यो देशमा म एउटा मानिस खोजिरहेछु

छाडेर काम सारा एक काम रोजिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु
भेटे कहिँ बताई हे राष्ट्रका बटुहि
रक्ष्यार्थ जन्मिएर छन् कि सपूत कोही
यो प्रश्न ख्याल राखी सबलाई सोधिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु

माथिको शब्दहरु गीतकार डा.विश्वनाथ‘प्रेम’ र शिशिर योगीको स्वरमा लयबद्ध गीत हो । गीतमै उल्लेख छ कि यो देशमा एउटा मानिसको खोजी छ । त्यो को मान्छे कस्तो मान्छे हो ? जसको खोजीमा गीतकारले माथिका शब्दहरु कोरल्न पर्‍यो। यसैमा केन्द्रित रहेर यो लेखमा चर्चा गरिने छ।

एउटा मानिसको खोजी
नेपाली समाज र यो राष्ट्र सधैं एउटा मानिसको खोजीमा रह्यो । जो मानिसले यो राष्ट्रमा व्याप्त गरिबी, असमानता, वेथिति, कुशासन, रोग, भोक र तमाम प्रकारका समस्याहरुबाट मुक्ति गरिदेलान् ! यो राष्ट्रलाई विश्वसामु विकासको सगरमाथामा पुर्‍याउने, राष्ट्रभित्र रहेका सबै जातजातिहरु, भाषाभाषीहरु र क्षेत्र भूगोलले उचनीच र विभेदको महसुस गर्न नपरोस् र अन्तर्राष्ट्रिय समुदायमा आफनो राष्ट्रको शिर उचो बनाओस्, त्यही मानिसको खोजी गर्न थालेको शताब्दी हुन थालिसक्यो । नेपाली समाजलाई आक्रान्त बनाउने थुप्रै समस्याहरुको समाधान भएर कोही निस्किन्छ कि भन्ने ध्येयले यो राष्ट्रले धेरै प्रकारका प्रयत्नहरु गरे । ती प्रयत्नहरुको आधारमा र जनताको इच्छा–अनिच्छामा थुप्रै राजाहरु जन्मे, नेताहरु र प्रशासकहरु जन्मे तर समाजमा तात्विक परिवर्तन आउन सकेन ।

प्रजातन्त्रको नेतृत्व गर्ने विपी कोइरालामा त्यो ‘एउटा मानिस’को विम्व नेपाली नागरिकले अपेक्षा राखेको थियो । त्यो राजाको कोपभाजनमा परेर सम्भव भएन भन्ने शंकाको लाभ लिने ठाउँ छ । पुनः एकथरि झुण्डले राजा महेन्द्रमा त्यो ‘एउटा मानिस’ आभाष गरेको थियो । राजनीतिक परिवर्तनसँगै धेरै वर्षपछि त्यो एउटा मानिसको विम्व नेपाली नागरिकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा खोजेका थिए । लोकतान्त्रिक गणतन्त्र कालमा नेपालको संविधान जारी पश्चात् भएको नाकाबन्दीको सामना गरेपछि एकथरि मानिसले त्यो ‘एउटा मानिस’ नेपाली जनताले वहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीमा खोजे । यसरी नेपाली जनताले त्यो ‘एउटा मानिस’को खोजीमा करिब एक शताब्दी समय गुजारे । तर कोही फेला पार्न नसकेर निराश मुद्रामा रहन बाध्य भयो । जो जसलाई त्यो ‘एउटा मानिस’ बन्न सक्ने आधार दिए, तिनीहरुबाट नागरिकले धोका बाहेक केही पाएन । यस्तै अँध्यारो ऐतिहासिक निरन्तरताको सामाजिक, राजनीतिक, प्रशासनिक परिप्रेक्ष्यमा नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ नेपाली जनताको आशाको दियो बनेर आए। उनले नागरिकको त्यो आशाको दियोलाई निभ्न दिएनन् । आफ्नो चारवर्षे कार्यकालमा उनले जादुयी ढङ्गले नेपालबाट लोडसेडिङलाई एउटा कालो र अँध्याँ‍रो इतिहासको अध्याय नै बनाइदिए। त्यतिमात्रै होइन उनले प्राधिकरण र संस्थानको जीवनबाट पनि घाटाको इतिहासलाई सदाको लागि विदा गरे । त्यत्रो घाटामा रहेको प्राधिकरणलाई उनले नाफामा ल्यायो । विद्युत प्राधिकरणको कर्मचारी हुँ भनेर कुनै बेला परिचय दिन मुश्किल हुने परिस्थितिलाई बदल्दै कार्यालय र कर्मचारीको सामाजिक प्रतिष्ठालाई उच्चो बनाउने कार्य गरे ।

