इन्चार्ज भएको तीन महिनामै तस्करले गरे असईको हत्या

धनगढी– प्रहरी पोष्टमा ईन्चार्ज भएर गएको तीन महिनामै प्रहरी सहायक निरीक्षक गोबिन्द विकको हत्या भएको छ। हत्या भएका विकको कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा इन्चार्ज भएर गएको तीन महिना मात्रै पुगेको थियो।
उक्त पोष्टमा असईसहित १० जनाको दरबन्दी रहेको छ। यही बेला जिल्ला प्रहरी कार्यालयले पनि दसैं–तिहार लगायतका चाडपर्व केन्द्रीत सुरक्षा योजना लागू गर्यो। जुगेडाले पनि त्यस क्षेत्रमा हुने तस्करी नियन्त्रणमा लागि मोटरसाइकल गस्ती टोलीलाई सक्रिय पार्यो।
शनिबार राति कञ्चनपुरको पुनर्वास नगरपालिका–९ घर भएका २८ वर्षीय असई विक र अछामको बान्नीगढी–जैगढ गाउँपालिका घर भएका प्रहरी जवान रामबहादुर साउँद गस्तीमा निस्किएका थिए। विकको शनिबार बिहान शव भेटियो। साउँद अझै सम्पर्कविहीन छन्।

उनीहरु राति ८ बजेतिर गस्तीमा गएका थिए। पोष्टबाट पाँच किलोमिटर टाढा मात्रै। रातको करिब १० बजेको थियो। जुगेडा गाउँमा जन्मदिन मनाउने क्रममा युवाहरुका बीचमा विवाद भएको थियो। असईको टोली गस्तीमा र हवल्दारको छुट्टै अर्को टोली युवाहरुको विवाद समाधानका लागि पुगेको थियो। विवाद साम्य गर्न गएका हवल्दारले रातको करिब १० बजेतिर असई विकलाई आफ्नै अगाडीबाट फोन सम्पर्क गरेको जुगेडाका कांग्रेस नेता चन्द्रबहादुर विकले बताए।
असई विकको ड्यूटी समय १२ बजेसम्म थियो। त्यतिबेलासम्म पनि नआएपछि अस्थायी प्रहरी पोष्टका जवानले आफ्ना ईन्चार्जलाई फोन गरे। तर फोन ‘स्वीच अफ’ आइरहेको थियो। घटनाबारे राति नै जिल्ला प्रहरी कार्यालय कैलालीमा जानकारी भइसकेको थियो। प्रहरीले भने बिहान पाँच बजे जुगेडाको मोहना नदी छेउछाउमा खोजतलास गर्दा असई विकको बर्दीसहितको शव नदीको बीचमा देखे।
घटनास्थलबाट पाँच सय मिटर टाढा इँटाभट्टा नजिकै मोटरसाइकल राखेर उनीहरु हिँडेर गएको देखिएको प्रहरीले जनाएको छ। घटना भएको थाहा पाएपछि आइतबार बिहानै सुदूरपश्चिमका डीआईजी उत्तमराज सुवेदीसहितको टोली त्यहाँ पुगेको थियो। प्रहरीको हत्या भएको भन्ने थाहा पाएपछि स्थानीय पनि ओइरिएका थिए। सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्ने क्रममा एउटा मोवाइल फेलापारेको छ।

प्रहरीका अनुसार नदी नजिकै सिमलको रुखनेर तस्कर र प्रहरीबीच भिडन्त भएको देखिन्छ। प्रहरी जवानले लगाएका जुत्ता भने सिमलको रुख नजिकै फेलापरेका छन् भने तस्करले लगाएका दुई जोर चप्पलसमेत प्रहरीले फेलापारेको जनाएको छ। असई विकको साथमै रहेका जवान रामबहादुर साउँद भने अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतिक विष्टले घटना विभत्स भएको बताए। दसैँको मुखमा प्रहरीले सक्रियता बढाएको र शनिबार राति दुईजना गस्तीमा निस्केको उनले बताए। आइतबार विहानसम्म नआउँदा खोजतलास गरेपछि असई विकको हत्या भएको खुलेको उनको भनाइ छ। घटनास्थलबाट एक थान हतियार र एक्स्ट्रा म्यागजिन फेला परेको छ। त्यसमा प्रयोग हुने गोली पनि भेटिएको छ। तर थप एक थान हतियार, बुलेट र म्यागजिन फेला नपरेको डीएसपी विष्टले बताए।
असई विकको धारिलो हतियारले घाटी र टाउँकोमा हिर्काएर हत्या भएको उनले बताए। गलत प्रवृतिका व्यक्तिलाई नियन्त्रणमा लिने कार्य जारी रहेको र घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको डिएसपी विष्टको भनाइ छ।

घटनास्थल वरिपरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रहरीकै आरआईटीको टिम खटिएको छ। बेपत्ता जवानको प्रहरी र स्थानीय बासिन्दाले खोजी कार्य जारी राखेका छन्।
घटनास्थलमा ‘ट्र्याकर डग’
धनगढीबाट अपराध अनुसन्धानमा सहयोग पुगोस् भनेर ‘ट्र्याकर डग’ लाई पनि घटनास्थलमा परिचालन गरिएको छ। घटनास्थल कैलालीको धनगढी उपमहानगरपालिका–१० हो भने २८ वर्षीय असई विक वडा–१२ को अस्थायी प्रहरी बिटका इन्चार्ज थिए।
हत्याको आशंकामा ११ जना पक्राउ
प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ११ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ।

धनगढी उमहानगरपालिका–१२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज असई विकको शव आइतवार बिहान मोहना नदीमा फेला परेको थियो।
घटनामा एकजना प्रहरी जवान रामबहादुर साउँद सम्पर्कविहीन छन्। असई विकको हत्यामा संलग्न भएको आशंकामा ११ जनालाई पक्राउ गरेर सोधपुछ चलिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए।
‘सोधपुछकै लागि ११ जनालाई पक्राउ गरिएको छ,’ उनले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ।’