रानीपोखरीको उद्घाटन राष्ट्रपतिले भोलि गर्ने

रानीपोखरी। तस्बिर: देशसञ्चार

काठमाडौँ– पुनर्निर्माण सम्पन्न भएपछि ऐतिहासिक रानीपोखरीको उद्घाटन बुधबार मध्याह्न १२ बजे हुने भएको छ।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन गर्न लागिएको सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले बताए।

राष्ट्रपति विद्यादेवि भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने पनि मन्त्री श्रेष्ठले जानकारी दिए। २०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुननिर्माणको शिलान्यास गरेकी थिइन्। त्यसैले मन्दिरको उद्घाटन पनि राष्ट्रपति भण्डारीबाट नै गर्न लागिएको मन्त्री श्रेष्ठले बताए।

समग्रतामा रानीपोखरीलाई जस्ताको तस्तै पुननिर्माण भइ उद्घाटन गर्ने अवस्थामा आइपुग्नुले वर्तमान सरकार पुननिर्माणप्रति कत्तिको चिन्तित छ भन्ने पुष्टि हुनेपनि मन्त्री श्रेष्ठले बताए।

यसअघि गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ।

१९९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो। तर फेरि रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो। शिलान्यास भएको करिब ५ वर्षपछि मात्र रानीपोखरी पुननिर्माणको काम सम्पन्न भएको छ।

कात्तिक ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्