नलिने घोषणा गर्दै रकम फिर्ताका लागि निवेदन दिएका हुन्।

रावलले आफ्नो खातामा जम्मा गरिएको रकम फिर्ता लिन चेक दिन आफू तयार रहेको यदि त्यो सम्भव नभए अर्को महिना आफूले पाउने तलबबाट कटौती गर्न सचिवालयलाई आग्रह गरेका छन्। सांसदहरुले मासिक रुपमा पाउँदै आएको ६५ हजार तलबमा त्यति नै बराबर सचिवालयले बैंक खातामा दसैँ भत्ता पठाएको छ।

संसदका महासचिवलाई सम्बोधन गरी पठाएको पत्रमा उल्लेख गरेका छन्, ‘मेरो दसैँ भत्ता फिर्ता हुने व्यवस्था गर्नका लाििग आग्रह गर्दछु। यदि मेरो खातामा जम्मा भइसकेको रकम हाल त्यस सचिवालयले फिर्ता लिन कठिनाइ हुने भएमा भत्ता बराबरको मबाच चेक लिएर वा मेरो आगामी महिनाको पारिश्रमिकबाट सो रकम कट्टी हुनेगरी जुन त्यस सचिवालयलाई सहज हुन्छ सोही अनुरुप गर्नुहोला।’

राष्ट्रियसभा सदस्य रहेका नेकपा प्रवक्ता नाराणकाजी श्रेष्ठले भने गत चैतदेखि नै तलबभत्ता लिएका छैनन्।

नेकपाकै सांसद जनार्दन शर्माले दसैँ भत्ता स्वरुप पाएको रकम पुर्वजनमुक्ति सेनाको उपचारका लागि खर्चिने घोषणा गरेका छन्।

उनले ट्वीटरमार्फत् भनेका छन्, ‘दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पुर्ब जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु।’

शर्माले दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किन्न प्रयोग गर्न सुझाव दिएका छन्।

यस्तै कोभिड १९ को महामारीका कारण देशमा आर्थिक संकटमा परिरहेको र ठूलो संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेका बेला भत्ता लिन उपयुक्त नहुने भन्दै वाग्मती प्रदेशसभामा साझा पार्टीकी सदस्य रहेकी शोभा शाक्यले पनि दसैँ भत्ता नलिने घोषणा गरेकी छिन्।

उनले विज्ञप्ति जारी गर्दै भनेकी छिन्, ‘मेरो खातामा आएको सो रकम मैले फिर्ता गर्ने जानकारी गराउन चाहन्छु। दशैँ खर्च बापतको सो रकम कोभिड १९ को स्वास्थ्य कोषमा दाखिला गर्न समेत हार्दिक अनुरोध गर्दछु।’

उनले सांसदहरूलाई दशैँ भत्ता फिर्ता गर्न र प्रदेश सरकारलाई सबै अनावश्यक खर्च कटौती गरी कोभिड १९ नियन्त्रण र उपचारमा लगाउन गरेकी छिन्।

संघीय तथा प्रदेश सांसदको लविङ गत वर्ष सरकारले मन्त्री र सांसदलाई समेत दसैँ भत्ता दिने निर्णय गरेको थियो।

कात्तिक २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्