कोरोना अपडेट: संक्रमित १ लाख ३६ हजार ३६, डिस्चार्ज ९४ हजार ५०१, मृत्यु ७५७

काठमाडौँ–नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

यससँगै नेपालमा हालसम्म सक्रिय संक्रमितको कुल संख्या ४० हजार ७७८ पुगेको छ। यसमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ८५१ जना र होम आइसोलेसनमा २६ हजार ९२७ जना रहेका छन्।

हालसम्म कुल १ लाख ३६ हजार ३६ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँ उपत्यकामा थप २ हजार ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जना कोरोना संक्रमित थपिएका हुन्। सोमबार २ हजार ३३५ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ५७ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर ४ हजार ४७० जना क्वारेन्टिनमा छन्। यस्तै हाल देशभर २८२ जना कोरोना संक्रमितको आईसीयुमा र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ३०, प्रदेश २ मा १३, बागमतीमा १५३, गण्डकीमा २०, लुम्बिनीमा ५१, कर्णालीमा ७ र सुदूरपश्चिममा ८ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ। यस्तै प्रदेश १ मा १२, प्रदेश २ मा १, बागमती प्रदेशमा ३८, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ३ जना गरी देशभर ६३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

हाल मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, कास्की, भक्तपुर, दाङ, बाँके र रुपन्देही गरी १२ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित नरहेको जिल्ला मुस्ताङ मात्रै हो।

कात्तिक ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्