दशैँका बेला नयाँ बसपार्कमा यात्रुको ‘सिला’ खोजिरहेका बस सञ्चालकहरु

तस्बिरहरु: रविन आचार्य

काठमाडौँ- नयाँ बसपार्कको यात्रु प्रतीक्षालयमा बसेर यात्रु हेर्दै टोलाइरहेका छन् रमेश पन्थी।

कोही झोला बोकेर, लामो यात्राका लागि हिँड्न लागेको जसरी आएको देख्नेबित्तिकै उनी दौडिहाल्छन्। अलिक परसम्म पछि-पछि लाग्छन्। खिन्न मन पारेर फेरि प्रतीक्षालयमा आएर टुसुक्क बस्छन्।’ बस हिँड्ने बेला भइसक्यो तर अहिलेसम्म ८ जना मात्र यात्रु छन्’, सोमबार अपरान्ह उनी गुनासो गर्दै थिए।

रमेश कपिलबस्तु-काठमाडौँ चल्ने दिवा बसका सहचालक हुन्। तर यात्रु नपाएपछि उनको बस राति चल्ने गरी सोमबार काठमाडौं आइपुगेको थियो। रमेशजस्ता थुप्रै सहचालकहरु सोमबार अपरान्ह नयाँ बसपार्कको प्रतीक्षालयमा भौँतारिरहेका थिए। अधिकांश टिकट काउन्टरहरु खाली थिए।

हिन्दुहरुको महान् चाड बडा दशैँका बेला नयाँ बसपार्कमा देखिएको यो दुर्लभ दृश्य हो। काठमाडौँ उपत्यका बाहिरका लागि यात्रुबाहक बस छुट्ने मुख्य बसपार्क रहेको नयाँ बसपार्कमा अघिल्ला वर्षहरुका दशैँमा नवरात्र लागेपछि यात्रुहरुको ठेलामठेल हुन्थ्यो। काउन्टरहरुमा यात्रुहरुको भिड देखिन्थ्यो। यात्रुहरु टिकट नपाएर निराश देखिन्थे। तर यसपटक अग्रिम बुकिङ खुलेको छैन। तर बसहरुले यात्रु पाएका छैनन्। काठमाडौंमा यात्रु पाउने आशामा खाली-खाली आएका बसहरु लगभग रित्तै फर्किइ रहेका छन्।

महाकाली बस व्यवसायी समितीका कर्मचारी राजेन्द्रसिंह ठगुन्ना अधिकांश यात्रु लकडाउनबीच मै घर फर्किसकेको बताउँछन्। ‘एउटा बसमा ८/१० जना यात्रुहरु हुन्छन् अब त गाडीहरु आउलान् जस्तो छैन’, ठगुन्नाले भने।

सरकारले करिब ६ महिनापछि गत असोज १ गतेबाट लामो तथा मध्यम दुरीका सार्वजनिक सवारी साधन सन्चालनमा ल्याउने निर्णय गरेको थियो। शर्त थियो- सिट क्षमताका आधा मात्र यात्रु राख्नुपर्ने र त्यसका लागि व्यवशायीले ५० प्रतिशत बढी भाडा लिन पाउने।

सरकारले सोमबारदेखि त्यो व्यवस्था पनि हटाएको छ। अब बसहरुले सिट क्षमताअनुसार यात्रुहरु राख्न पाउने छन् भने उनिहरुले पुरानै भाडादरमा यात्रुलाई चढाउनुपर्ने छ। बसपार्कमा परिवार, महिला तथा बालबालिका र ज्येष्ठ नागरिकहरु निकै कम संख्यामा देखिएका छन्। युवाहरु र वैदेशिक रोजगारीबाट फर्किएकाहरु बढी देखिन्छन्।

पोखरा-काठमाडौँ चल्ने बसका सहचालक विक्रम खड्का यात्रुहरु पनि डराउने गरेको बताउँछन्। ‘ कहाँ कहाँबाट मान्छे आएको हुन्छ, अरुसँग नपार्दिनु है भन्नु हुन्छ’, विक्रमले भने। यता नेपालगन्ज-काठमाडौँ चल्ने बसका सहचालक लालबहादुर डाँगी बसका यात्रुहरु हवाईजहाजले चोरेको बताउँछन्। ‘बसको भाडामा हवाईजहाजले यात्रु लगिरहेको छ। अब बसले कसको भाडामा यात्रु लैजाने ?’ उनको गुनासो छ।

 

कात्तिक ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्