प्रचण्डको ओलीलाई प्रस्ताव-नेकपा कर्णाली विवाद समाधानको जिम्मा प्रदेशलाईनै दिउँ

मुख्यमन्त्री महेन्द्र बहादुर शाही

काठमाडौँ – अविश्वासको प्रस्तावलाई लिएर ९ दिन लामो आन्तरिक झमेलापछि अन्तत: नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा कर्णाली प्रदेशमा देखिएको समस्या सुल्झाउने जिम्मेवारी प्रदेशकै नेताहरुलाई  दिने प्रस्ताव अर्का अध्यक्ष केपी शर्मा ओलीसँग राखेका छन्।

मगंलबार बालुवाटारमा भएको छलफलपछि प्रचण्डप्रचण्डले ओलीसँग समस्या समाधान गर्न कर्णाली पार्टी कमिटि र संसदीय दललाई नै दिनुपर्ने प्रस्ताव राखेको हुन्। तर यसबारे ओलीले कुनै प्रतिक्रिया नदिएको बुझिएको छ।

छलफलमा कर्णालीको समस्या समाधानको जिम्मा त्यहीँको पार्टी कमिटि, संसदीय दललाई नै  दिने प्रस्ताव प्रचण्डले राखेको प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

सरकारमा रहेर प्रभावकारी काम नगरेको भन्दै गत असोज २५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपा कर्णालीका १८ सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये ओली पक्षका ८ जना, पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षका सातजना र प्रचण्डका तीनजना सांसद थिए ।

मुख्यमन्त्रीको पद धरापमा परेपछि ओली र दाहालले त्यहाँ उत्पन्न समस्या यथावत राखी कात्तिक २९ गते काठमाडौँ आउन दुवै पक्षलाई निर्देशन दिएका थिए।

त्यसपछि ओली र प्रचण्डले दुवै पक्षसँग छुट्टाछुटै छलफल गरेपछि आफूहरुले सल्लाह गरेर निष्कर्ष सुनाउने आश्वासन उनीहरुलाई दिएका थिए।

कात्तिक ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्