चस्मा प्याट्ट फुट्यो, खुसी च्वाट्ट चुँडियो

सानो छँदा सबै सजिलै देखिन्थ्यो। टाढा–टाढासम्मको दृश्य नियाल्न सकिन्थ्यो। खेल्दै गर्दा पर पुगेको मोजाको बल सजिलै टिपेर ल्याउन सक्थेँ।

त्यो बेला मैले सजिले देखेर गर्न सक्ने काम दादाका लागि कठिन हुन्थ्यो। चस्मा बिना ऊ हरेक चिज धमिलो देख्थ्यो। हरबखत चस्मा लगाउनु पर्ने, पावर झन थपिँदै थियो।

दादाको चस्माको पावर थपिँदा मलाई रमाइलो लाग्थ्यो। उसले लगाएको चस्मा देख्दा मलाई पनि चस्मा लगाउन मन लाग्थ्यो। तर दादा मलाई चस्मा दिन सजिलै मान्दैनथ्यो। हरेक दिन उसँग लडेर मलाई चस्मा लगाउनै पर्थ्यो ।

कुरा कक्षा दुईमा पढ्दाको हो। गणित विषय पढाई हुँदै थियो। आँखा धमिलो भएको महसुस भइरहेको थियो। ब्ल्याक बोर्ड सेतो चकले लेखेका अक्षर धमिलो, सेतो धर्का जस्तो देखिरहेका थिए। अरु सरको भन्दा गणित पढाउने सर अलि सानो अक्षर लेख्नु हुन्थ्यो, शायद त्यही भएर नबुझिएको होला भन्ने सोचेँ ।

जुरुक्क उठेँ । र अगाडिको बेन्चमा गएर बसेँ। सरले सोध्नु भयो, ‘के भयो?’

‘अक्षर बुझिएन सर’, मैले उत्तर दिएँ।

अक्षर धमिला देखिने प्रकृया रोकिएन। रोकिनुको साटो अझ बढ्दै गयो।

घरमा सुनाएँ, ‘स्कूलमा म ब्ल्याक बोर्डमा लेखेका अक्षर देख्दिनँ।’

‘दादाले चस्मा लगाएको भएर चस्मा लगाउनलाई कति बाठी छे’, घरका सबै जनाको प्रतिक्रिया यही थियो। तर मलाई त्यो बेला चस्मा लगाउने रहर होइन, ब्ल्याक बोर्डमा लेखिएका अक्षर चिन्ने रहर बढी थियो। कक्षामा साथीहरुले ‘यसले त आँखा देख्दिन’ भन्न थालिसकेका थिए। घरमा जति आँखा देख्दिनँ भने पनि पत्याउने वाला थिएनन्। मेरो केही लागेको थिएन ।

घरीघरी लाग्थ्यो दादासँग झगडा गरेर चस्मा लगाउनुको प्रतिफल होला।

दिनदिनै अक्षर चिन्नका लागि बेन्च ‘चेन्ज’ गरेको देखेर मुकेश सर अर्थात गणित पढाउने सरलाई दया लागेको हुन सक्छ। उहाँले भोलि ‘प्यारेन्ट’ बोलाएर ल्याउनु भन्नु भयो। मेरो अविभावकको प्रतिनिधित्व गर्दै ठूलो बुवा स्कूल पुग्नुभयो ।

ठूलो बुवालाई मुकेश सरले सुनाउनु भयो, ‘तपाईँको बच्चाले ब्ल्याक बोर्डका अक्षर देख्दैन। तपाईँहरुलाई अक्षर देखिँदैन भनेर सुनाएको छैन? छिटो आँखा जाँचाउन लैजानुस्।’

मुकेश सरको कुरा सुनेपछि बल्ल मेरो परिवारलाई महसुस भएको हुन सक्छ कि छोरीका आँखामा साँच्चै नै समस्या रहेछ।

ठूलो बुवासँगै आँखा अस्पताल पुगेँ। डाक्टर ठूलो बुवामाथि खनिए, ‘आँखा यति धेरै कमजोर हुँदासम्म पनि किन अस्पताल नल्याउनु भएको?’ भुतभुताउँदै डााक्टरले माइनस २ पावरको चस्मा लगाउनु पर्ने भन्दै हातमा पर्चा थमाइदिए। चस्मा बनायौँ। चस्मा दुई दिन पछि मात्रै बन्ने भने पछि चस्माको अर्डर दिएर बाउछोरी घर फर्कियौँ।

न त भूकम्प आएर चस्मा छुटेको थियो। न खेल्दा नै भाँचिएको थियो। बस् भाँचियो मात्र बिना कारण ‘प्याट्ट’। बल्ल बुझेँ मैले चस्मा बिनाको मेरै जीन्दगी अर्थ बिहीन रहेछ।

दुई दिन पछि चस्मा आयो। लगाए। सुरुमा अलि गाह्रो भयो। तर वरपरका हरेक कुराहरु सोचे भन्दा धेरै नै सफा देखिए। चस्माको सहयताले मलाई पढ्न, लेख्न, टिभी हेर्न सहज भयो। तर घरमा जस्तो स्कूलमा चस्मा लाउन सहज भएन। कक्षाका सबै जान ‘चस्मे, चार आँखे, डबल ब्याट्री’ भन्दै आफूलाई बोलाउन सहज हुने नाम बोलाउन थाले।

यस्तो नामले बोलाउँदा घरिघरि मन खिन्न हुन्थ्यो। चस्मै लगाउन छोड्दिऊँ हुन्थो। तर मेरा लागि चस्मा अनिवार्य थियो।

