हिमालपारीको सत्कार: छ्याङसँग याकको मासु

सिमकोट – आफ्नो ठाउँको चलन अनुसार गाउँमा आउने अतिथिहरुलाई सम्मान गर्ने परम्परा त जहाँ पनि हुन्छ । तर हिमालपारीको गाउँ लिमीमा भने अतिथिकाे सत्कार केही फरक छ।
ठूला मानिस गाउँमा आएपछि लिमीमा स्वागत तथा सत्कार गर्ने आफ्नै चलन छ। स्वागत समाराेह गाउँमा सामूहिक रुपमा निर्माण गरिएका सामुदायिक भवनमा आयाेजना हुन्छ। आसन पनि उस्तै फरक।
मुख्य व्यक्तिलाई बस्ने गाउँ र अगाडि राख्ने महँगा काठका सामग्री पनि फरक हुने गर्छन्। चिया र छ्याङ पिउने भाँडा पनि फरक नै हुन्छ ।
गाउँ पुगेर भवनमा बसेपछि घ्यु चिया र उवाको छ्याङ र टसी खादाबाट सुरु हुन्छ ।
कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाही लिमीका तीन गाउँमा पुग्दा लिमीका बासिन्दाहरुले यसरी नै सत्कार गरे। चिया र छ्याङसँग याकको मासु सितनको रुपमा।
नाच गानको स्वागत भने राती गरिन्छ । । त्यसपछि तिब्बेटियल भाषामा स्वागत गीत, लिमीको आफ्नै संस्कृतिको स्याब्रू नाच । त्यो पनि पुरुष र महिला संयुक्त रुपमा नाचिन्छ ।
अर्को रमाइलो पक्ष त के छ भने चलन अनुसार मदिरा सेवन गर्नै पर्ने हुन्छ । त्यो पनि एकै घुड्काेमा । त्यसरी पिउन नसके फेरि थपेर सजाय स्वरुप पिउनै पर्छ । यो क्रम नसकुन्जेल जारी रहन्छ । त्यति बेला महिला पुरुष मिलेर आशिर्वाद दिने र जय जयकार हुने गीत पनि गाउने चलन रहेको छ ।
यसबाट आत्मियता बढ्छ भन्ने मान्यता पनि रहेको रहेछ । स्थानीयका अनुसार दुई दिन अगाडि लिमीमै पुगेका संघीय सांसद छक्कबहादुर लामालाई पनि यसरी नै सत्कार गरिएकाे थियो ।
नेपाली बोल्न नजान्ने लिमेल्नीहरु अहिले चलन चल्तीमा रहेका लोक दोहोरी, चलचित्र र आधुनिक गीतमा नाच्ने गरेका छन्।
खानापछि अतिथिहरुलाई नचाउने काम सुरु हुन्छ । रात ढल्किए पनि त्यसको कुनै प्रवाह हुँदैन । विशेष व्यक्ति गाउँमा उपस्थित हुँदा गाउँका सबै मानिसहरु भेला हुने गर्छन्।
अर्को रोचक पक्ष त के छ भने त्यसरी मनाइने कार्यक्रममा पालो अनुसार ५ देखि ६ जनाले सबै भान्साकाे काम सबै गर्नुपर्ने । एक डेढ सय मानिसलाई आधा घण्टा भित्र खाना खुवाएर सक्नुपर्ने चलन छ ।