काठमाडौँमा रिपोर्ट नेगेटिभ, घर पुगेपछि पोजेटिभ, अनि मृत्यु

दाङ – होम आइसोलेशनमा बसेका दाङको लमहीका कोरोना संक्रमितको मृत्यु भएको छ। ४३ वर्षका पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो ।

जन्डिसको समस्या देखिएपछि उपचारका लागि काठमाडौँ गएका लमही नगरपालिका–५ का ती व्यक्ति दाङ फर्किने बेला परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो ।

तर लमही आएपछि पुनः परीक्षण गर्दा श्रीमान–श्रीमतीलाई नै संक्रमण देखिएको थियो। त्यसपछि उनीहरु विगत एक हप्तादेखि होम आइसोलेशनमा बसेका थिए ।

श्रीमानको मृत्यु भए पनि श्रीमतीको स्वास्थ्य भने सुधार हुने क्रममा रहेको जनाइएको छ। अहिले शव व्यवस्थापन कसरी गर्ने भन्नेबारे छलफल भइरहेको लमही नगरपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेले बताएका छन् ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको टोली मृतकको घर जाने तयारीमा रहेको उनले बताए।

सरकारले हालै कोरोना भाइरस सम्बन्धी कार्यविधि संशोधन गरी होम आइसोलेशनमा मृत्यु भएका संक्रमितको शव व्यवस्थापन स्थानीय तहसँगको सहकार्यमा आफन्तले नै गर्नु पर्ने व्यवस्था गरेको छ।

कात्तिक ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्