चस्मा अनिवार्य हुँदाका बाबजुद पनि हप्ता–हप्तामा चस्मा फुट्थ्यो। हप्तामा दुईवटा चस्मा किन्नु पर्दा बुवालाई दिक्क लाग्दो हो। अनि सुरु हुन्थ्यो हामी दुई दाजु–बहिनीमाथि गालीको वर्षात। जति गाली गरे पनि हाम्रो चस्मा फुट्ने क्रम कहिल्यै रोकिएन।

१६ वर्ष भयो अहिले पनि उस्तै छ। कहिले फुट्छ। कहिले भाँच्चिन्छ । कहिलेसम्म यो प्रकृया चल्ने हो पत्तो छैन। चस्मा बनाउनु पर्ने भयो भन्दै बुवालाई गुहार्नु पर्ने अवस्था अझैसम्म पनि कामयै छ।

मात्र उमेर बदलियो। समय बदलियो। ठाउँ बदलियो। परिस्थिति उस्तै छ, ‘चस्मा फुट्नु अनि बुवालाई गुहार्नु ।’

अहिले त अझ दुई कक्षाको भन्दा धेरै बढेको छ चस्माको पावर। बढ्दो उमेरसँग चस्माको पावर पनि थपिँदै गयो। पावर बढ्दै जाँदा कहिलेकाहीँ लाग्छ, यो भन्दा त बरु आँखा नदेख्ने भए बेस हुँदो हो।

मलाई यस्तो लाग्नु पनि स्वभाविक हुन सक्छ। चस्मा लगाइरहँदा केही कुराले दिक्क लागेको होला।

चिनेको वा नचिनेको, जोसुकै मान्छे किन नहोस् विज्ञ जसरी यही प्रश्न गर्छ, ‘ओहो कति मोटो चस्मा लगा’काे?  पावर कति छ?’

‘मेरो औँला कति वटा छ भन त’, केही त्यसैमा थप्छन्।

उत्तर दिन मन लागे दिन्छु। उनीहरु थप्छन्, ‘ओहो! कति धेरै ! चस्मा बिना त तिमी केही पनि देख्दैनौँ होला है।’

मेरो उत्तर माथि फेरि प्रश्न थप्छन्, ‘सबै भन्दा धेरै पावर तिम्रो होला है?’

उनीहरुको जिज्ञासालाई मेटाउन सक्ने जति कोसिस गर्छु। अन्यथा मुसुक्क हाँसेर टारिदिन्छु।

सधैँ एउटा प्रश्न सुन्दा दिक्क लाग्छ कहिलेकाहीँ।

कोही नयाँ मान्छे भेट्यो। पहिलो दिन उसले चस्माको पावर सोधेन भने दोस्रो वा तेस्रो दिनमा जरुर सोध्छ नै।

मेरो आँखाको पावर धेरै कम छ। टाढाको वस्तु ठम्याउन सक्दिनँ। अर्थात देख्दिनँ भन्दा पनि फरक पर्दैन।

बिहान उठ्ने बित्तिकै मेरो हात सबै भन्दा पहिला छामछाम छुमछुम गर्दै सिरानीमा राखेको चस्मा खोज्न थाल्छन्। मेरा हरेक दिन यसरी नै सुरु हुन्छन्। सुत्दा कहिले काहीँ चस्मा सधैँ राख्ने ठाउँ भन्दा फरक ठाउँमा राखेको बिर्सियो भने चस्मा खोज्नलाई लामो समय खर्चिनु पर्छ। छामेर खोज्न हम्यहम्य पर्छ। कहाँ राखेको थिए भन्ने कुरा याद आयो भने केही सहज भने हुन्छ। नत्र अरु कसैले खोजेर दिनु पर्ने अवस्था सृजना हुन्छ। चस्मा खोजिदेऊ भन्दै गुहार माग्नु पर्ने हुन्छ। किनकी अहिले म माइनस ९.५० पावरको चस्मा लगाउँछु।

हो ठ्याक्कै यस्तै भयो मलाई केही दिन आगाडि। अफिसबाट साँझ फर्केको केहीबेर पछि चस्मा आफै भाँचियो।

अब के गर्ने आत्तिएँ। चस्मा बिना केही पनि गर्न नसक्ने म, के गर्ने कसो गर्ने ? भयो । चस्मा बनाउन जाऊँ, राति भइरसकेको थियो। कसरी अफिस जाने ? धेरै कुरा मनमा खेले।

‘एक्स्ट्रा’ चस्माको महत्व मैले त्यही बेला बुझेँ। मलाई छटपटी हुन थाल्यो। हरेक कुरा अस्पष्ट थियो।

हरे! जिन्दगी।

तीन कक्षामा पढ्दा ‘सोसल स्टडिज’ पढाउँदै गर्दा सरले भन्नु भएको थियो, ‘नेपाल भूकम्पको जोखिममा छ। राति सुतेको बेला भूकम्प आयो भने तिमी कसरी भाग्छौ, चस्मिस? सुत्दा पनि चस्मा लगाएर सुत्नु।’

सरले जिस्काएरै भने पनि त्यो कुरा मैले २०७२ सालमा भूकम्प आउँदा भन्दा पनि यो पटक चस्मा भाँचिदा महसुस गरेँ।

न त भूकम्प आएर चस्मा छुटेको थियो। न खेल्दा नै भाँचिएको थियो। बस् भाँचियो मात्र बिना कारण ‘प्याट्ट’।

बल्ल बुझेँ मैले चस्मा बिनाको मेरै जीन्दगी अर्थ बिहीन रहेछ।

यही घटनाले मलाई अझ धेरै सतर्क बनायो। आफूलाई चाहिने अत्यावश्क सामानको जोहो गरेर राख्नु पर्छ। अन्यथा त्यो जुनसुकै पनि बेला दुःख पाउन सकिन्छ।

कात्तिक ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्