‘व्यवस्थापकीय पक्षको कमीकमजोरीले राजु सदाको मृत्यु भयो’

जनकपुरधाम-  राजु सदाको मृत्यु प्रकरणमा अध्ययन विशेष समिति २०७७ ले गठन भएको साढे तीन महिनापछि प्रदेशसभालाई प्रतिवेदन बुझाएको छ ।

समितिले प्रदेशसभामा बुझाइएको प्रतिवेदनमा प्रादेशिक अस्पताल जनकपुर, क्वारेन्टाइन स्थल र सामाजिक विकास मन्त्रालयको लापरवाहीका कारण राजु सदाको मृत्यु भएको ठहर गरेको छ ।

सोमबार बुझाइएको प्रतिवेदनमा सामाजिक विकास मन्त्रालयसँग निरन्तर सम्पर्क गर्न खोज्दा फोन नउठेको र पत्र लेखी घटनाको सम्बन्धमा जानकारी माग गरिएकोमा त्यसको पनि कुनै जवाफ प्राप्त नभएको तथा कोरोना महामारीका बिच स्थापना गरिएको कोभिड अस्पतालको व्यवस्थापकीय पक्ष बलियो हुनुपर्ने र मानव स्वास्थ्य संवेदनशीलताप्रति गम्भीर रुपमा प्रस्तुत हुनुपर्नेमा मन्त्रालय सशक्त रुपमा प्रस्तुत हुन नसकेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा प्रयोगशालाले बेलैमा पिसिआर रिपार्ट उपलब्ध गराएको भए बिरामीको स्वास्थ्य उपचार थप प्रभावकारी हुनसक्ने ठहर गरेको छ । झाडापखाला लागेका बिरामीलाई समयमै औषधोपचार गराउनुपर्नेमा सो नभएको पाइएको उल्लेख गरिएको छ । त्यस्तै बिरामी आइसोलेसन बेडबाट झरेको भनिएपनि बिरामी बेडबाट झरेको घण्टौँ बितेपछि स्वास्थ्यकर्मी त्यहाँ पुगेको यथार्थ सिसिटिभी क्यामेरा खराब भएकाले यकिन गर्न नसकिएको जनाइएको छ ।

कोभिडका बिरामीलाई लक्षित गरी बनाइएको अस्पतालमा रहँदा बिरामीका लागि प्रयोगशाला, एक्सरे, सिटि स्क्यान, भेन्टिलेटरको व्यवस्था नरहेको र अस्पतालका अनुसार सामाजिक विकास मन्त्रालयले सो सम्बन्धमा आवश्यक पहल नगरेकोले समग्रमा व्यवस्थापकीय पक्ष कमजोर रहेको देखिएको औँल्याएको छ । कोरोना महामारीका कारण मुलुक बाहिरबाट आउने व्यक्तिहरुलाई यथोचित वासस्थानको व्यवस्था हुनुपर्नेमा सो सन्दर्भमा व्यवस्थापकीय पक्ष कमजोर रहेको पाइएको जनाइएको छ ।

प्रादेशिक अस्पतालमा उपचार अभावमा राजु सदाको मृत्यु भएको घटनाको विषयमा गत असार १४ गते प्रदेशसभामा छानविन गर्न ५ सदस्यीय अध्ययन विशेष समिति गठन गरिएको थियो । समितिमा प्रदेशसभा सदस्य रविन्द्र बैठा, चमेली देवी दास, सुरीता कुमारी साह, नरेश कुमार यादव र सावित्री देवी साह सदस्य रहेका थिए ।

कोरोना लागेको आशंकामा प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको धनुषाको हंसपुर नगरपालिका वडा नं. ७ प्रसाही बस्ने १६ वर्षीय राजु सदाको मृत्यु भएको थियो । भारतबाट आएर हंसपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका सदालाई प्रादेशिक अस्पतालमा जेठ २८ गते भर्ना गरिएको थियो । कोरोना नभइ अन्य रोगबाट ग्रसित भएका सदालाई प्रादेशिक अस्पतालमा ल्याइएको थियो तर अस्पतालमा कोरोनाको आशंका गर्दै बेवास्ता गरेपछि ९ गते बिहान उनको मृत्यु भएको थियो ।

भारतको मद्रासा मजुदुरी गर्दै आएका सदा कोरोनाको कारण लकडाउन भएपछि बेरोजगार भएपछि भारतबाट स्वदेश फर्केका थिए ।

कात्तिक ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्