प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचार खर्च निरन्तर निःशुल्क व्यहोर्ने

विराटनगर – प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचार खर्च निरन्तर निःशुल्क व्यहोर्ने घोषणा गरेको छ। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरस कोभिड १९ संक्रमितको उपचार खर्च उठाउन सरकारले निरन्तरता दिने बताएका हुन्।

प्रदेश सरकारले सुरुवातबाट कोभिड अस्पताल, आइसोलेसन चलाउँदै आएको छ। मन्त्री घिमिरेले अहिलेसम्म निःशुल्क सेवा दिइरहेको हुँदा आगामी दिनपनि सो सुविधा निरन्तर रहने बताएका छन् ।

यस्तै, नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले केन्द्र सरकारले संक्रमितको उपचार खर्चबाट अलगिएको अवस्थामा प्रदेश सरकारबाट आशा गर्ने स्थान नरहेको बताँए। तीन वर्षदेखि पिर्काबाट अघि बढेको सरकार अहिले त्यो भन्दा तल पुगेको अवस्थामा संक्रमितको उपचार सरकारले गर्ने विषयमा विश्वास गर्न नसकिने उनको भनाई छ।

आइतबार कोरोना संक्रमितको उपचार खर्च स्वयं विरामीले व्यहोर्नुपर्ने व्यवस्था लागु गरेपछि प्रदेश १ सरकारले यो निर्णय गरेको हो।

नेकपाको राजनीतिलाई नजिकबाट नियाल्दै आएका राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलले अहिलेको अवस्थामा प्रदेश सरकारको भूमिका जनताले खोज्ने बताँउछन्। स्रोतका हिसाबले केन्द्रीय सरकारले आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने बताएका प्राध्यापक पोखरेल अहिलेको समयमा प्रदेश सरकारले जिम्मेवारी लिन तयार छु भनेर अघि बढ्नु उत्तम हुने बताउँछन्। यसले पनि प्रदेशलाई आफ्नो वेग्लै अस्तित्व र पहिचान प्रस्तुत गर्नुपर्ने समय आएको उनको भनाई छ। उनका अनुसार जनतालाई जोगाउन सके लडाई जित्न सकिन्छ।

यसका लागि प्रदेश सरकार जिम्मेवार ढंगबाट अघि बढि उपचार, खानपान खर्च लगायतमा निरन्तर लाग्नुपर्नेमा उनले जोड दिए। उनी भन्छन्, ‘संकटले दुई कुरालाई विम्बित गर्दछ। संकटले कुनै सरकार ध्वस्त पनि पार्दछ र संकटले आफूलाई प्रमाणित गर्ने अवसरपनि दिनेगर्छ । र अहिलेको अवसर प्रमाणित गर्ने हो।’

प्रदेश सरकारबाट मोरङको सुन्दरहरैचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालयमा रहेको आइसोलेसनमा ४२ जना संक्रमितको उपचार, खानपान खर्च सै प्रदेश सरकारले व्यहोर्दै आएको छ।

कात्तिक ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्