विरलै हुन्छ
नेपालमा कुनै कर्मचारी आफनो कार्यकाल सकेर जादा आम नागरिकको माया र साथ शतप्रतिशत हासिल गरी जाने कुलमान घिसिङबाहेक कमै होलान् । उनले कर्मचारीप्रति हेर्ने आम जनसमुदायको धारणा बदले । त्यसो त कर्मचारी क्षेत्रमा मात्रै होइन, यस्तो नेपालको कोही मन्त्री र स्वयम प्रधानमन्त्री पनि आफनो कार्यकाल सकेर जाँदा वाहवाह हुने स्थिति कहिल्यै पनि भएन । त्यो त आफ्नो कर्म, लगन र इमान्दारीमा भर पर्ने कुरा हो । कुलमानले प्राप्त गरेको नेपाली जनताको माया अहिलेसम्मको इतिहासमा अत्यन्त कम मान्छेले पाएका होलान् ! उनको अवकाश गत भदौ महिनाको मसान्तमा भएको थियो । त्यो भन्दा अगाडिदेखि नै उनको निरन्तरताको लागि नेपालभित्र र बाहिर सडकमा नागरिक उत्रेर नाराबाजी गरिरहेका थिए र अहिले पनि त्यो जारी छ । यस्तो असीम माया विरलै मानिसले पाउन सकिन्छ । अहिले सरकारले उनलाई पुनः नियुक्ति नगरेकोमा आम नागरिक रुष्ट छन् । यति मात्रै होइन सरकारलाई यो व्यवहार निकै महङ्गो साबित हुने वाला छ ।

नेपाली नागरिकले यो मुलुक र नेपाली जनताको दैनिक जीवनमा परिवर्तन अनुभुत हुने गरी नेतृत्व र डेलिभरी गर्न सक्ने व्यक्तिको खोजी गरेको करिब एक शताब्दीको अवधिमा थुप्रैले मौका नपाएका हैनन् । तर कोही पनि खरो उत्रन सकेनन् । ती सबै अवसर पाएर पनि असफल पात्रको रुपमा इतिहासले मूल्यांकन गरिसक्यो ।

