घरमै संक्रमितको ज्यान गुमे पनि परिवारले नसकेपछि सेनाले नै गर्‍यो शव व्यवस्थापन

दाङ– बाहिर एउटा त्रिपाल टाँगिएको छ। मानिस देखिँदैनन्। हातमा सेतो पञ्जा, मुख र नाक छोपिनेगरी मास्क लगाएका एक/दुई जना आफन्त र छिमेकी छन्।

मान्छे बितेको घरमा मलामीको भीड लाग्ने गर्थ्यो। तर यहाँ मलामी छैनन्। केही आफन्त र चिनेजानेका मान्छे अर्काे घरबाट नियाल्छन्। दुःख साट्छन्। अनी फर्किन्छन्। नजिकबाट समवेदना साट्न चाहन्छन्। तर, कोरोनाको ‘त्रास’ छ।

कोरोना पोजेटिभ देखिएका ४३ वर्षीय पुरुषको घरमै निधन भएपछि सोमबार अबेर मात्रै शवको व्यवस्थापन भएको छ। बेलुका ४ बजे मात्रै शवको व्यवस्थापन गरियो। हिन्दु संस्कार अनुसार परिवारले दागबत्ती दिने माग राखेका थिए। दागबत्ती दिने तयारी गरिएको थियो।

तर घाटमा जलाउन नदिने आवाज उठेपछि नेपाली सेना रिपुमर्दन गण दाङको टोलीले अजम्मरी सामुदायिक वन उपभोक्ता समूहको जंगल क्षेत्रमा शव व्यवस्थापन गरेको छ। नेपाली सेनाका उपसेनानी महेश ढकाल र भिक्टर खड्काको टोलीले शवको व्यवस्थापन गरेको छ।

आठ जनाको परिवार छ। साना केटाकेटी पनि छन्। तर कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन। ‘दाइ र भाउजुलाई कोरोना पोजेटिभ देखायो। दाइ जन्डिसले थलिनु भएको थियो। भाउजूलाई कुनै लक्षण छैन। हामीलाई पनि केही भएको छैन्,’ दिवंगत पुरुषका भाइले भने, ‘दिशा–पिसाब गराउने हामी नै हो। स्याहारसुसारमा छौँ। ११ दिन भयो । न ज्वरो आएको छ। न रुघा लागेको छ। कसरी भनौँ दाइको कोरोनाले मृत्यु भयो?’

घर परिवारका सबैजनाको कोरोना जाँच गरिएको छैन। श्रीमान् र श्रीमती दुबै जनाको जाँच गरिएको थियो। दुबैको रिपोर्ट पोजेटिभ आएपछि दुबै जना होम आइसोलेशनमा बसेका थिए।

‘कोरोनाले गर्दा समस्या पार्‍यो। नत्र सतगत भइसक्थ्यो। कोरोना पोजेटिभ आयो भनेपछि भित्र जानसमेत सकिएन,’ एकजना छिमेकीले भने, ‘घरभित्र शव, श्रीमती र परिवारका सदस्यले शव कुरेर बस्नुपर्ने अवस्था।’

होम आइसोलेशनमा बस्नुअघि जन्डिसले थलिएपछि उपचारको लागि काठमाडौँ शिक्षण अस्पताल लगिएको थियो। वार्डमा सार्न कोरोना जाँच गर्नु पर्‍यो। बिरामीको कोरोना जाँच भयो। रिपोर्ट नेगेटिभ आएपछि भर्ना गरेर उपचार थालियो। निको नभएपछि घर लैजान सल्लाह चिकित्सकले दिए।

बिरामीलाई घर ल्याइयो। लमहीमा पीसीआर जाँच गर्न स्वाब दिइयो। काठमाडौँ उपचारमा सँगै गएकामध्येबाट श्रीमान्–श्रीमती दुबैको कोरोना जाँच भयो। दुबैको पोजेटिभ रिपोर्ट आयो। होम आइसोलेसनमा बसेको बेला श्रीमान्‌को निधन भयो। परिवारका कसैमा पनि लक्षण देखिएको छैन।

सरकारले हालै कोरोना भाइरस सम्बन्धी कार्यविधि संशोधन गरी होम आइसोलेसनमा मृत्यु भएका संक्रमितको शव व्यवस्थापन स्थानीय तहसँगको सहकार्यमा आफन्तले नै गर्नुपर्ने व्यवस्था गरेको छ। तर यहाँ स्थानीय सरकारको पहलमा नेपाली सेनाले शवको व्यवस्थापन गरेको नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिए।

वडा अध्यक्ष विमबहादुर केसी लगायतका जनप्रतिनिधि शव व्यवस्थापनको लागि ठाउँ खोज्ने काममा सक्रिय रहे। दाङका प्रमुख जिल्ला अधिकारी जय आचार्यले समेत शव व्यवस्थापन स्थलको निरीक्षण गरेका थिए।

कात्तिक ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्