नेकपा कर्णाली विवादलाई लिएर ओली र दाहाल छलफलमा

केपी शर्मा ओली र पुष्पकमल दाहाल। फाइल तस्बिर।

काठमाडौँ- नेकपा कर्णालीमा उत्पन्न विवादलगायत विषयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले छलफल भइरहेको छ।

ओली र दाहाल बालुवाटारमा छलफल गरिरहेका हुन्। मुख्यमन्त्रीसमेत रहेका नेकपा कर्णाली संसदीय दलका नेता महेन्द्रबहादुर शाहीबिरुद्ध ठिक एक साता अघि आइतबार नेकपा कर्णालीका १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाल चुलिएको थियो।

मुख्यमन्त्री शाहीको पद धरापमा परेपछि अविश्वासको प्रस्ताव यथावत छलफलका लागि दुबै पक्षका नेताहरुलाई बिहीबार काठमाडौँ बोलाएका ओली र दाहालले संयुक्त नभई एक्लाएक्लै उनीहरुका कुरा सुनेका थिए।

शनिबार विवादमा तानिएका दुबै पक्षको कुरा सुनिसकेपछि ओलीले अर्का अध्यक्ष दाहालसँग सल्लाह गरेर पार्टीको निष्कर्षबारे जानकारी गराउने भन्दै सांसदहरुलाई अहिल्यै नफिर्कन निर्देशन दिएका थिए। त्यसअनुसार ओलीले प्रचण्डसँग अहिले छलफल गरिरहेको बुझिएको छ।

कात्तिक २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्