प्रणाली भर्सेज व्यक्ति
घिसिङको अवकाश र नियुक्तिको वहससितै अहिले नेपालमा प्रणालीको चर्को मुद्दा उठिरहेको छ । प्रणाली बलियो हुनुपर्छ, प्रणालीले काम गर्नु पर्छ । प्रणालीको मातहतमा व्यक्ति रहनु पर्छ । नकि व्यक्तिको मातहतमा प्रणाली । तर नेपालजस्तो देशमा सर्वसाधारणले भोगेकै हुन् कि हाकिमसित हिमचिम छ भने त्यही काम हुन्छ । छैन भने त्यही काम हुदैन । प्रणाली प्रमुख हुने र प्रणालीले काम गर्ने हो भने उही कुर्सीमा एउटा हाकिम हुदा एकथोक हुन्छ, अर्को आएपछि अरु थोक नै किन हुन्छ ? प्रणालीले काम गरेको भए जो सुकै हाकिम होस् हुने काम भइहाल्छ नहुने काम हुँदै हुदैन । तर यहाँ के हुन्छ हुँदैन यो सबबाट नेपाली जनता भुक्तभोगी नै छन् । यस्तो परिपाटी रहेको देशमा नागरिकलाई प्रणालीप्रति कम र व्यक्तिप्रति बढी विश्वास जाग्नु नाजायज छैन । त्यसमाथि उनले परीक्षा पास गरेर देखाएको कारणले उनीप्रति आम नागरिकको भरोसा हुनु र प्रणालीप्रति कम भरोसा हुनु स्वाभाविक हो । अहिलेको प्रणालीको वहस अरुबेला पनि यति चर्को रुपमा उठ्नु पर्थ्यो नि। जब उनको अवकाशसँगै पुनर्नियुक्तिको देशव्यापी र संसारका विभिन्न मुलुकमा प्रदर्शन भइरहेको बेलामा यो प्रणालीको वहस गरेर मुद्धालाई विषयान्तर गराउनु खोज्नु चाहि निकै चलाखीपूर्ण छ । धूर्त्याइँसहित चलाइएको यस्तो वहसमा नेपाली जनताको विश्वास नहुनुले पनि अहिले नेपाली जनताको चेतनास्तरमा काफी प्रगति भएको देखिन्छ । नागरिकलाई सधैंभरि ढाँटेर सत्ताको तर मार्नेहरुलाई नागरिकको खबरदारी र सडक प्रदर्शनले दबाब भने पर्याप्त दिएको छ । नेपालमा व्यक्ति बदलेपछि प्रणाली बदलिन्छ भन्ने हामी सबैलाई ज्ञातै छ । यहाँ व्यक्ति नै पिच्छेको प्रणाली हुन्छ । यसैले पनि प्रणालीप्रति कम काम गर्नेप्रति बढी विश्वास हुनु अन्यथा होइन ।

दण्ड र पुरस्कार
प्रधानमन्त्रीले आफनो भाषणहरुमा शून्य सहनशीलता, दण्ड र पुरस्कारको बारेमा हजारौं पटक सार्वजनिक प्रतिबद्धता जनाउँदै आएका छन् । यसलाई मन्त्रजस्तै जपेर आएका छन् । तर कसले के मन्त्र जप्छ र भाषण तथा सार्वजनिक प्रतिबद्धता गर्छ, त्यसले खासै अर्थ राख्दैन । जबसम्म त्यो व्यवहारमा देखिदैन । आजको नागरिकले सरकार प्रमुख के बोल्छ भन्दा पनि के गर्छ ? त्यसमा विश्वास राख्दछ । त्यस हिसाबले यो पछिल्लो ओलीको कार्यकाललाई नियाल्ने हो भने उनले दण्ड गर्नु पर्नेलाई पुरस्कार र पुरस्कृत गर्नु पर्नेलाई दण्डित गर्दै आएको जनजनले अनुभूत गहिरोसँग गरेको छ । भर्खरै युवराज खतिवडालाई अर्थमन्त्रीबाट विदा हुने बित्तिकै आफनो विशेष आर्थिक सल्लाहकार नियुक्ति गरे । त्यसको लगत्तै उनलाई पुनः अमेरिकाको राजदूत सिफारिस गरिएको छ । त्यसरी उनको अढाई वर्षे कार्यकालको उचित मूल्याकंन नगरी पदमाथि पदको फूल वर्षाएको छ । जबकि आर्थिक सूचकाकंमा कुनै सकारात्मक प्रगति भएको देखिदैन । उनले तीन पटकसम्म अर्थमन्त्रीको हैसियतमा बजेट पेश गर्न पाए तर अर्थतन्त्रमा तात्विक भिन्नता आएन, जबकि यस्तो मौका नेपालमा विरलै अर्थमन्त्रीले पाएका छन् । केही दिन अगाडि ओली सरकारले ललिता निवास काण्डमा मुछिएको विष्णु पौडेललाई पुनः पुरस्कृत गर्दै अर्थमन्त्रीमा नियुक्त गरेको छ । सरकारले गर्दै आएका राजदूत नियुक्ति होस्, विश्वविद्यालयमा उपकुलपति लगायत अरु सबै कार्यव्यवहार हेर्दा सर्वसाधारणले थाहा पाएका छन्, उनले बोल्ने एकातिर गर्ने अर्कोतिर छ । जसलाई दण्डित गर्नु पर्ने हो उसलाई पुरस्कृत सरकार आफैले गर्दै हिडेपछि सरकारको साख गिर्दो छ । यतिबेला मुलुकमा कुशासन चल्दैछ, जसको पहुँच छ उसको लागि अहिलेको व्यवस्था स्वर्ग नै हो । त्यो कुरो त ओलीले कदम कदममा दिनप्रतिदिन प्रमाणित गरिरहेको छ । सरकारले यतिबेला ‘सुखी नेपाली समृद्ध नेपाल’को आफैले तय गरेको लक्ष्यप्रति खिसिटिउरी गर्दै छ । आफनो कार्यकालको आधाभन्दा बढी समय गुजारेको सरकारले कसरी आफैले तय गरेको लक्ष्य हासिल गर्ने अत्तोपत्तो छैन ।

कुलमानको माग
नेपाली नागरिकले यो मुलुक र नेपाली जनताको दैनिक जीवनमा परिवर्तन अनुभुत हुने गरी नेतृत्व र डेलिभरी गर्न सक्ने व्यक्तिको खोजी गरेको करिब एक शताब्दीको अवधिमा थुप्रैले मौका नपाएका हैनन् । तर कोही पनि खरो उत्रन सकेनन् । ती सबै अवसर पाएर पनि असफल पात्रको रुपमा इतिहासले मूल्यांकन गरिसक्यो । यतिबेला उनीहरुले त्यो ‘एउटा मानिस’को विम्व कुलमान घिसिङमा देखेकाले स्वतःस्फूर्त नेपालसहित जहाँजहाँ नेपाली पुगेका छन्, त्यहाँ अहिले उनको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । उनमा सारा नेपालीहरुले यो देशलाई प्रगतिको सगरमाथामा लैजान सक्ने खुबी र इमान्दारिता देखेकाले उनको आकर्षणले आकाश छुनु कुनै नौलो कुरै भएन । हुन त इर्ष्या गर्नुलाई नै आफनो मेरिट ठान्ने नेपाली समाजमा उनको क्रेज देखेर आत्तिनु शासकहरुको विशेषता नै बनेको छ । ऋषिकेश शाह युएनको महासचिव (सुजीव शाक्य, सेप्टेम्बर २२ काठमाण्डौं पोष्ट) बनेर अन्तर्राष्ट्रियस्तरमा आफूले भन्दा बढी चर्चा पाउने भएपछि महेन्द्रले कुनै उपाय लगाएर नेपाल फर्काएको देशमा कुलमानको वाहवाही मन नपर्नु र उनलाई त्यो ठाउँमा पुग्न नदिनु शासकीय क्षमता मान्ने सरकार प्रमुखको अझै कमी छैन । नेपालमा काजी भीम मल्लको नियति र नजिर दोहोरिरहनुले शासकहरु नै यो देश निर्माणको पक्षमा छैन भन्ने स्पष्ट सन्देश जान्छ । सरकारहरुलाई देश बनाउने र समग्र नागरिकको हितमा काम गर्ने भन्दा निजी तुष्टि र आसेपासेहरुको लागि काम गर्नु मूल उद्धेश्य नै भएको अवस्थामा नागरिकको चाहनाको के मोल ? जे भएपनि घिसिङले निर्माण गरेको मानकलाई तल खस्काउने यो सरकार र आउने कार्यकारी निर्देशकलाई त्यो सुविधा छैन । यति बुझे सरकारकै लागि हितकारी हुने छ ।

(लेखक काठमाण्डौंस्थित थिकं ट्यांक कर्तव्य फाउण्डेशनका संस्थापक अध्यक्ष हुन्।)

कात्तिक ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्